हेटौँडा, बैशाख२०
मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार टंक बहादुर मुक्तानले समृद्ध कैलाशको सर्वाङ्गिण विकासका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका सचिवालय सदस्य एवम् कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष मुक्तानले आफ्नो प्रतिवध्दतापत्रमा पाँच वर्षमा गर्न बाँकी काम आफ्नो प्राथमिकतामा पर्ने बताउनु भएको छ ।
यस्तो छ मुक्तानको प्रतिवद्धतापत्र
‘स्वच्छ, शिक्षित, समृद्ध कैलाशः कृषि, पर्यटन र पूर्वाधारको योजनावद्ध विकास’
कैलाशको सन्तुलित तथा सर्वाङ्गिण विकासका लागि नेकपा (एकीकृत समाजवादी) बाट कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार टंक मुक्तानको प्रतिवद्धतापत्रः
आर्थिक विकास र युवा परिचालन तथा रोजगारीः
१. स्थानीय सरकार र स्थानीय युवाको संयुक्त लगानीमा युवालाई गाउँमै रोजगारी सिर्जना गरी युवालाइ स्वाबलम्बी बनाई वैदेशिक रोजगारीमा जाने क्रम घटाउने ।
२. भौगोलिक अवस्थाअनुसार सम्भावनाका आधारमा जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यस ठाउँमा युवालाई व्यावसायिक ढंगले अघि बढाउन गाउँपालिकाले कार्यक्रम बनाई उत्पादनमा जोड दिइनेछ ।
३. कृषि र पशुजन्य बस्तुमा उत्पादनका आधारमा गाउँपालिकाले अनुदान कार्यक्रम व्यवस्था गर्नेछ ।
४. वैदेशिक रोजगारीमा रहेका युवाले स्वदेशमै व्यावसायिकरुपमा साना उद्योग तथा कृषि क्षेत्रमा लगानी गरेर काम गर्न चाहे गाउँपालिकाले उचित अनुदान तथा अन्य प्राविधिक, प्रशासनिक सहयोग गर्नेछ ।
५. किसानको लगानी सुरक्षित गर्न गाउँपालिकाले पशु स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नेछ ।
सामाजिक विकास
क. शिक्षाः
१. गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन अनिवार्य गराइनेछ । शैक्षिक गुणस्तर बढाउन थप अतिरिक्त क्रियाकलापमा जोड दिइनेछ ।
२. शैक्षिक सत्र शुरु हुनुअघि विद्यार्थी भर्ना अभियानका क्रममा विद्यार्थी भर्ना हुन आउँदा प्रत्येक छात्रछात्रालाई कक्षाअनुसार १–१ दर्जन कापी र कलम वितरण गरिनेछ र विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा अनिवार्य जोडिनेछ ।
३. गुणस्तरीय शिक्षाका लागि शिक्षक शिक्षण तालिम सञ्चालन गरिनेछ ।
४. विद्यालयको भौतिक सुधारमा जोड दिँदै स्वच्छ र शान्तिपूर्ण शैक्षिक वातावरणमा शिक्षण र अध्ययन व्यवस्था मिलाइनेछ ।
५. अतिरिक्त समयमा गाउँपालिकाभित्र पायकका ठाउँमा अनलाइन ट्युसन सेन्टर सञ्चालन गरिनेछ ।
६. विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान तथा ऐनअनुसार अस्थायी शिक्षक नियुक्त गरी प्रभावकारी शिक्षण व्यवस्था मिलाइनेछ ।
७. हरेक विद्यालयमा बालमैत्री तथा अपाङ्गमैत्री वातारणमा अध्ययन–अध्यापन गराइनेछ ।
८. शिक्षा पूर्वाधारहरुको पनि पूर्वाधार भएकाले सामाजिक शिक्षामा जोड दिई समाजमा रहेका विकृति र बिसंगतिलाई हटाउन शिक्षाका माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
९. शिक्षाका माध्यमबाट सामाजिक सद्भावना जागृत गराई समाजमा शान्ति र अमनचयन कायम गराइनेछ ।
१०. कालिका माध्यमिक विद्यालय कैलाश–९ नामटारलाई स्तरवृद्धि गरी स्नातक तहको कक्षा सञ्चालन गरिनेछ र अन्य सबै माध्यमिक विद्यालयहरुमा आवश्यकताका आधारमा दश जोड दुई ९प्लस टु० सञ्चालन गरिनेछ ।
११. कैलाश गाउँपालिकाका नागरिकले सरकारी सेवामा प्रवेशपूर्व लोकसेवाका कक्षाहरु लिनु पर्ने अवस्थामा गाउँपालिकाले त्यस्ता नागरिकलाई लोकसेवा कक्षा सञ्चालनसहित आवश्यक व्यवस्था गर्नेछ ।
ख.स्वास्थ्यः
१. स्वास्थ्य हरेक नागरिकको पहुँचमा पुर्याइनेछ ।
२. अति विपन्न परिवारहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
३. विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालहरुमा छुट÷निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
४. गाउँपालिका केन्द्रमा व्यवस्थित अस्पताल सञ्चालनमा ल्याइनेछ ।
५ सबै स्वास्थ्यचौकी÷सामुदायिक स्वास्थ्य इकाई÷गाउँघर क्लिनिकलाई व्यवस्थित गर्दै लगिनेछ ।
६. स्वास्थ बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरिनेछ, विपन्न नागरिकको स्वास्थ्य बिमा गर्न गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ ।
ग.भौतिक पूर्वाधारः
१. संघीयता कार्यान्वयनसँगै प्रथम स्थानीय सरकारले सञ्चालन गरेको दीर्घकालीन योजनाहरु प्राथमिकताका आधारमा निरन्तरता दिइनेछ ।
२. गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडकहरुको स्तरीकरण र निर्माणमा विशेष जोड दिइनेछ ।
३. चुनियाँ–नामटार–कालिकाटार–भार्ता–खैराङ सडकको स्तरीकरण र कालोपत्रेका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिनेछ र स्थानीय सरकारले पनि समपूरक बजेट विनियोजन गरी कार्य अघि बढाउनेछ ।
४. डाँडाबास–गैरीगाउँ–गोगने–पकने–डाँडाखर्क–वैकुण्ठ सडकको स्तरीकरण र कालोपत्रेका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिनेछ र स्थानीय सरकारले पनि समपूरक बजेट विनियोजन गरी कार्य अघि बढाउनेछ ।
५. खोलाखर्क–छ्याङ्दुङ–भार्ता–कालिकाटार सडकलाई स्तरीकरण गरी १२ महिना सञ्चालनमा ल्याइनेछ ।
६. बहुप्रतिक्षित आदमघाट–मनहरी सडकखण्डको कैलाश गाउँपालिकाभित्र पर्ने वैकुण्ठ–कैलाश–सानो डाँडाखर्क–भार्ता– मादलसिङ सडकखण्डको निर्माण तथा स्तरीकरणमा जोड दिइनेछ ।
७. महादेववेशी–दामगडे–गोगने–पकने–अल्छे–दमार–भार्ता–राक्सिराङ–मनहरी सडकको भार्ता–अल्छे–कप्सेरी–पकने खण्डको सडक निर्माण तथा स्तरीकरणमा विशेष जोड दिइनेछ ।
८. डाँडाबास–गोलढुंगा–हलिते–पोखरी सडक निर्माण तथा स्तरीकरण गर्न गाउँपालिकाले समपूरक बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गराउनेछ ।
९. राज्य पुनर्संरचनाका बेलादेखि नै चर्चामा रहेको गोगने–कालिकाटार सडकलाई उच्च प्राथमिकताका साथ स्तरीकरण तथा निर्माणमा जोड दिइनेछ ।
१०. घुमाउने–बुकुटी–लिक्चे–स्यान्सिराङ–गारखल–लावती सडक ९हालः निर्माण हुँदै० लाई प्राथमिकतामा राखी निर्माण कार्य सम्पन्न गर्न गाउँपालिका निरन्तर लागि पर्नेछ र बजेटका लागि प्रदेश सरकारसँग पहल गरिनेछ ।
११. गाउँपालिकाभित्रका सबै शाखा सडकहरु आगामी ३ वर्षभित्र स्तरीकरण गरिसकिनेछ ।
१२ यातायातको सुविधा पुगेको १० वटै वडाका सडकहरु स्तरोन्नति गरी बाह्रैमास यातायात सञ्चालनको व्यवस्था गरिनेछ ।
घ. खानेपानी तथा सरसफाइः
१. हरेक टोलमा व्यवस्थित र आवश्यकता अनुसार खानेपानीको सुविधा उपलब्ध गराइनेछ ।
२. हालसम्म पनि शौचालय नबनाएका परिवार पहिचान गरी गाउँपालिकाकै पहलमा शौचालय निर्माण गरी जनताको स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिइनेछ ।
३. स्वस्थ मानिसविना समाज तथा कुनै पनि विकासको परिकल्पना गर्न सकिँदैन । तसर्थ जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका सबै किसिमको खाद्य, पेय पदार्थ, नशालु बस्तुको ओसारपसार, कारोबार र बेचबिखनलाई गाउँपालिकाले पूर्णरुपले नियन्त्रण गर्नेछ ।
४. हरेक गाउँ, टोल, चोक, चौतारो र खानेपानीको मुहान, सार्वजनिक पौवापाटी सफा–सुग्घर राख्न गाउँपालिकाले अभियान सञ्चालन गर्नेछ ।
५. २०८० सालभित्र सबै घरपरिवारको पहुँचमा बिजुली पुर्याइनेछ ।
ङ.पर्यटनः
१. बिगतदेखि नै गाउँपालिकाले लगानी गर्दै आइरहेको कैलाश–वैकुण्ठको डाँफेमुनाल पार्क, गुप्तेश्वर महादेव गुफा र कैलाश डाँडाको समुचित विकासको लागि विशेष जोड दिइनेछ ।
२. हालसम्म डिपिआर तयार भएको र पर्यटन क्षेत्रका रुपमा विकास गर्न सम्भावना रहेको घैराङ, देखारीडाँडा, रानीपोखरीलगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
३. कैलाश गाउँपालिकामा विभिन्न अवसरमा विभिन्न सम्प्रदायबाट मनाइने चाडपर्वलाई धार्मिक सम्पदा, संस्कृतिका निधि मान्दै तिनको जगेर्ना, संरक्षण, निरन्तरता, व्यवस्थापनसँगै यसलाई धार्मिक पर्यटनका रुपमा अघि बढाएर पर्यटन पूर्वाधारसँग जोडिनेछ ।
च.युवा तथा खेलकुद
१. युवापुस्ताको चाहनाले मात्र समाज रुपान्तरण सम्भव छ, त्यसैले युवाको चाहनालाई मध्यनजर गर्दै युवाको क्षमता र खेलकुद विकासका लागि प्रत्येक वडामा ५ वर्षभित्र एउटा व्यवस्थित खेल मैदान निर्माण गरिनेछ ।
२. खेलकुद तथा समयसापेक्ष युवाको क्षमता विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गरिनेछ ।
३. विभिन्न तहको खेलकुदमा भाग लिई उत्कृष्टता हासिल गरेका खेलाडीलाई थप क्षमता विकासका लागि तालिम आवश्यक महसुस भएमा गाउँपालिकाले सम्पूर्ण खर्च बेहोरी तालिममा सहभागी गराइनेछ ।
छ. बजार
१. स्थानीय तहमा उत्पादन भएका कृषिजन्य बस्तु र अन्य बस्तुको बिक्री वितरण तथा बजारीकरणका लागि प्रत्येक वडामा १÷१ वटा व्यवस्थित बजार विकास गरिनेछ ।
२. ग्रामीण भेगमा उत्पादित कृषि र पशुजन्य उत्पादनलाई बिचौलियाबाट बचाएर बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।
३. भौगोलिक अवथा अनुसार, कैलाशको १० वटै वडामा सम्भावना रहेका कृषि र पशुजन्य उत्पादन, बिक्री, वितरण, बजारीकरण, प्रवद्र्धनका लागि गाउँपालिकाले उचित र आवश्यक सहयोग गर्नेछ ।
ज.मानव संशासन विकास
१. संघीयता कार्यान्वयनसँगै पालिका र जनप्रतिनिधिले जनताका हितमा निर्माण गरेका नीति र निर्णयहरुसँगै विकास, निर्माणको कार्यमाथि जनताको भरोसा जगाउने संयन्त्र कर्मचारी प्रशासन हो । कर्मचारी प्रशासनलाई चुस्त, दुरुस्त, व्यवस्थित, जनमुखी, जिम्मेवार बनाउन समयसापेक्ष तालिम, कार्यशालाहरु आयोजना गरिनेछ ।
२. समाज विस्तारै इन्टरनेट युगमा जोडिएकाले कैलाश गाउँपालिकालाई पनि यसमा अभ्यस्त बनाउँदै आइन्दा लामो समय यात्रा गरेर कष्ट सहँदै पालिका वा वडा कार्यालय धाउनु पर्ने बाध्यतालाई न्युन पार्न अनि कार्यालयलाई कागजको भारीरहित अर्थात् ‘पेपरलेस’ बनाउन प्रयास गर्दै विद्युतीय सुशासन अथवा अनलाइनबाट पनि जनताले घरै बसेर सेवा लिन सक्ने सफ्टवेयर निर्माण र प्रयोगमा ल्याइनेछ । यसका लागि आवश्यक मानव संशाधनको विकास गरिनेछ ।
झ. बालबालिका
समुन्नत कैलाशको भविष्य कैलाशका बालपुस्तासँग जोडिएको छ । त्यसैले गाउँपालिकाले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउनेछ । सबै बालबालिका बचाउ कार्यक्रम अन्तर्गत बाल बिकास, बाल विवाह अन्त्य, कुपोषणरहित बालबालिका, शिक्षामा बालबालिकाको पहुँचका लागि कार्यक्रम र बालमैत्री शासन र बालमैत्री पूर्वाधार निर्माण पालिकाको प्राथमिकीकरणमा पर्नेछ ।
प्रतिगामीको बाटोमा नजाऔँ दाजुभाइ
तपाईंको अमूल्य मत कलम चिन्हलाई ।
चुनाव चिन्ह कलम ।
धन्यवाद् ।
टंकबहादुर मुक्तान
गाउँपालिका अध्यक्षका उम्मेदवार
कैलाश–८, भार्ता, मकवानपुर
सम्पर्क नम्बर ९८५५० ६८५९०