काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको सन्दर्भ पारेर “समाजवादी यात्राको चुनौती भ्रष्टाचार र दण्डहीनता” विषयक विचार गोष्ठि सम्पन्न भएको छ ।
पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठिमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार एवं अनियमितताका घटनामा तथ्य प्रमाण भेटेमा जो सुकैलाई पनि नछाड्ने बताउनु भयो ।
गृहमन्त्री श्रेष्ठले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइसकेको भन्दै दोषीलाई छोड्नु हुन्न, निर्दोष नफसुन् भन्ने मान्यता यस सरकारको रहेको बताउनु भयो । “तथ्य प्रमाणका आधारमा जहांसम्म जानुपर्ने हो, दोषीलाई फेला पार्न अगाडि बढ्नुपर्ने हो, त्यहांसम्म पुग्छौं ।” उहाँले भन्नुभयो । धनीलाई एउटा कानुन, गरीबलाई अर्को कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । काननु सबैका लागि समान हुन्छ, तथ्य प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताउनु भयो ।
अर्का वक्ता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारवाही गर्नुपर्ने बताउनु भयो । महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारवाही गर्नुपर्ने आवश्यक्ता औल्याउँदै मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान सुरु गर्नुपर्ने बताउनु भयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको भन्दै नेपाल जस्तो अल्पविकसित मुलुकको निर्वाचन प्रणाली विकसित पुंजीवादी देशहरु भन्दा महङ्गो बन्दै गएकाले यसलाई बदल्न आवश्यक रहेको बताउनु भयो । उहाँले , निर्वाचन प्रणाली नेपाल जस्तो अल्पविकसित मुलुकमा विकसित पुंजीवादी देशहरुमा भन्दा महङ्गो प्रणालीले पनि राजनितिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको चर्चा गर्दै चुनाव लड्दा हुने खर्च पनि भ्रष्टाचार नै हो, यसकारण निर्वाचन प्रणालीलाई बदल्नु पर्छ । अहिलेको निर्वाचन प्रणाली धेरै महङ्गो र खर्चिलो छ । समाजवादको अवरोधको कुरा गर्ने हो भने, भ्रष्टाचार एउटा ठूलो बाधा हो । हामीले जुन व्यवस्था ल्याएको छौ, त्यो भ्रष्टाचारमै आधारित रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द “विप्लव सी ”ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी व्यक्त गर्दै अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादव सहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको बताउनु भयो ।
भ्रष्टाचार विरोधी लडाईमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दावी समेत गर्नुभयो । केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको सभापतित्वमा भएको सो कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव डा. कृष्णराज पन्तले गर्नुभएको थियो ।