बुद्ध महर्जन
नेपालको राजनैतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुआत गरेको नेपाल एकीकरणको अभियान भिमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनैतिक राज्यसत्ता र शक्तिको खिचातानी पनि सँगसँगै मौलाइरहेको थियो । शाहवंशको शक्ति खिचातानीको रुप राज्यलक्ष्मीसम्म आईपुग्दा राजनैतिक शक्तिको हस्तान्तरण जंगबहादुरको हातमा पुग्यो र राणा शासनकोे उदय भयो । १०४ वर्षसम्म जहानियाँ राणा शासन चल्यो । सो दौरानमा राणाहरूले आफ्नो शासन सत्ता टिकाउनका लागि जनताको मौलिक हक अधिकारहरूमाथि अंकुश लगाए भने जनजीविकाका सवालमा ज्यादै कमजोर भएको इतिहासबाट प्रष्ट हुन्छ । तर राणाहरूले राष्ट्र र राष्ट्रियताका सवालमा भने सतिसाल झैं दरो र निर्भिकतापूर्वक विश्वराजनीतिमा उभ्याए । जुन सबैका लागि एउटा अनुशरणीय, प्रशंसनीय र गौरवमय छ । मातृभूमिको अस्मिताका खातिर देखाएको वीरता र कुटनीतिक चातुर्यता सिंगो नेपाल र नेपालीको लागि गौरवको विषय हो ।
जनजीविका र स्वतन्त्रताका सवालमा राणाहरूले लादेको निरङ्कुश तन्त्रको विरोध गर्दै नेपाली राष्ट्रिय कांग्रेस, प्रजा परिषद जस्ता पार्टीहरू स्थापना भए । स्वतन्त्रताका खातिर लागेका युवाहरूलाई १९९७ सालमा राणाहरूले गरेको क्रूर दमन, यातना र मृत्यूदण्डको राजनीतिक परिणति २००७ सालको प्रजातन्त्र हो । वि.सं. १९९७ सालमा तत्कालीन शासनद्वारा फाँसी दिइएका त्यस मध्ये सबै भन्दा कान्छो योद्धा शहीद गंगालाल हुन् । उनीहरूको हत्याले नेपाली राजनीतिमा एउटा छुट्टै आयाम थप्न सफल भयो ।
पुष्पलालले १९९७ सालमा आनो दाजु गंगालालले सहादत प्राप्त गर्नु अगाडि नेपाली जनताको जनजीविका र मौलिक अधिकारका लागि आफूले बालेको दियो निभ्न नदिनु है माइला’ भन्ने मार्मिक भनाईले पुष्पलाललाई राणाशाहीको विरुद्ध उभिनका लागि प्रेरणा र दायित्वबोध गरायो । तत्पश्चात पुष्पलालले राणा शासनको अन्त्यका लागि संगठित सङ्घर्षको परिकल्पना गरेका थिए । धन सम्पत्तिको लागि डाँकागिरी गर्नेबाट नेपालमा राजनीतिक परिवर्तनको सम्भावना नदेखेपछि नेपाली राष्ट्रिय कांग्रेसमा संगठित भई कार्यालय सचिव जस्तो गहन जिम्मेवारी समेत सम्हालिसकेका थिए । राष्ट्रिय कांग्रेसभित्र मातृका, सुवर्ण र कोईराला बीचको पदीय खिचातानीलाई नजिकैबाट नियालेका पुष्पलालले २००५ सालमा कांग्रेसले पनि देश उँभो लगाउने नदेखेपछि पुष्पलालले आफू पार्टीमा नरहेको भन्दै पत्रलेख्दै पार्टी परित्याग गर्नुभयो । राणाशाहीलाई अन्त्य गर्न सक्ने एउटा दरिलो र जनताको पक्षमा लड्ने पार्टीको खोजीमा लाग्नु भयो ।
कम्युनिष्टले मात्र गरिब जनताको पक्षमा काम गर्छन् भन्ने कुरा सुनेकोले भारतीय पुस्तकालयमा गई अध्ययन गर्ने क्रममा कम्युनिष्ट घोषणा पत्रलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरी २००६ साल बैशाख १० गते सहकर्मी निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशीको उपस्थितिमा कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भयो र ढिला पुग्नु भएकी मोतीदेवी श्रेष्ठलाई पनि पार्टीमा आवद्ध गर्नु भयो । सो कमिटीमा महिलालाई पनि समावेश गराउनुले समावेसिताको सिद्धान्त कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापनाकै बेला अवलम्बन गर्नु भएको ज्वलन्त उदाहरण हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात् पार्टीभित्र झाँगिएको नेतृत्वको हानथापले फरक विचारको समेत विजारोपण ग¥यो । जसले गर्दा पार्टीमा फूट आउँदा कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा पुग्यो । पार्टी स्थापनाको बखतमा लिएको ‘नयाँ जनवादी क्रान्तिको कार्यक्रम’ पछि गएर राष्ट्रिय प्रजातन्त्र र पछिल्लो कालखण्डमा बहुदलिय जनवादमा पुगेको देखिन्छ । दोश्रो महाधिवेशनमा कमरेड पुष्पलालको कार्यनीति नयाँ जनवादी क्रान्ति पास भए पनि महासचिवमा भने डा.रायमाझी निर्वाचित भएको इतिहासले नेतृत्वको चाहना र त्यसको लागि गरिएका गुटबन्दी र छलछामहरू कम्युनिष्ट आन्दोलनकालागि घात सार्थक भएको इतिहासबाट देखिन्छ । पछि तेश्रो महाधिवेशनमा क. तुल्सीलालले पेश गर्नु भएको राष्ट्रिय प्रजातन्त्रको कार्यनीति पास भई पार्टीको बागडोर समाउनु भएका क. तुल्सीलालले पार्टीलाई सुसुप्त र निस्कृय बनाउनु भयो । तत्पश्चात् क. पुष्पलालले २०२५ सालमा तेश्रो सम्मेलनको आयोजना गरी पार्टीलाई जोगाउनु भयो र नयाँ जनवादी क्रान्तिको कार्यनीतिलाई निरन्तरता दिनुभयो ।
कमरेड पुष्पलाललाई तेश्रो महाधिवेशनसम्म निस्तेज पार्न खोजियो तर कमरेड पुष्पलालले पार्टी अन्तरर्संघर्षमा निरन्तर लाग्नु भयो । कमरेड पुष्पलालले नेपालको वर्गीय र राजनैतिक विश्लेषण पश्चात् संयुक्त जनआन्दोलनको कार्यनीति अगाडि सार्दा ‘गद्दार पुष्पलाल’, ‘कांग्रेसको पुच्छर’ जस्ता आरोप र लान्छना सहनु परेको थियो । राजनैतिक दूरदर्शी नेता क. पुष्पलाल सतीसाल झैं अडिग र निर्भिकतापूर्वक उभिनु भयो । पार्टीलाई सशक्तीकरणका लागि संधै लागि पर्नु भयो ।
एक्लाएक्लैले गरेको हरेक आन्दोलन बिफल भएपछि कमरेड पुष्पलालले देखाउनु भएको संयुक्त जनआन्दोलनको सिद्धान्त अख्तियार गर्नु अनिवार्य हुन पुग्यो । संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त आन्दोलनले ०४६ सालमा पञ्चायती निरंकुश शासनको अवसान भयो । त्यसै गरि २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन पनि संयुक्त जन आन्दोलनको अर्काे रुप थियो । जुन आन्दोलनले शान्तिपूर्ण बाटोबाट राजतन्त्रको अन्त्य भई संघीय गणतन्त्र नेपालको स्थापना भयो ।
नेपालमा गणतन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति सम्भव नभएको तसर्थ संयुक्त जनआन्दोलन, संसदीय व्यवस्थानको व्यापक उपयोग, त्यसपछि प्राप्त हुने उपलब्धीबाट नेपाली जनताको आर्थिक, सामाजिक र जनजीविकाका सवालमा आमूल विकास र परिवर्तन पश्चात् प्राप्त हुने जनमतबाट संविधान सभा र संविधान संशोधन गर्दै शान्तिपूर्ण बाटोबाट गणतन्त्र नेपालको स्थापना हुनेछ भन्ने विश्लेषण र मार्गदर्शन कमरेड पुष्पलालको थियो । सोही विश्लेषण अनुरुप आजको राजनैतिक उपलब्धी हो भन्दा फरक पर्दैन ।
नेपालमा कमरेड पुष्पलाल जस्ता विचारक, वीर शहीदहरूको बलिदान, लोकतान्त्रिक पार्टीहरूको आन्दोलन र नेपाली जनताहरूको अभिमतबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । अबका दिनमा राजनैतिक उपलब्धीका लागि नेपालीले आन्दोलन गर्नु पर्दैन । देशले आर्थिक, सामाजिक र जनजीविकाका विषयमा पनि आमूल परिवर्तन तथा रुपान्तरण आजको आवश्यकता हो । तर सरकार, पार्टी, नेतृत्व र नेताले देखाएको उदासिनता, भ्रष्ट मनोवृत्ति, अनैतिकता साथै देश जनता प्रतिको अनुत्तरदायी प्रवृतिले गर्दा संघीय गणतन्त्रप्रति अनास्था बढेको अवस्था छ । यसको प्रतिबिम्ब भर्खरै सम्पन्न स्थानीय तह र संघीय निर्वाचनमा विचार र लक्ष्य विनाका पार्टीहरूको उदय हुनु र पार्टी र विचारविनाका प्रतिनिधिहरू निर्वाचित हुनु ज्वलन्त उदाहरणहरू हुन् । देश पुनः गृहयुद्ध फस्ने खालका धर्म निरपेक्षता र संघीय गणतन्त्रमाथि नै प्रहार हुन खोजेको छ । यदी देशको राजनीतिले पश्चगामी मोड लिएमा देशले पुनः दशकौं राजनीतिक अस्थिरता भोग्नु पर्नेछ । यसबाट जनजीविका थप पछि पर्नेछ । यसको जिम्मा अहिलेका लोकतान्त्रिक पार्टीहरुले जिम्मेवारी लिनु पर्छ । तसर्थ यसलाई रोक्न हाल देखिएको राजनैतिक विचलन, भ्रष्टाचारबाट माथि उठ्नुको विकल्प छैन । अन्यथाः आउँदो निर्वाचनमा गणतान्त्रिक शक्तिहरू क्षिण हुँदै जाने र नीति र पार्टी विनाका जन प्रतिनिधिको ब्यापक प्रतिनिधित्व हुनेछ । जसको परिणाम देशले लक्ष्यहीनता ब्यहोर्नु पर्नेछ र हालसम्म प्राप्त गरेका उपलब्धीहरूमाथि खतराको सम्भावना क्रमशः बढ्नेछ । तसर्थ यसलाई रोक्नकालागि लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकजुट हुनु पर्छ भने नेपाली कम्युनिष्ट आन्दोलनका नाममा टुक्रिएका फूटेका सम्पूर्ण पार्टीहरुको कार्यगत एकता मात्र नभएर पार्टी एकीकरण गर्नु आजको आवश्यकता हो ।
अझ उदेक लाग्दो कुरा त ! भुटानी शरणार्थी, ललिता निवास, विभिन्न क्षेत्रमा देखिएको मन्त्री, नेतादेखि कार्यकर्तासम्मले गरेका भ्रष्टाचारदेखि नीतिगत भ्रष्टाचारसम्मका परिघटनाहरूले लाजमर्दाे बनाएका छन् । यसमा दोषी केवल सरकार, नेता र कार्यकर्ता मात्र होइन जनता पनि उत्तिकै दोषी छन् । यो देशलाई रुपान्तरण सरकार र नेताले मात्र गरेर हुन्न । देशलाई साँच्चै अगाडि बढाउने हो, सरकारले आर्थिक क्रान्तिको वातावरण बनाउने र नेपाली जनताले आजैबाट उत्पादनका क्षेत्रमा हली, गोरु, रोपार र खेताला बन्दै आआनो क्षेत्रबाट उठ्नु, बाँझा खेत खलियानलाई उर्बर बनाउँदै नगदे बालीमा केन्द्रित हुन जरुरी छ । रेमिट्यान्सको आशा नगरी खाद्यमा आत्मनिर्भर हुनु पर्छ र तत्पश्चात् निर्यात्को क्षमता अभिवृद्धि गर्न जरुरी छ । यसले कृषि क्षेत्रमा क्रान्ति ल्याउनेछ भने छरिएको पूँजीलाई एकत्रित गर्दै पूँजीपति वर्गले कलकारखानाको स्थापना गरि औद्योगिक क्रान्ति गर्न जरुरी छ ।
कमरेड पुष्पलालको मार्गदर्शन अनुसार प्राप्त गणतन्त्रलाई सर्वसम्मत बनाउनका लागि गणतन्त्रका पक्षधर शक्तिहरूले अबका दिनमा देशमा आर्थिक, सामाजिक क्रान्तिको साथै जनजीविकाका सवालमा फड्को मार्नु नै आजको प्राथमिक आवश्यकता हो । कमरेड पुष्पलाल जस्ता युग प्रवर्तक दूरदर्शी नेतालाई ओझेलमा पार्ने कोशिस निरन्तर भैरहेको भान भएको छ । कम्युनिष्ट आन्दोलनमै पनि वहाँलाई छायाँमा पार्ने कोसिसहरु भए । समयको अन्तरालमा कमरेड पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको समयमा २००६ सालमा वहाँले अख्तियार गर्नु भएको बाटो नै नेपाली राजनीतिकालागि मूलबाटो बन्यो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक शक्ति कांग्रेस र त्यसका नायक विपिलाई वामहरूले सधैंं सम्झने गरेका छन् । तर विडम्बना क. पुष्पलालको यति धेरै योगदान हुँदा हुँदै पनि कांग्रेसले नाम सम्म लिन सधैं कन्जुस्याईं गर्ने गरेको पाइन्छ । नेपालको राजनैतिक आन्दोलन रुपी सिक्काको क. पुष्पलाल एउटा पाटो हो भने बिपी अर्काे पाटो । नेपालको राजनैतिक आन्दोलनका यी दुई व्यक्तित्व वास्तावमा भन्ने हो भने परिपूरक र अभिन्न हुन् । यो वास्तविकतालाई बिर्से झैं गरेर तीनै तहका सरकारले कमरेड पुष्पलालको स्मृतिमा स्थापित संस्थाहरूलाई पूर्वाग्रहपूर्ण व्यवहार गरेको २००÷१ को बजेटमा प्रष्ट देखिन्छ । जसको योगदानबाट आजको राजनैतिक परिवर्तन र उपलब्धी हासिल गरेको छ त्यस्तालाई उपेक्षा गर्नु यो विडम्बना र निन्दनीय कार्य हो । यस्तो पूर्वाग्रही भावनाबाट माथि उठ्नु पनि आजको राजनीतिक आवश्यकता हो ।
अर्कोतिर पुष्पलालका अघि सारेका जनवादी दृष्टिकोणहरूको दिग्दर्शनलाई आत्मसात गरेका भनिएका कम्युनिष्ट नेता तथा नेतृत्वमै आएको सैद्धान्तिक र व्यवहारिक विचलनका कारण देखिएको एकपछि अर्को फुट, एकअर्काप्रति गरिने गरेका अराजनैतिक गालीगलोज, वैयक्तिक दम्भ र आफूलाई मात्र सही ठान्ने गलत मनोवृत्तिले नेपालको कम्युनिष्ट आन्दोलनलाई रसातलतिर पु¥याइरहेको वर्तमान परिवेश अत्यन्त दुखदायी र पीडादायी छ ।
हिजो पनि नेकपामा आएको फूट र बिखण्डनले क.पुष्पलालको अडानलाई हल्लाउन सकेको थिएन । कम्युनिष्ट पार्टीमा आएको बिचलनको विषयमा वहाँ निक्कै चिन्तित हुनुहुन्थ्यो । सोही चिन्ताले पनि वहाँ विरामी पर्नु भएको देखिन्छ । आखिरमा ०३५ साल साउन ७ गते गोविन्द वल्लभ पन्त अस्पतालमा वहाँको दुखद् निधन भयो । वहाँको निधन भएको पनि ४५ वर्ष भैसकेको छ । गणतन्त्र नेपालको पहिलो विचारक तथा कल्पनाकार, नेपाली राजनीतिका शिखरपुरुष नेपाल रत्न’ कमरेड पुष्पलालको ४५औं स्मृति दिवस मनाउंँदै गर्दा वहाँले देखाउनु भएको मार्गबाट प्राप्त भएको उपलब्धीलाई उपयोग गर्दै नेपाली जनताको आर्थिक सांस्कृतिक र जनजीविकाको पक्षमा छलाङ्ग मार्न सबैलाई प्रेरणा मिलोस् ।
लेखक पुष्पाल स्मृति प्रतिष्ठानका कार्यालय सचिव हुनुहुन्छ।