काठमाण्डौ चैत्र १२
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताउनु भयो वर्गीय रुपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसविरुद्धमा आफ्नो पार्टी लडिरहेको उहाँको भनाइ थियो ।
काठमाडौँमा आयोजित पार्टी निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचनमा केपी ओली नेतृत्वको एमालेले अकल्पनीय परिणाम भोग्ने दाबी गर्नुभएको छ ।
उहाँवले आगामि निर्वाचनमा एमाले देशभर पराजित हुने ठोकुवा गर्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले आसन्न स्थानीय तहको चुनावमा एमालेले ७० प्रतिशत सीट जित्ने दाबी गरिरहेका बेला खनालले भन्नुभयो, ‘केपीको पार्टीले अब २ तिहाई होइन २(३ सिटमात्र ल्याउछ ।
एमाले अध्यक्ष ओली सत्ता गठबन्धनविरुद्ध दक्षिणपन्थी मोर्चा बनाउने प्रयासमा रहेको भन्दै खनालले एमालेले एक्लै चुनाव जित्नै नसक्ने बताउनुभयो । ओलीले बाहिर एक्लै चुनाव लड्ने भनेर भित्रभित्र राप्रपा, लोसपा र सिके राउत नेतृत्वको जनमत पार्टीसँग तालमेलको प्रयास गरिरहेको उहाँको भनाइ छ ।
एमालेका केही नेताहरुले दुई पार्टी सिष्टमको वकालत गरेको भन्दै नेता खनालले त्यसलाई नेपालको संविधान र जबजविरोधी सोचको संज्ञा दिनुभयो । ‘उनीहरू अमेरिकीको डेमोक्रेसीलाइ नमुना मान्दैछन् ।
अब नेपालमा दुइ पार्टी सिष्टम भन्दैछन् । तर, त्यो सम्भव छैन, त्यस्तो सोच जबज र संविधानविरूद्धको सोच हो । दक्षिणपन्थी भड्काउ हो ।’
सम्बोधनको क्रममा खनालले केपी ओलीले आफ्नो गुटको हित नहुने देखेपछि अनेक षड्यन्त्र गरेर तत्कालीन नेकपा विभाजित गरेको आरोप पनि लगाउनु भयो ।
सच्चा देशभक्त,क्रान्तिकारीहरूले अबको निर्वाचनमा जित्नैपर्ने भन्दै उहाँले अन्यथा फेरी केपी ओलीहरू जन्मिरहने र कम्युनिष्ट आन्दोलन धवस्त हुने चिन्ता व्यक्त गर्नुभयो र्। नेता खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गर्नुभएको छ ।
नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनु भयो । उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो ।
पूर्व(प्रधानमन्त्री खनालले भन्नुभयो ‘तीन वर्षसम्म चलिसकेको एकीकृत पार्टीलाई विभाजित गरियो र एउटा नयाँ गुटको जन्म भयो। हामीले लामो समयदेखि लगाएर बनाएको नेकपा जुन थियो त्यो नवौँ महाधिवेशनसम्म लगातार जारी रह्यो ।
तर निर्वाचनको पूर्व घडितिरको सेरोफेरोमा हामीले त्यो पार्टी र नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्यौँ। एकीकरण गरेपछि त्यतिबेला त नेकपा एमाले त सिध्यो नि । त्यो त इतिहासको वस्तु भयो, त्यो इतिहासको वस्तु भइसकेपछिको अवधिमा उत्प्रेषणको अधिकारबाट सर्वोच्च अदालतबाट व्युँताइएको पार्टीको नाम हो अहिले केपी ओलीको गुट ।
नेता खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी समेत गर्नुभयो। उहाले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनुभयो ।
उहाँले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गर्नुभयो ।