काठमाण्डौं,बैशाख १९
श्रमिकका बारेमा नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्रमा देहायको प्रतिबद्धता ब्यक्त गरेको छ ।
३.२२. श्रमिकहरूको वर्गीय तथा पेसागत हकहितबारे
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सबै क्षेत्रका श्रमिकहरूको वर्गीय तथा पेसागत हक–हितप्रति प्रतिवद्ध छ । श्रमिकहरूका समस्या समाधानका लागि हाम्रा दृष्टिकोणलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ–
३.२२.१. श्रम विभाग गठन
श्रमिक वर्गको हकहितलाई उच्च प्राथमिकता दिनका लागि हरेक पालिकामा ‘श्रम विभाग’ गठन गरिने छ । यस विभागले पालिकाको भूगोलभित्रका विभिन्न क्षेत्रसँग सम्बन्धित श्रमिकहरूको पेसागत र वर्गीय हक–हित सुरक्षाका लागि विविधि योजना बनाई काम गर्ने छ । पालिका स्तरमा गठन गरिने श्रम विभागको कामलाई बुँदागत रूपमा चर्चा गरिएको छ ।
३.२२.१.१. वैदेशिक रोजगारीमा गएका श्रमिकबारे
आफ्नो ज्यानलाई जोखिममा राखेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले पठाएको विप्रेषण ९रेमिटेन्स० बाट देशको अर्थतन्त्र धानिएको छ । हामीले एकातिर देशमै रोजगारीको सिर्जना गरी विदेसिने श्रमिकको सङ्ख्या बिनाकुनै दबाब, स्वाभाविक रूपमा कटौति हुने वातावरण सिर्जना गर्नुपरेको छ भने अर्कोतिर विदेश जाने श्रमिकहरूको सङ्ख्या उल्लेख्य रूपमा कम हुने अवस्था नभएसम्म वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले पठाउने विप्रेषण आयलाई उत्पादनशील काममा लगानी गर्ने वातावरण बनाउनुपरेको छ । विदेशबाट कमाई गरी ल्याएको पैसालाई उपभोगमा मात्रै खर्च नगरी उत्पादनशील काममा लगाउनका लागि प्रोत्साहित गर्ने उद्देश्यले पालिकाहरूले आआफ्नो स्थानीय विशेषताअनुसार विशेष योजना बनाउने छन् भने यस बारेमा राष्ट्रिय नीति बनाउनका लागि हाम्रो पार्टीले विशेष पहल गर्ने छ ।
श्रम विभागले आफ्नो पालिकाभित्रबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरूको तथ्ययुक्त विवरण राख्ने छ, उनीहरूसँग बेलबेलामा सम्पर्क गर्ने, समस्या सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने छ । वैदेशिक रोजगारमा पठाउने ‘कम्पनी वा व्यवसायीहरूबाट श्रमिकहरू ठगीमा नपरुन् र ठगीमा परेका भए न्याय पाउन् भन्ने विषयमा यो विभागले विशेष योजना बनाई काम गर्ने छ ।
वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारणले देशमा युवा श्रमशक्तिको कमी त भएकै छ भने अर्कोतिर समाजमा गम्भीर खालका सामाजिक समस्या सिर्जना भएका छन् । यस्तो समस्या हटाउनका लागि वैदेशिक रोजगारमा गएका परिवारका मानिसलाई काउन्सिलिङको व्यवस्था गरिने छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सिपमूलक तालिम प्रशिक्षण दिएर दक्ष वा अर्ध दक्ष जनशक्तिको रूपमा विकास गरिने छ । वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र भरपर्दो बनाइने छ ।
३.२२.१.२. ज्यालादारी श्रमिकबारे
श्रम विभागहरूले आफ्नो भूगोलभित्रका श्रमिकहरूलाई निजहरूले काम गर्ने कारखाना वा संस्थाबाट तोकिएको पारिश्रमिक पाउनुपर्ने, काम गर्ने स्थान सुरक्षित, सफा र व्यवस्थित ९डिसेन्ट० हुनुपर्ने, व्यवस्थापन पक्षबाट सम्मानजनक व्यवहार हुनुपर्ने, श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुनुपर्नेजस्ता आधारभूत समस्या समाधान गर्नका लागि पहल गर्ने छन् । हरेक पालिकाले आफ्नो भूगोलभित्र स्थायी बसोवास गर्ने ज्यालादारी श्रमको भरमा जीवनयापन गर्नुपर्ने सर्वहारा वा अर्ध सर्वहारा श्रमिकको तथ्याङ्क लिने छन् । यस्तो तथ्य विवरणका लागि केन्द्रीय स्तरबाट गरिएका विभिन्न सर्वेक्षणका परिणामहरूको पनि उपयोग गरिने छ । आफ्नो भूगोलभित्रका स्थायी वासिन्दा ज्यालादारी श्रमिकको जीवन यापन सहज बनाउनका लागि स्थानीय सरकारहरूले विशेष योजना बनाउने छन् ।
३.२२.१.३. पेसागत क्षेत्रका श्रमिकबारे
श्रम विभागले आफ्नो भूगोलभित्र कार्यरत विभिन्न सरकारी, अर्धसरकारी तथा सङ्गठित निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूका ट्रेड युनियनहरूसँग आवश्यक समन्वय गर्ने छ । स्थानीय तहमा समायोजनका लागि पठाइएका तर समायोजन हुन बाँकी कर्मचारीहरूको समायोजनमा ध्यान दिइने छ । विभिन्न स्वार्थका आधारमा कर्मचारीहरूमाथि गरिएको भेदभावलाई हाम्रो नेतृत्व भएका पालिकाहरूले अन्त्य गर्ने छन् । स्थानीय तहमा सरुवा भइआउने कर्मचारीहरूलाई हाजिर नगराउने र दुःख दिने प्रवृत्तिलाई अन्त्य गरिने छ भने कर्मचारीहरूलाई आफ्नो काममा दत्तचित्त भएर लाग्नका लागि प्रोत्साहित गरिने छ ।
३.२२.१.४. श्रमिकका समस्या समाधानका लागि राष्ट्रिय श्रम आयोग
श्रमिकहरूका समस्या समाधानका लागि व्यवस्थित नीति तथा कानुन निर्माण गरी लागु गर्नका लागि राष्ट्रिय श्रम आयोग गठन गर्नका लागि हाम्रो पार्टीले विशेष पहल गर्ने छ । यस आयोगले प्रदेश र स्थानीय स्तरका श्रम विभागहरूसँग आवश्यक समन्वय गरी काम गर्ने छ ।
३.२३. विपन्न वर्ग लक्षित कार्यक्रम
समाजका गरिब तथा अति विपन्न वर्गका मानिसलाई लक्षित गरी तपसिलका कार्यक्रम सञ्चालन गरिने छ–
३.२३.१. अति विपन्न नागरिकहरूलाई गरिबीको स्तर मापन गरी वर्गीकृत परिचयपत्र वितरण गरिने छ ।
यस्तो तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्कसँग मिलान गरिने छ । विपन्नताको परिचयपत्र प्राप्त गरेका आफ्नो भूगोलभित्रका मानिसहरूको आर्थिक उन्नतिका लागि विशेष योजना बनाई लागु गरिने छ ।
३।२३।२। विपन्न परिचयपत्र प्राप्त गरेका मानिसहरूलाई सुलभ मूल्यमा खाद्यसामग्री उपलब्ध गराइने छ भने पालिकाहरूले उपलब्ध गराउने रोजगारीका अवसरहरूमा उहाँहरूलाई योग्यताबमोजिम पहिलो प्राथमिकत दिइने छ ।
३.२३.३. गरिबी निवारणको समग्र योजना सफल बनाउन स्थानीय सरकारको बजेटबाट मात्रै सम्भव नहुने हुँदा प्रदेश र केन्द्रीय योजनासँग समन्वय गरी आवश्यक कार्यक्रम अगाडि बढाइने छ ।
३.२३.४. तराईका अति विपन्न मुसहर, पत्थरकट्टा, डोम, हलखोर, खत्वे, चमार लगायत तथा पहाडका अति विपन्न दलित परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत आवास उपलब्ध गराइने छ ।