काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना हुने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/ ०८१ मा बजेट नै विनियोजन गरेर उक्त कामको थालनी गरेको हो ।
आगामी आवमा देशभरका १ सय ६१ पालीकामा पशु जाँच प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन भएको पशु चिकित्सक समेत रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालका निजी सचिवालयका पूर्ण बुढाले बताउनु भयो ।
मन्त्रालयका अनुसार अनुसार देशका ७ प्रदेशका १४ जिल्लामा पशु जाँच प्रयोगशाला स्थापना हुनेछ । जिल्लाका सबै पालिकामा यसका लागि ६ लाखका दरले मन्त्रालयले बजेट विनियोजन गरेर पठाएको बताईएको छ ।
आगामी ३ वर्षमा देशका ७ सय ५३ ओटै पालिकामा प्रयोगशाला स्थापना गर्ने तयारी मन्त्रालयको छ । आगामी आर्थिक वर्षमा मन्त्रालयले पहिलो चरण अन्तर्गत कोशी प्रदेशको इलाम र सुनसरी, मधेस प्रदेशको रौतहट र सर्लाही, बागमती प्रदेशको काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको तनहुँ र पर्वत, लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची, कर्णाली प्रदेशको दैलेख र सुर्खेत, सुदुरपश्चिम प्रदेशको बैतडी र कन्चनपुर जिल्लाका सबै पालिका समेटिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले पशुधनको संरक्षण गरी पशुजन्य पदार्थको उत्पादनमा सहयोग गर्ने बताउनु भयो । साथै पशु स्वास्थ्य सुरक्षामा समेत यसले सघाउ पुर्याउने उहाँको विश्वास छ । अहिले प्रयोगशालाको अभावमा अधिकांश पशुपालक किसानले अनुमानको भरमा पशुको औषधि उपचार गर्दै आएका छन् ।
‘सरकारले नौलो प्रयोगको रुपमा हरेक पालिकामा प्रयोगशाला स्थापना गर्न लागेको छ । पशुका दुध, गोवर, पिसाव र रगतबाट देखिने रोगको निराकरणमा यसले भूमिका खेल्ने विश्वास छ । आधारभूत तहको जाँचबाट किसानले यसबाट मनग्य लाभ लिन सक्नेछन्झ मन्त्री भुसालले भन्नुभयो ।
हाल स्थानीय तहहरुमा पशुको आधारभूत चेकजाँच हुने प्रयोगशाला छैन् । जसले गर्दा किसानले बर्षेनी पशुपालनमा घाटा व्यहोर्न परिरहेको छ । पशुमा देखिने सामान्य रोकको जाँच हुन नसक्दा अन्धाधुन्ध औषधि चलाउने प्रवृत्ति छ । अब यो प्रयोगशाला निर्माण पश्चात त्यो समस्याको अन्त्य हुने मन्त्री भुसालको विश्वास छ ।
पालिकाले पशु जाँच प्रयोगशालाका लागि चाहिने उपकरण आफै खरिद गर्न सक्नेछन् । पालिकाका कृषि तथा पशु विकास शाखा मार्फत यसको काम हुने जनाइएको छ ।