लाल ऋतम्भरा
सदियौँ पहिलेको हो चौतारो
जहाँ विद्रोहको गीत गाउदै गर्दा
लखन थापाहरू झुन्ड्याइएका थिए
जहाँ स्वतन्त्रताको बिकुल फुक्दै गर्दा
छातीमा गोली थापेर गंगालालहरु
हाँसी हाँसी फासी चढेका थिए
भत्किएको छ अहिले त्यो चौतारो
चौतारोसँगै भत्किन थालेको छ
ज्ञान श्रृङ्खला पनि
त्यो त्यही चौतारो हो
जहाँ अक्करको बाटो हिडेर आएको बटुवाले
थकान मेट्दै
जँघारहरू तरेको, उकालीओराली गरेको
दुरुस्त हिसाब निकाल्थ्यो
जीवनको यात्रामा निस्किएका यात्रीहरू
त्यही चौतारोमा बसेर
पाइतालामा बिझेका काँडाहरू उखेल्थे
मर्किएका खुट्टामा खनिउँको चोप लगाउँथे
वनमारा झारको रस दल्थे शरीरका चोटहरुमा
आफैले बनाएका भीरका नागबेली बाटाहरुमा
पाइला अडाउन नसकेर लडेका
साथीसंगीको स्मरणमा धजा चढाउँथे
कुँजिएको ज्यान तन्काउँथे
थाकेका मन सुस्ताउँथे
लामो भोक मेटाउन सातुका पोका खोल्थे
केही फराकिला देखेर हिड्नु पर्ने बाटाहरू
सन्तोषको स्वास फेर्दै रमाउँथे पनि
बटुवाहरू
त्यही चौतारोमा बसेर गौरावान्वित हुन्थे
मृत्युपथलाई पार गरेर बिसाई मेट्न पाएकोमा
केही सुगम र सहज बाटो भेट्न पाएकोमा
उमंगित बनाउँथे मन
नयाँ जोस जाँगर भरेर तमाखुमा
थरीथरीका बटुवाहरू
आफ्ना अनुभव साटासाट गर्थे
वृद्धहरू युवालाई इतिहास पढाउँथे
युवाहरू वृद्धलाई आफ्ना चाहना बताउँथे
त्यो थकान मेट्ने चौतारो मात्रै थिएन
वरपीपलको शीतल छहारी मात्रै थिएन
साक्षी थियो इतिहासको
पैरवी थियो वर्तमानको
उद्घोष थियो भविष्यको
विडम्बना
त्यो चौतारो भत्किएसँगै
सुखदुःखको संगम स्थल भत्किएको छ
सङ्घर्षहरूको प्रतिफल भत्किएको छ
पुस्ताहरु बीचमा संवाद भत्किएको छ
आपसी विश्वास र समझ भत्किएको छ ।
चौतारो भत्किए पछि
बटुवाहरू फिरन्तेहरुसँगैछिरल्लिएका छन्
थकान मेट्न नपाएर चिडचिडाएका छन्
गन्तव्यमा पुग्न नसकेर हडबडाएका छन्
असन्तोष र कुण्ठाको भारी बोकेर लडखडाएका छन्।
अचेल फिरन्तेहरु शीतलता खोज्दै
त्यही भत्किएको चौतारोमा आउँछन्
निराशाको लामो स्वास फेर्छन्
नेपाल खोज्छन् विश्वमानचित्रमा
युट्युब, गुगल र सामाजिक सञ्जालमा
तुलना गरेर देशलाई परदेशसँग
च्याउरिएका मरीच जस्तै अनुहार बनाउँछन् ।
थर ठेगान नभएका अपरिचितहरू त्यही आउँछन्
हान्ने गोरुले झै आपसमा नजर जुधाउँछन्
इतिहास बिर्सिएर
बर्तमानलाई धिक्कारेर
‘हाम्रो भविष्य’ शीर्षकमा
गजडीहरुले फन्टुस गफ लडाउँछन् ।
भत्किएको चौतारो चिन्नुपर्छ
इतिहासका तथ्यहरूलाई जोडेर
वर्तमानका सत्यहरुलाई थपेर
भविष्यको गन्तव्य देखिने गरि
हामीले बनाउनै पर्छ
एउटा नयाँ चौतारो ।