काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) केन्द्रीय अनुशासन आयोगको बैठकले गैर अनुशासित, विधान र कम्युनिष्ट आचरणको विपरित हुने खालका व्यक्तिवादी, अमर्यादित, अपारदर्शी तथा पार्टी र आन्दोलनलाई अहित हुने ब्यबहारप्रति ध्यानाकर्षण गराएको छ ।
आयोगको २०८० जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न पाँचौं पूर्ण बैठकले त्यस्ता खाले गतिविधिहरू कहीं कतै देखाइएमा, देखिएमा यस केन्द्रीय अनुशासन आयोगले त्यसलाई तत्काल नोटिसमा लिई विधान अनुसार कारबाहीको थप प्रकृया अघि बढाउने निर्णय समेत गरेको छ ।
आयोगले कम्युनिष्ट पार्टीको मर्यादा आचरणलाई समेत ध्यानमा राख्दै त्यस्ता प्रवृत्ति र व्यवहार कहीं कतै पनि नदेखाउन र कमिटीका अरु सहयोद्धामा पनि त्यस्तो कुरा प्रकट हुने अवस्था सिर्जना हुन नदिनका लागि सहयोग गर्न नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का सबै तह र जिम्मेवारीमा रहेका नेता, कार्यकर्ताहरु समक्ष यो आयोग सार्वजनिक आह्वान गरेको छ ।
बैठकले एउटा अनुशासित र लोकपृय कम्युनिष्ट पार्टी निर्माणका लागि निम्न अनुसारका प्रतिवद्धताहरूलाई पारित गर्दै त्यसलाई सम्पूर्ण पार्टी पंक्तिले आफ्नो व्यवहारमा लागू गर्न निर्देशन गरेको छ ।
बैठकमा आयोगका सदस्यहरुले आफू बसोबास गरिरहेको भौगोलिक क्षेत्रमा हाम्रो पार्टी कामको अवस्था र पार्टी अनुशासन पालनाको अवस्था के कस्तो रहेको छ भन्ने वारेमा रिपोर्टिङहरु प्रस्तुत गर्नुभएको केन्द्रीय अनुशासन आयोगका सदस्य डा. बालचन्द्र मिश्रले बताउनु भयो ।
बैठकले एउटा अनुशासित र लोकपृय कम्युनिष्ट पार्टी निर्माणका लागि हामी भ्रष्टाचार गर्दैनौ र भ्रष्टाचारीलाई पनि छाड्दैनौं । हामी राजनीति गर्छौ समाज सेवाको लागि ,देशलाई समृद्ध पार्ने राष्ट्रिय स्वार्थ पुरा गर्न ,जनताका सुख दुःखमा साथ दिन , राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्ने जस्ता प्रतिवध्दताहरुलाई समेत पारित गर्दै त्यसलाई संपूर्ण पार्टीपंक्तिले आफ्नो ब्यबहारमा लागू गरेर देखाउन निर्देशन गरेको छ । यस्तै पार्टीका नेता र कार्यकर्ताहरुका आचरण र व्यवहारहरुमा आर्थिक पारदर्शितामा जोड दिन्छौं ,मादक पदार्थजन्य विक्रितीहरुबाट मुक्त रहनेछौं ,लैङिगक विभेद, जातीय विभेद हुन दिंदैनौं ,हरेक काम र व्यवहारमा गरीब, निमुखा र असहाय जनताको पक्षधरता लिन्छौं जस्ता विषयहरुलाई कडाइका साथ लैजाने निर्देशन गरेको छ ।
यस्तै बैठकले केही समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ । जसमा भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचारजन्य सबै प्रकारका आपराधिक क्रियाकालपमा संलग्न जुनसुकै ब्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही अघि बढाउन संबन्धित निकायसमक्ष जोडदार माग गरेको छ । बैठक नेपालको पश्चिम तथा दक्षिणका सीमानाहरुमा भारतीय पक्षबाट पटक पटक भइरहने हस्तक्षेपको कडा भत्सर्ना गर्दछ र नेपालको भनी प्रमाणित भइसकेको लिपुलेक लगायत कालापानी नदीको मुहान स्थलबाट भारतीय फौज अविलम्ब हट्न माग गरेको छ ।
बढ्दो महँगी र कालाबजारीलाई प्रभावकारी रुपमा नियन्त्रण गरी जनताले दैनिक उपभोग गर्ने अत्यावस्यक वस्तुहरुको बजारमा सर्वसुलभ उपलब्धताको लागि माग गरेको छ । त्यस्तै रासायनिक मलखाद तथा उन्नत बीउबिजन किसानहरुलाई समयमै र सर्बसुलभ तरिकाले उपलब्ध गराउन ,माग गरेको अनुसासन आयोगका केन्द्रीय अध्यक्ष शिब बहादुर देउजाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पहिलो दिन आफ्नो महत्वपूर्ण सम्बोधन तथा बैठकका सहभागी कमरेडहरुसँगको अन्तरकृयामा सहभागी हुनुभयो । अध्यक्ष नेपालले आफ्नो संबोधनको क्रममा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र हाम्रो पार्टीले संचालन गरिहेको संगठन सुदृढीकरण विशेष अभियान तथा पार्टीका आगामी कार्ययोजनाहरुका बारेमा प्रकाश पार्नुभयो । उहाले यस केन्द्रीय अनुशासन आयोगले तत्काल जोड दिनुपर्ने केही महत्वपूर्ण कुराहरुका लागि आवश्यक सुझाबहरू पनि दिनुभयो ।