काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिल्लामा बजेट पार्न मन्त्री नै हुनुपर्ने जस्तो देखिएको बताउनु भएको छ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले मन्त्री भएमात्र आफ्नो क्षेत्रमा बजेट पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने गरेको बताउनु भएको हो।
उहाँले भन्नु भयो, ‘मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ। प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ।’
प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा ५५ करोड लैजाँदा आफूले भने बजेट नपाएको भन्दै नेता पाण्डेले बजेट पास गर्न सांसदहरुको सहयोग चाहिने कुरा नबिर्सिन चेतावनी दिनुभयो।
‘मैले प्रधानमन्त्रीसँग र शेरबहादुर देउवासँग सोधेँ तपाईहरुलाई भोट हाल्ने जनता र मलाई भोट हाल्ने जनतामा फरक के छ? तपाईंको निर्वाचन क्षेत्रमा ५५ करोड रुपैयाँ जाने अर्कोको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने मेरो क्षेत्रमा चिल्लै हुने। यस्तो अवस्थाको अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो।
पाण्डेले अगाडि भन्नुभयो, ‘१३८ सांसद भएन भने सरकारले ल्याएको बजेट पास हुँदैन। बजेट पास गर्ने बेलामा सांसद, तर १३८ जना सांसदले सरकारका कुन मन्त्रीले सांसदहरुसँग भेटेर समस्या के छ भनेर सोधेको कुनै रेकर्ड छैन।’
बजेट विनियोजनका विषयमा आफूले राखेको प्रश्नको जवाफ प्रधानमन्त्री र अर्थमन्त्रीले नदिएसम्म बजेट पारित हुन नदिने पाण्डेले बताउनु भयो। ‘यो प्रश्नको उत्तर अर्थमन्त्री र प्रधानमन्त्रीले दिएनन् भने बजेट पास गर्न दिँदैनौं। यो वर्ष नपाए पनि आगामी चार वर्षमा सांसदहरुले बजेट निर्माणमा भूमिका निर्वाह गर्न पाउँछु । सांसदहरुको क्षेत्रमा दिने बजेट समानुपातिक हुनुपर्छ’ उहाँले भन्नुभयो।