काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा बनाएकोमा एमालेलाई सह्य नभएको टिप्पणी गर्नु भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा ‘सम्पर्क सन्देश’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई एमालेले सहन नसकेको बताउनु भएको हो।
अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ। हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा एमालेलाई सहिनसक्नु भएको छ। समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो। ठूलो पार्टीले गर्नुपर्ने हो। तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन।’
त्यस्तै अध्यक्ष नेपालले केपी शर्मा ओली कम्युनिष्ट सरकारलाई ढाल्न लागि परेको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’
अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नु भएको होला, केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’