काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्युँताउने प्रस्ताव गर्नु भएको छ।
शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा ब्युँताउने प्रस्ताव गर्नु भएको हो।
‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवावासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं।’
उहाँले भन्नु भयो, ‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि। ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौं, मेरो उमेर भए म पनि बस्छु।’
अध्यक्ष नेपालले विप्लव समूह, जनता समाजवादी पार्टीलगायत दलसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताउनु भयो। नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैं, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्यौं, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौं भने हामी एउटा मोर्चा बनाऔं, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौं, सडकमा, संसदमा जनताको आवाज उठाऔं, सरकारमा बसेर पनि राम्रो काम गरौं। हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौं।’