अस्ट्रेलिया । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विदेशमा बस्ने नेपालीको देश प्रतिको चिन्ता जायज रहेको बताउँदै सबैको सुझाब र सहयोगको र साथको अपेक्षा राखेको बताउनु भयो ।
पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको आयोजनामा सीडनीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिकता विधेयकको गलत व्याख्या गरिन नहुने बताउँदै अधिकारको खातिर नागरिकता प्राप्ति महत्वपूर्ण उपलब्धि रहेको बताउनु भयो । प्रवासी नेपालीको माग अनुरूप एक पटकको नेपाली सधैँको नेपालीको पहिलो खुट्किलोका रुपमा समेत यो महत्वपूर्ण उपलब्धि रहेको बताउनु भयो ।
अध्यक्ष नेपालले विदेशमा सिकेको शिप र ज्ञानलाई नेपाल लग्न सके सबैभन्दा महत्वपूर्ण उपलब्धि हुने भन्दै पछिल्ला दिनहरूमा विदेशबाट फर्केर थुप्रै युवाहरू कृषि उद्योग र व्यवसायमा संलग्न हुन थालेको शुभ संकेत आफूले पाएको बताउनु भयो ।
सुशासनको अभावमा भ्रष्टाचार मौलाउने गर्दछ । राजनीतिमा पनि मान, मर्यादा अनि इज्जत र प्रतिष्ठा हुन्छ त्यो पनि भुलेर भ्रष्टाचारमा संलग्न हुने अपराधी हुन, उनलाई कारबाही हुनु पर्दछ । मैले धेरै पटक सोधेको पनि छु , यत्रो पैसा कमाएर के गर्नुहुन्छ, उसिनेर नोट खानुहुन्छ भनेर उहाँले भन्नुभयो ।
मुलुकमा सबैबाट सबै कुरा पार लाग्दैन, त्यसैले पनि ब्यवस्था बदलिए पनि अवस्था बदलिन नसकिएको आरोप लाग्ने गर्दछ । तर मुलुकमा परिवर्तनले धेरै कुरा सम्भव भएको छ । त्यसलाई यर्थाथ र तथ्यको कसीमा ढाल्न नसकिएको उहाँको भनाई थियो ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफू अस्ट्रेलिया आएपछि कूटनीतिक र व्यवस्थापन सुधारका विषयमा प्रकाश पार्नु भएको थियो । प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष अच्युत थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष धर्मराज अधिकारीले विदेशी पासपोर्ट बोकेर नेपाली राजनीति र नेतालाई सराप्ने प्रवृत्ति आफैमा ठिक नभएको बताउनु भयो ।
उहाँले गैर आवासीय नेपालीहरूलाई प्रदत्त नागरिकता भोटिङ अधिकार सहितको हुनुपर्ने आफूहरूको माग रहेको समेत बताउनु भयो । प्रवासी एकता मञ्च अन्तराष्ट्रिय समन्वय समितका महासचिव ध्रुव सुबेदीले मुलुकको परिवर्तनका संवाहक कुशल राजनीतिज्ञ माधव नेपालको नेतृत्वले मुलुकको विकास निर्माणमामहत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँको अस्ट्रेलिया आगमनले आफूहरूमा थप उर्जा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ , सामाजिक अभियन्ता गणेश तामाङ , सुमन खरेलले शुभकामना सहित आआफ्ना जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष दुर्गा आचार्य ,उपमहासचिव गणेश केसी, एनआरएएनका कोषाध्यक्ष अनिल पोखरेल, सचिव संन्ध्या शाह, पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मी , मञ्चका सल्लाहकार डा. राजु मानन्धर , भरत पन्त , एनएडीएफका पूर्व अध्यक्ष डिल्ली ढकाल, बालचन्द्र भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।