काठमाण्डौ । भारतको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भूभागहरूलाई समेत भारतीय नक्सामा समेटिएको घटनाप्रति नेकपा ( एकीकृत समाजवादी ) ले आपत्ति प्रकट गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता एवं विदेश विभाग प्रमुख झलनाथ खनालले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी २ मई २०२३ मा भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने नाउँमा लुम्बिनी र कपिलवस्तु जस्ता नेपालका अभिन्न भूभागहरूलाई समेत भारतीय नक्सामा समेटिएको घटनाले सम्पूर्ण देशभक्त नेपालीहरूको गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाउदै आपत्ति प्रकट गर्नुभएको हो ।
खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तु लगायतका क्षेत्रलाई पनि जवरजस्त उक्त नक्सा भित्र पारिएको छ । यो भारतीय सरकारको अनधिकृत कार्य हो । भारतको यो कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भिर चोट पुर्याएको छ र समस्त नेपालीले भारतीय सरकारबाट घोर अपमान महसुस गरेका छन् । भारतको यो कदमले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रहरूले पालना गर्नुपर्ने न्यूनतम मर्मलाई समेत उल्लंघन गरेको र कूटनीतिक अपमान भएको महसुस हामी नेपालीहरूले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी ) भारत सरकारसँग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्याइयोस् ।’
इतिहासको कालखण्डमा दक्षिण एसियाका अधिकांश राज्यहरू ब्रिटिस साम्राज्यवादको कब्जामा हुँदा पनि नेपालीहरूको मातृभूमि नेपाल एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकका रुपमा रहेको जनाउदै विज्ञप्तिमा भनिएको छ ‘दक्षिण एसियामा ४०० वर्ष भन्दा लामो समय ब्रिटिस साम्राज्यवादको औपनिवेशिक तथा दासतापूर्ण शासन रह्यो । त्यो कालखण्ड अघि आजको दक्षिण एसियामा सयौँ स्वतन्त्र सामन्ती राज्यहरू थिए । दक्षिण एसियाका आधिकांश राज्यहरू त्यसरी ब्रिटिस साम्राज्यवादको कब्जामा हुँदा पनि नेपालीहरूको मातृभूमि नेपाल एउटा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकका रुपमा थियो । अझ त्यस बेला नेपाल टिस्टादेखि सतलज नदीसम्म फैलिएको अभिलेख ग्रेटर नेपालको रुपमा इतिहासको अभिलेखमा छँदैछ ।’
विशाल नेपाल माथि ब्रिटिस साम्राज्यवादले आक्रमण गर्दा हाम्रा वीर पुर्खाहरूले २ वर्ष सम्म कठोर सशस्त्र प्रतिरोध संघर्ष गरेर यो मुलुकको स्वतन्त्रतालाई रक्षा गरेको स्मरण गर्दै सारा दक्षिण एसियालाई कब्जा गर्ने साम्राज्यवादीहरू त्यसवेला नेपालसँग सुगौली सन्धि गर्न बाध्य भएको र त्यो सुगौली सन्धिले कायम गरिएको सिमा नै हाम्रो नेपालको सीमाना भएकाले यो सिमाना भित्र हुने कुनै पनि अतिक्रमण नेपालीलाई सह्य नहुने खनालद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
अखण्ड भारत नामको भुअस्तित्व इतिहासको कुनै कालखण्डमा रहेको अभिलेख कँही कतै नरहेको जनाउदै विज्ञप्तिमा भनिएको छ ‘दक्षिण एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, बर्मा, श्रीलङ्का, माल्दीभ्स, पाकिस्तान र भारत लगायतका ८ वटा स्वतन्त्र मुलुकहरू छन् । यी देशहरू संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू पनि हुन । वर्तमान दक्षिण एसियाको यथार्थ यही हो । विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघको अभिलेख तथा हामी सबैको दृश्यमा कुनै अखण्ड भारत नामको देश वा परिचित भूभाग देख्दैनौ ।’
विज्ञप्तिमा लुम्बिनी र कपिलवस्तु मात्र नभै सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, लगायतका सम्पूर्ण नेपाली भूभागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न सचेत गराएको छ ।
नेपाल माथि भइरहेका सबै प्रकारका अतिक्रमण बन्द गर्न आह्वान गर्दै विज्ञप्तिमा दुई देशका जनता बीचमा सदियौँ देखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रकृयालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।
आपत्तिजनक नक्सा लगायतका विषयमा अविलम्ब भारत सरकारसँग उच्चस्तरीय राजनीतिक वार्ता गर्न ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा उक्त नक्सालाई सच्याउन तथा नेपालका राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमान र राष्ट्रियतालाई अक्षुण्ण राख्ने कर्तव्य पालनामा सचेत रहन नेपाल सरकारलाई आग्रह गरिएको छ ।