काठमाण्डौ । प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा नेकपा ( एकीकृत समाजवादी ) पार्टीले १९ बुँदे सुझाव प्रस्तुत गरेको छ ।
जेठ १७ गते देखि हुने आफ्नो चारदिने भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आयोजना गरेको छलफलमा पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले १९ बुँदे सुझाव प्रस्तुत गर्नु भएको हो ।
प्रधानमन्त्रीले आयोजना गरेको पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्र मन्त्रीहरूसँगको छलफलमा खनालले पार्टीको तर्फबाट सुझाव प्रस्तुत गदै सीमा विवादको समाधान , सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको समयसापेक्ष पुनरावलोकन , नेपाली र भारतीय विज्ञ सहभागी रहेको नेपाल-भारत सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन इपीजी ), व्यापार सन्धिलाई समय अनुकुल परिमार्जन, क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट उडान भर्न हवाई रुटको अनुमति, नेपालको उर्जा, पर्यटन, औद्योगिकीकरण, भौतिक पूर्वाधार तथा कृषिको औद्योगिकीकरण र बजारीकरणमा भारतीय लगानी अभिवृद्धि लगायतका विषयहरूमा भारत भ्रमणमा प्रधानमन्त्रीले विशेष जोड दिनु पर्ने बताउनु भएको हो ।
पूर्व प्रधानमन्त्री खनालले पार्टीको विदेश विभागले छलफल गरी तयार गरेको राष्ट्रियहितका १९ बुँदे लिखित सुझाव प्रस्तुत गर्नुभएको विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले बताउनुभयो ।
भारत भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री खनालले प्रस्तुत गर्नुभएको १९ बुँदे सुझाव ( पूर्णपाठमा )
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको भारत भ्रमणको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागबाट दिइएको सुझावहरु
१) कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत नेपालको सिमाक्षेत्रमा रहेको अतिक्रमण र सिमा विवादबारे कुटनीतिक माध्यमबाट समस्या समाधानको पहल गर्ने ।
२) सन् १९५० को नेपाल-भारत शान्ती तथा मैत्री सन्धीको समयसापेक्ष पुनरावलोकन गर्ने । यसबारेमा विगतमा प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणमा, दुई पक्षिय समझदारी भइ कुटनीतिक तहमा कुराकानी समेत प्रारम्भ भएको थियो ।
३) नेपाली र भारतीय विज्ञ सहभागी रहेको नेपाल-भारत सम्बन्धमा गरिएको Eminent Person Group (EPG) अध्ययन प्रतिवेदनलाई अभिलम्ब ग्रहण गर्न भारतीय पक्षलाई आग्रह गर्ने ।
४) नेपाल-भारतवीच कायम रहेको व्यापार सन्धीलाई समयानुकुल परिमार्जन गर्ने र नेपाल-भारतबीच कायम रहेको ठुलो ब्यापार घाटालाई न्युनिकरण गर्ने उपायबारे छलफल गर्ने ।
५) नेपालको क्षेत्रीय-अन्तराष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट अन्तराष्ट्रिय उडान भर्नका लागि सिधा हवाइ मार्ग उपलब्ध गराउन अनुरोध गर्ने । साथै, उक्त विमानस्थलसँग भारतका विभिन्न शहरको सिधा हवाई उडान स्थापित गर्न जोड दिने ।
६) नेपालको उर्जा, पर्यटन, औद्योगिकिकरण, भौतिक पूर्वाधार तथा कृषिको औद्योगिकिकरण र बजारीकरणमा भारतीय लगानी अभिबृद्धी गर्न जोड दिने ।
७) दुई देशबीचको सीमा वारपार हुने तस्करी तथा अनौपचारिक आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने । सीमा क्षेत्र आसपास हुने अपराधिक गतिविधी चोरी, डकैती, मानव तस्करी तथा अन्य संगठित अपराधहरुको नियन्त्रणका लागि समेत उपयुक्त पहल गर्ने ।
८) नेपाल भारतबीचको खुला सिमानामा आवतजावत गर्ने नेपाली र भारतीयहरुको अभिलेख व्यवस्थित गर्न आवश्यक प्रणालीको विकास गर्ने ।
९) लम्पिस्किनलगायतकाकापशुजन्यसंङ्क्रमितरोगहरुनियन्त्रणतथारोकथामकोलागिसहयोगकोअनुरोधगर्ने।
१०) भारतमा काम गरी फर्केर आउने नेपाली श्रमिकहरुमाथि सीमा क्षेत्रमा हुने अनावश्यक झण्झट, ठगी, गुण्डागर्दी तथा सीमा सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीहरुबाट हुने दुर्व्यवहारलाई नियन्त्रण गर्ने ।
११) पञ्चेश्वर परियोजनाको कार्यान्वयन दुई पक्षलाई लाभ हुने गरी यथाशीघ्र सञ्चालनमा ल्याउन जोड दिने ।
१२) नेपालको पूर्व पश्चिम रेलमार्ग र काठमाण्डौ-रक्सौल रेलमार्ग निर्माणमा भारतको सहयोगका लागि अनुरोध गर्ने ।
१३) नेपालमा उत्पादित जलविद्युतको विभेद रहित ढंगले भारतीय बजारमा विक्री वितरणको सुनिश्चित गर्न प्रयास गर्ने । यसको लागी दुबै देशलाई लाभ हुने दिर्घकालिन उर्जा खरिद बिक्रिको समझदारी कायम गर्न प्रयत्न गर्ने ।
१४) नेपालबाट बङ्गलादेश विद्युत निर्यात गर्न भारतीय प्रसारण लाईनको प्रयोग गर्नका लागि भारतलाई अनुरोध गर्ने । साथै उर्जा विकास र वितरणको लागि नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय साझा समझदारी कायम गर्न पहल गर्ने ।
१५) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजना गर्ने विषयमा रहेको वर्तमान गतिरोध अन्त्य गर्ने र सार्क लगायत अन्य क्षेत्रीय संगठनहरुको प्रभावकारिता बृद्धि गरी आपसी सहयोग विस्तार गर्न जोड दिने ।
१६) लामो समयदेखि राष्ट्र बैंकसँग मौज्दात रहेको ५०० र १००० को भारतीय नोटलाई सटही गर्ने सुविधा प्रदान गर्न अनुरोध गर्ने ।
१७) नेपाल-भारतबीच टेलिफोन महसुलमा रहेको फरक दरलाई एकरुपता कायम गर्ने र शुल्क कटौतीमा जोड दिने ।
१८) नेपाल-भारतबीच रहेको सांस्कृतिक सम्बन्धलाई मजबुत तुल्याउने र धार्मिक तथा सांस्कृतिक पर्यटनमा जोड दिने । बुद्ध सर्किट लगायत नेपालका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रलाई भारतीय धार्मिक पर्यटनसँग जोड्न पहल गर्ने ।
१९) सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकलौटी ढंगले बनाएको बाँधले नेपालको तराई क्षेत्रमा पारेको डुबानको असरबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउने । साथै, उक्त समस्या समाधानका लागि अविलम्व पहल गर्ने । यो सँगसँगै, यस्ता संरचना निर्माण गर्नु अगाडि दुवै पक्षको समझदारी बनाएर मात्र गर्ने प्रणाली विकास गर्न जोड दिने ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:२२