भैरहवा, बैशाख १७
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अनुसाशन आयोगका सदस्य आदित्यनारायण कसौधनले स्थानीय तहको विकास र समृद्धिका लागि पार्टीका उम्मेदवारहरुलाई जिताउन अपिल गर्नुभएको छ ।
उहाँले समाजवादीले सही एजेन्डा र स्पष्ट नीति लिएको बताउँदै स्थानीय तहलाई जनअपेक्षाअनुसार संचालन गर्न, समाजवादको लक्ष्यमा पुग्न र सुसाशन कायम गर्न सबै पालिकाहरुमा समाजवादीका उम्मेदवारहरुलाई मतदान गर्न आमनागरिक समक्ष उहाँले आग्रह गर्नुभएको छ ।
शुक्रबार पार्टीको सिद्धार्थनगर नगरपालिका स्तरीय निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै कसौधनले ‘समाजवादीले युवा र महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउन चाहेको बताउनु भयो । हामीले उम्मेदवारहरु पनि त्यस्तै किसिमले बनाएका छौं । अब युवाले नै मुलुकको नेतृत्व गर्नुपर्छ । त्यसका लागि हाम्रो उम्मेदवारलाई मतदान गर्न म नगरबासीलाई आग्रह गर्छु ।’
कसौधनले युवाहरुको स्पष्ट नीति र योजनाले नगरलाई विकसित बनाउन सकिने जनाउनु भयो । उहाँले कार्यकर्तालाई समाजवादीका एजेन्डा लिएर घरघरमा जान आग्रह समेत गर्नुभयो ।
मतदातालाई सही एजेन्डा छुट्याएर मात्रै मतदान गर्न अनुरोध गर्दै कसौधनले ‘हाम्रा उम्मेदवार हेर्नुहोस्, हाम्रो एजेन्डा पढ्नुस र मतदान गर्नुस् ।’ उहाँले आफूहरुले गर्न सक्ने काममात्रै लिएर जनता समक्ष जाने बताउँदै झुट्टा आश्वासन कहिल्यै नबाँड्ने बताउनु भयो ।
समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य डा.ऋषिराम शर्माले नगरमा सबै क्षेत्र बुझेको, स्पष्ट नीति, योजना भएको र लामो समय राजनीतिमा क्रियाशील युवा कुलेन्द्र पुनलाई मेयरको उम्मेदवार बनाएको बताउनुभयो ।
मेयरका उम्मेदवार कुलेन्द्र पुनले सक्षम नेतृत्व नहुँदा सिद्धार्थनगरले चाहेजति विकास गर्न नसकेको भन्दै । ‘यहाँ हरेक क्षेत्रमा समस्या छन्, चाहे त्यो, शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास होस्’, उहाँले भन्नभयो ।
‘यी क्षेत्रको राम्रो र एकीकृत विकास गर्न मसँग स्पष्ट योजना छ । त्यसैले मलाई नगरबासीले मतदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
उहाँले नगरमा पार्किङ, छाडा चौपाया र फोहोरमैला व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको बताउँदै आफूले जिते पहिला यी समस्या समाधानमा लाग्ने भन्दै आफू नगरका समग्र युवाहरुको प्रतिनिधित्व गरेर उम्मेदवार बनेको बताउनुभयो । ‘युवाहरुका धेरै चाहना छन्, ती चाहना पूरा गर्न म समक्ष छु’, युवालाई सीप विकास, खेलकुद, रोजगारी प्रदानमा आफ्नो विशेष प्राथमिकता रहने उहाँले बताउनुभयो ।
धेरै उम्मेदवारहरुले मतदातालाई झुटा आश्वासन मात्रै बाँडेको बताउँदै पुनले आफूले गर्न सक्ने र नगरबासीको जनजीविकासँग सरोकार राख्ने योजना मात्रै अघि सारेको बताउनुभयो ।
प्रचार कार्यालय उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य उमा काफ्ले, पार्टी जिल्ला सचिवालय सदस्य तारापति भण्डारी, नगर कमिटी अध्यक्ष रामबहादुर बस्नेत लगायत विभिन्न वडाका वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवार, पार्टी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु एवं जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।