वीरगन्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै देशको नागरिकको नक्कली पहिचान अगाडि सारेर राजनीतिलाई कमाई खाने भाडो बनाएकाहरुलाई कुनै पनि हालतमा छोड्नु नहुने बताउनु भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार वीरगजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको सराहना गर्दै आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको नक्कली पहिचान बनाएर विदेश पठाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्याउने र राजनीतिलाई ठगी खाने पेशाको रुपमा बनाउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याई दण्डित गर्नुपर्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भन्नुभयो , ‘‘भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले कुनै पनि हालतमा खुट्टा कमाउनु हुदैन, भुटानी शरणार्थी प्रकरणमा मात्रै होइन, अन्य कुनै पनि काममा भ्रष्टाचार गरेका जो कोहीलाई पनि दण्डित गर्नुपर्छ,’’ उहाँले अगाडि थपे, ‘कोही पनि निर्दोष फस्नु हुँदैन, तर दोषी उम्किनु भएन ।’’ ‘‘हामीहरू भ्रष्टाचार बिरोधी महाअभियानको साथमा छौ, अध्यक्ष नेपालले भन्नुभयो, ‘तर यो देश किन पछाडि परेको रु, किन यो देशमा सबै खालका बिकृतीहरु विद्यमान छ मिटर ब्याजीको शोषणमा जनता मारमा परेका छन् । जनताले यो सबैको आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’’
अध्यक्ष नेपालले सरकारी कामकाजमा लापरवाही, भ्रष्टाचार, अन्याय, अत्याचार लगायत समाजमा रहेका सबै खालका विकृति र विसंगति विरुद्ध आम जनतालाई जगाउँदै राजनीति दलले अग्रणी भूमिका खेल्नु पर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनु भयो ।
उहाँले सरकारको नेतृत्व गरिरहेको बतर्मान गठबन्धन दृढताका साथ अघि बढ्ने दाबी गर्दै संविधान जोगाउने र संघीयताको पक्षपोषण गर्दै देशको विकासको लागि एकताबद्ध भएर निर्माण गरिएको गठबन्धन रहेको बताउनु भयो ।