काठमाडौं ,बैशाख १६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई राष्ट्रिय पर्यटन पुनरुत्थान कार्यक्रमले प्रतिवेदन’ हस्तान्तरण गरेको छ। पर्यटन मन्त्री आलेले प्रतिवेदन बुझ्दै नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन के कस्ता काम गर्नुपर्छ त्यसका लागि सरकार र निजी क्षेत्रले सार्थक रूपमा साझा प्रयत्न गर्नुपर्ने बताउनु भएको छ ।
मन्त्री आलेले वायु सेवा कम्पनीहरूलाई नेपाल भित्र उडान गर्न पर्यटकहरूलाई नेपाली सरह शुल्क लिने र समयमा नै उडान गर्ने सुझाव दिनु भएको छ ।
हामीले राति १२ बजे सम्म विमानस्थल खुल्ला रहने व्यवस्था मिलाएका छौं,” मन्त्री आलेले भन्नु भयो । मन्त्री आलेले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पर्यटकहरूलाई सुविधा दिलाउने बारे गृह, अर्थ र पर्यटन मन्त्रालय बिच समन्वय गर्न लागि परेको बताउनु भयो ।
विमानस्थलमा रहेका सरकारी निकाय जस्तै, अध्यागमन, भन्सार लगायतमा सरलीकृत सेवा प्रदान गर्न अन्तरमन्त्रालय समन्वय, सरसफाइमा विशेष ध्यान दिँदै समयमै सेवा दिने गरी वायु सेवा प्रदायक कम्पनीले पनि तालिका तय गर्नुपर्ने मन्त्री आले बताउनु भयो ।
मन्त्री आले भौगोलिक क्षेत्रमा आधारित लक्षित पर्यटन बजारको प्राथमिकता पहिचान गर्दै सरकार त्यसमा क्रियाशील हुने बताउनु भयो ।
पर्यटन पुनरुत्थान प्राविधिक समितिले शुक्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक समारोहमा प्रतिवेदन बुझाउदै समितिका संयोजक राजाराम गिरीले कोभिड १९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको बेला उक्त समिति गठन गरिएको बताउनु भयो ।
गिरिले झन्डै ढाई महिना लगाएर पर्यटन व्यवसायीहरूसँग तथा विज्ञहरूसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरिएको बताउनु भयो । पर्यटन पुनरुत्थान प्राविधिक अवसरमा भाष्कर राजकर्णीकारले नीतिगत सुधारको बारेमा धारण राख्नु भएको थियो । क्यापटेनसुरज भण्डारीले यातायात तथा नागरिक उड्डयनको बारेमा विचार राख्नु भयो । याङकिला शेर्पाले नयाँ पर्यटक गन्तव्य प्रवर्द्धनको बारे नीतिगत विचार राख्नु भयो । सुमन उदासले अन्तराष्ट्रिय तथा ब्रान्डिङको बारेमा नीतिगत विचार प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सुरेश सिंह बुडाले पर्यटन प्रवर्धन सम्बन्धमा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
मार्चले दिएको सकारात्मक सन्देश
यद्यपि, पछिल्ला दिनमा नेपाल भित्रने पर्यटकको सङ्ख्यामा प्रगति भइरहेको छ। कोरोना महामारीदेखि सबभन्दा बढी पर्यटक सन् २०२२ को मार्च महिनामा नेपाल आएका छन्।
यसबाट पनि नेपाल पर्यटकका लागि आकर्षणको केन्द्र छ, रहन्छ र रहिरहनेछ भन्ने स्पष्ट भएको छ। अध्यागमन विभागका अनुसार सो महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन्। जनवरीमा कूल १६ हजार ९७५ जना, फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएको पाइएको छ।
पछिल्ला दिनमा रूस र युक्रेन संघर्षका कारण पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक असर परेको छ।
केही देशमा कोरोना कहर अझै पनि बाँकी नै छ। बिहानले दिनको संकेत गर्छ भने जस्तै, सन् २०२२ सुरू भएदेखि नै सकारात्मक बन्दै गएको नेपालको पर्यटन बजार अझै विस्तारित भएर जाने अवस्था सिर्जना भएको छ।
सरकारले पनि पर्यटन क्षेत्रलाई थप विस्तार गर्न, बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन तथा उनीहरूलाई राम्रो आतित्थता प्रदान गर्नका लागि चरणबद्ध रूपमा कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ।
सरकारकै चासो र खुकुलो नीतिका कारण पर्यटकको आवागमनमा वृद्धि भइरहेको र विश्व बजारमा नेपाल खुला छ भन्ने सन्देश गएका कारण पनि अवस्था सहज बन्दै गएको छ।
सहज बन्दै गएको वातावरणलाई थप विस्तार र विकसित गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा सन् २०२२ जनवरी २७ मा ‘राष्ट्रिय पर्यटन पुरूत्थान निर्देशक समिति’ गठन गरियो।
समिति मातहत रहने गरी पर्यटन पुनरुत्थान प्राविधिक समितिसमेत गठन गरियो। सोही समितिले आज पर्यटनमन्त्री आलेलाई ‘राष्ट्रिय पर्यटन पुनरुत्थान कार्यक्रम प्रतिवेदन’ हस्तान्तरण गरेको छ।
यस वर्ष पाँच लाख, अर्को वर्ष १० लाख पर्यटक
समितिले तयार पारेको प्रतिवेदन अनुसार सन् २०२२ मा कूल पाँच लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ।
यस्तै, सन् २०२३ मा कूल १० लाखभन्दा बढी पर्यटक नेपाल आउने वातावरण तयार पारिनेछ। पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका सात लाख मानिसलाई पुनः यसमा जोडिनेछ।
त्यस्तै, सात वटै प्रदेशमा गुणस्तरीय तालिम तथा सीप विकासका लागि विशेष अभियान सञ्चालन गरिनेछ। प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार नेपालको दीगो पर्यटन विकासका लागि नयाँ अभियानका साथ ‘रि ब्राण्डिङ’ गर्न आवश्यक छ। त्यसले देशलाई एक प्रमाणिक, समावेशी र प्ररेणादायी मन्तव्यको रूपमा पुनः स्थान दिन्छ।
पर्यटन ऐन, २०३३, नागरिक उड्डयन ऐन जस्ता प्रचलित ऐन वा नीतिहरू परिमार्जन गर्न आवश्यक रहेको ठहर गर्दै समितिले सिल्भर भिसाको व्यवस्थाका अलावा माइस टुरिजमलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ।
अन्तर्राष्ट्रिय बैठक, प्रोत्साह सम्मेलन एवं प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना नेपालमा आयोजना गर्नका लागि प्रेरित गर्नुपर्ने समितिको सुझाव छ।
पर्यटकीयस्थलमा सुधार, आधुनिक वासरूम, सरसफाइ र उचित व्यवस्थापनलगायत नेपाल छिर्नेबित्तिकै प्राप्त गर्ने सेवामा गुणात्मक सुधार गर्नुपर्ने देखिन्छ।
विमानस्थलमा रहेका अध्यागमन कार्यालयमा द्रुत सेवा, एटिएम, सिमकार्ड तथा मानवीय व्यवहारसमेत सहज हुनुपर्ने र पर्यटकमैत्री हुनुपर्ने, पर्यटन सेवाको गुणस्तर, आतिथ्य र रेष्टुरेन्टको स्तर वृद्धि, खोजी नगरिएका दुगर्म क्षेत्रमा नयाँ गन्तव्य र सुविधाा, अनुसनधान, पहिचानका साथै ती मार्गको अनुमति तथा आधारभूत पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने समितिको ठहर छ।