पोखरा फाल्गुन २८
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई आतङ्कको संज्ञा दिनुभएको छ ।
एकीकृत समाजवादीले कास्कीको क्षेत्र नम्बर १ मा आयोजना गरेको प्रथम क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रवक्ता खतिवडाले अधिकारी कास्कीमा आतङ्कको प्रतिविम्ब भएको बताउनुभएको हो ।
कास्कीका जनताले धेरै कुरा व्यवहारमा भोग्दै गएको बताउँदै उहाँले अधिकारीको नाम उल्लेख नगरी भन्नुभयो, ‘यो ठाउँमा त्यस्ता पात्र बस्नुहुन्छ जसलाई तपाइले आतङ्कको प्रतिविम्बको रूपमा चित्रित गर्न सक्नुहुन्छ ।
पार्टी भित्रको आतङ्क, कमिटी भित्रको आतङ्क, मानिसलाई निषेध गर्न कति हदसम्म सकिन्छ भन्ने कुराको आतङ्कको चित्र तपाइले यो ठाउँमा पाउनुहुन्छ । सम्भवतः उहाँ विगतमा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो ।’ प्रवक्ता खतिवडाले आफूहरूले दुखले निर्माण गरेको पार्टी भित्र अर्कैले सुखका लागि भोग चलन गर्न प्रयोग गरेको ठाउँ कास्की बनेको बताउनुभयो ।
एमाले हुँदा देशै भरि कार्यकर्तालाई निषेध गरेर समाप्त पारिएको र मुठ्ठीभर व्यक्तिहरूले त्यसको लाभ लिएको जिल्ला कमिटी कहाँ हो भनेर कसैले प्रश्न गरे त्यसको एक मात्र उत्तर कास्की आउने उहाँको भनाई थियो ।
नेकपा एकीकृत समाजवादी बनाउन सबैले विद्रोह गरेर साहस गरेको भएपनि चरम अत्याचारका विरुद्ध उत्रिने साहस कास्कीका जनताले देखाएको भन्दै उहाँले भेलामा सहभागीहरूको तारिफ समेत गर्नुभयो । एमालेको चरम अत्याचार र अवरोधका बाबजुद कास्की जिल्लामा नेकपा एसमा ठुलो संख्याले पार्टी सदस्यता लिएको र जनताको समेत साथ समर्थन बढ्दै गएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
नेकपा एस देशभर चुनाव लड्न सक्षम भएको उल्लेख गर्दै उहाँले स्थानीय चुनावमा प्रतिगमनका विरुद्ध लडेका दलहरूका बिचमा गठबन्धन हुने र नेकपा एसबाट उठ्ने सबै उम्मेदवारले जित्ने गरी अघि बढ्ने बताउनुभयो ।
एमसीसीका सम्बन्धमा नेकपा एसले लिएको अडानका कारण संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन भएको भन्दै अनुमोदनले नेपाल सरकारले राष्ट्र हित विपरीत हुने देखेमा तत्काल खारेज गर्न सक्ने बताउनुभयो ।