पुर्वको लालीसँगै सँधै मुसुक्क मुस्काउने सुनौलो सगरमाथा, आज आफैँसँग लजायो आफू उभिएको धर्तिको ऋण देखेर,
चलायमान विशाल मनोहर रारा निकैबेर बडा स्निग्ध बन्यो, त्यो सिंहदरबारको एक तमासाको दोषारोपणको भाषणबाजी घिन देखेर,
नाच्न छाडे मयुरहरु, वेग हान्न छाडे मुनालहरु, चर्न मान्दैनन् कस्तुरीहरु, कायलछन् कर्णाली बासीहरु साल्ट ट्रेडिङका दोकान अघि,
टक्टक्यायो हातखुट्टा लुम्बिनीले आफ्नै अघिल्तिर असत्यको बिजय भएको सत्य कथानक चलचित्रको भयावह सिन देखेर,
एकटकले माछापुच्छ्रेलाई हेरिरह्यो र भित्र भित्रै आफैलाई बेस्मरी सराप्यो फेवातालले आफ्नै सामुन्नेको कहालीको दीन देखेर!
सुध्र न हो अब त! लोकलाज अनि चराचर जगतको खातिर, लाज आफैं लजाइसक्यो बाँकी नै रहेन लेख्न अनि देख्नलाई ,
सुनको जलहारीले समेत सहजै सरम छेक्न छाडिसक्यो भोलेनाथको, धर्मका नाउँमा धर्म छाडेर मन्दिर अघि ढाँट्ने धर्महिन देखेर,
(भावनाको सन्दूक संग्रहबाट)
रामजी तामाङ्ग बिर्ख
ओखलढुङ्गा