रसायनयुक्त बजारे क्षारका मिश्रित पाउडरहरुले खायो अमला, जरेअमिलो, नाइटे, काभ्रो, निबुवा र मतान पछाडिको जिर्ण कोलको अस्तित्व।
अनि खायो मिनिरल वाटरका प्लास्टिक बोतलहरुले तामाको लोटा र आम्खोराहरुमा पिइने जरुवाको चिसो पानीको परितुष्ट अजर अस्तित्व।
खायो बिजुली मिलहरुले ढिकी, जाँतो, घट्टा र ओख्लीहरुको पौराणिक महत्त्वको अस्तित्व।
सर्लक्कै खायो भोर्लापाते टपराको ग्रामीण अस्तित्व कागज र प्लास्टिकका कोपराहरुले।
कृषि आधुनिकताको मेहेरोमा खायो महेन्द्र, स्वराज र सोनालिका ट्याक्टरहरुले ती हल्लुँड(नारा), हलो, र (लेड्का) दाँदेहरुको अमर अस्तित्व।
टिलिक्कै टल्किने रङ्गिन जस्तापाताहरुले खायो छवाली, फल्याक, झिँगटी अनि टायल र ढुङ्गे छानोहरुको अस्तित्व।
ती फलामका बेतोड अजंगा गेटहरुले खायो बाँसका ती तगारोहरुको विस्वासको अस्तित्व।
खायो उसैगरी नाइलनका रसिहरुले अर्गेलि, चोयाँ अनि बट्नेसो कतुवा तोस्रोको तानहरुको परम्पराको अस्तित्व।
छाडेन केही, खायो मान्द्रो सुकुल गुन्द्री र खोसेला पातको पिर्का र चकटीको अस्तित्व प्लास्टिकका ती बिरङ्गी फ्लोर म्याटहरुले।
अनि खायो ती दारका ठेकी र भिउँट/ आरी अनि हर्पे र सिङमाङहरुको रैथाने पौरखी हस्तकलाको अस्तित्व प्लास्टिकका डिब्बाहरुले।
निरन्तर खायो एकपछि आर्को गर्दै आस्ते आस्ते खाई नै रह्यो समय कालसँगै सबै मज्जैले खायो,
खायो पोलिस्टर र जिन्सका कपडाहरुले सुती, (खद्दर) खाँडिका दौरा, धुस्सा, राडीपाखी, अनि घरबुनाको चोली, बुट्टे जामाको घरेलु अस्तित्व।
खायो खच्चर र डिजेल गन्हाउने राइस मिलका हात्ती ब्रान्ड, कृष्ण ब्रान्ड, त्रीशक्ती अनेक थरि ब्रान्डका चामलले मकै च्याँख्ला कोदो फापर अनि उवा र जुनेलोको अर्गानिक अस्तित्व।
खायो ती कर्कस अस्लिल पश्चिमा र्यापहरुले सालैजु, सेलो, हाक्पारे, र्झ्याउरे भाकाको लोक सांस्कृतिक पहिचानको अस्तित्व।
खायो साकेला शिली, बालन, सोरठी अनि कौरा र देउडा अनि रोधिघरको अस्तित्व डिस्को र हिपहप ब्रेक डान्सहरुले।
चिँ मुसि चिँ, टोपिचोर, डन्डिबियो, बाघचाल अनि एकखुट्टेहरुको अस्तित्व खायो पबजी, फ्रीफायर र क्यान्डिक्रसहरुले।
खायो ड्रमसेट, अक्टोप्याड, पियानो अनि इलेक्टि्रक गितारहरुले मुर्क्चुङ्गा, खैँजडी, मादल, बिनायो, टुङ्ना, डम्फु, सारंगी, सनहि, तुरही र मुरली ढोल झ्याम्टाहरुको मौलिक अस्तित्व।
शनै:शनै समयसँगै खायो एकले अर्काको प्रादुर्भावको अस्तित्व, निरन्तर खाइ नै रह्यो अजिर्ण,
खायो अनि थोरै अहंकारले अभिमानको अस्तित्व, खायो झिनो इर्ष्याको क्षोभले उद्वेलनको अस्तित्व। खायो अहम् घमण्डले तमाम् उपलब्धिको अस्तित्व।
आखिर खाएरै सकिने रहेछ क्यारे सबै! झन मसँग त फगत एक थान कोरा जिन्दगी न छ।
यद्यपि खाएँ मैले पनि अविच्छिन्न दुख हन्डर अनि, सास्ती र संघर्षका पकित्तो पकवानका घुम्तिहरु,
मैले खाएको पनि उहि सकिन कै लागि त होला! आखिर जे छ त्यहि सकिने न रहेछ, भैइ गो! सकियोस् अब,
(भावनाको सन्दूक संग्रहबाट)
रामजी तामाङ्ग "बिर्ख" -ओखल्ढुङ्गा