काठमाडौ । नेकपा (एकीकृतसमाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीको हुनुपर्ने माग गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेट गर्दै उक्त माग राखेको हो । अनेरास्ववियूले प्रधानमन्त्री समक्ष पेश गरेको ज्ञापनपत्रमा सो माग उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री दाहाल समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अनेरास्ववियूले स्ववियु निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग राखेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताउनु भयो ।
ज्ञापन पत्रमा स्ववियु नहुँदा विश्वविद्यालयमा आवधिक निर्वाचन नहुँदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वविद्यालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परिक्षा प्रणाली अव्यवस्थित भएकोले श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेको बताईएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकाय सँग छलफल गरी निर्वाचन प्रणाली कस्तो हुनुपर्ने धारणा बनाउने बताउनु भएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिनुभयो ।