काठमाडौं । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पुँजीवादले शिक्षा क्षेत्रलाई आफ्नो नियन्त्रण गर्न लगानी गरिरहेको बताउनु भएको छ । लेबनानमा जारी विश्व प्रजातान्त्रिक युवा महासंघको २१ औ साधारण सभामा सम्बोधनका क्रममा पराजुलीले अमेरिकातर्फ लक्षित गर्दै पुँजीवादविरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताउनुु भयो ।
संसारभरिका अल्पविकसित देशमा पुँजीवादी हस्तक्षेप बढिरहेको उहाँको भनाई थियो। विद्यार्थी संगठनका तर्फबाट सभामा धारणा राख्दै पराजुलीले भन्नुभयो , ‘पुँजीवाद हाम्रो साझा शत्रु हो। पुँजीवादको कुरूप अनुहारबाट हाम्रा अल्पविकसित देशका जनता निकै प्रभावित भएका छन्। दलाल पुँजीवादको एकाधिकारका कारण हाम्रा आधारभूत अधिकारहरू हनन भएका छन्। उत्पादनका साधन पुँजीवादको हातमा छन् ।
उत्पादन प्रणालीमा समान स्वामित्व र वितरण छैन। सबै स्रोतसाधन पूँजीवादले कब्जा गरेको छ। राष्ट्रका श्रोत साधनहरू सीमित संख्यामा जनताको नियन्त्रणमा छन् र बहुसंख्यक जनता त्यसबाट वञ्चित छन्। यसले समाजमा विशेष गरी श्रमजीवी वर्गका लागि असमानता, विभेद, उत्पीडन सिर्जना गर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, सामाजिक सुरक्षालगायतका मौलिक हकको प्रत्याभूति गर्न नसकेकाले विद्यार्थीको भविष्य अनिश्चित बन्दै गएको छ। पुँजीवादले मानवीय मूल्यहरू बिर्सन्छ र मानव जीवनलाई वस्तुको रूपमा लिन्छ।’
एक विद्यार्थी नेताको हैसियतमा आफू साम्राज्यवाद र नवउदारवादी संस्थाहरू जस्तै विश्व बैंक, आईएमएफ, एडीबी आदिद्वारा नियन्त्रित शिक्षा प्रणालीमा केन्द्रित रहेको उहाँको भनाई थियो । विश्व बैंकले विश्वविद्यालयहरूलाई अनुदान दिएर नवउदारवादी नीतिअनुसार पाठ्यक्रम विकास गर्ने उहाँको भनाइ थियो ।
त्यसरी विकसित पाठ्यक्रम साम्राज्यवादीको हितमा बनाइने र विद्यार्थीलाई उनीहरूमा निर्भर बनाइनु शिक्षा क्षेत्रको डरलाग्दो चुनौती भएको उल्लेख गर्नुभएको छ । मंगलबारसम्म चल्ने सभामा १२० देशका १५० भन्दा बढी संगठनका पदाधिकारी सहभागी छन्।