काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा राजनीतिक उपलब्धीको रक्षा, राजनीतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले पार्टीले अवलम्बन गरेका आदर्श अवलम्बन गर्दै जनअधिकार स्थापनाका लागि सडक सदनबाट पनि जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेता खनालले वामपन्थी सरकार बन्ने आधार एमाले नेतृत्वले तोडेकोले त्यो असम्भव रहेको भन्दै वामपन्थी सरकारको कुरा उठेपनि अहिले त्यसको आधार खडा नभएको बताउनु भयो । वाम लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै अहिले सबैभन्दा बढी रहेको खनालले बताउनु भयो ।
‘अहिले हङ्गसंसद् छ । कुनै पनि पार्टीको बहुमत छैन । जनताले कुने ठूला पार्टीलाई पत्याएनन् । मिलेर काम गर एक आपसमा सल्लाह गरेर काम गर भन्ने म्याण्डेट दिए । चाँडोभन्दा चाँडो संसदीय दलका नेता चुनाएर सरकार बनाउने दिशामा सहमतिका साथ अघि बढौं ’, नेता खनालले भन्नुभयो ।
उहाँले थोरै संसद् भएपनि आफ्नो पार्टी धारिलो, तीखो र लक्ष्यगत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नीति र कार्यक्रमका आधारमा सरकारमा जानुपर्छ । हामीले जल्दाबल्दा सवाल राष्ट्रियताका सवाल बुलन्द रूपमा सदनमा उठाउनुपर्ने हुन्छ । थोरै सांसद भएपनि समाजवादी दिशातर्फ अघि बढ्न सकौं । हामी धारिलो, तीखो र लक्ष्यगत ढंगले काम गरौं ’, खनालले जोड दिनुभयो ।
५ वर्षमा गरेको कामका आधारमा आगामी चुनावमा एकीकृत समाजवादी देशको नम्बर १ पार्टी बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेको गुटसँग विद्रोह गरेर आएको पार्टी भएको भन्दै खनालले अवसरवाद र नाता गोता भन्दा क्रान्तिकारी नीति सिद्धान्त लिएर अघि बढ्नुपर्ने औंल्याउनु भयो ।