काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ ।
श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो । अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो ।
उहाँले श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरू क्रियाकलाप अगाडि बढाउन उहाँहरूलाई आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायित्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गनुभयो । त्यस्तै समन्वय र संचार , श्रमिकको अवस्था, डिमान्ड दिने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा काउन्सिलर र श्रम सहचारीलाई जानकारी दिनुभएको थियो । अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगार सम्बन्धी कानुन लगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ । मन्त्रालयले मलेसियाको क्वालालम्पुरको लागि भोलानाथ गुरागाईँ, दक्षिण कोरियाको सियोलको लागि चन्द्रकला चौलागाई ओली र कतारको दोहाको लागि टिकामणी नेउपानेलाई काउन्सिलरका नियुक्त गरेको छ ।
त्यसैगरी श्रम सहचारीमा ताम्रराज काफ्ले आउदीअरेवियाको जेद्दा, दिलप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्द प्रसाद आचार्य ओमान मस्कट र आविदअंसारी संयुक्त अरब इमिरेट्स अबुधाबीको लागि नियुक्त भएका छन् । उनीहरूलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम मूल्याङ्कनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरिएको थियो । श्रम सहचारी र काउन्सिलरलाई मन्त्रालयले ३ दिने अभिमुखीकरण तालिम दिएको छ ।