विराटनगर ।
विराटनगरको कोशी अस्पतालमा ५ सय शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहीबार आयोजित एक कार्यक्रम विच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिनुु भएको छ ।
कोशी अस्पतालको उन्नतिले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भन्नुुभयो , ‘स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई बिरामीले भगवान ठान्ने गर्छन् । तसर्थ उहाँहरुलेविरामीसँग राम्रो व्यबहार , मिठो बोली बचन गर्नु जरुरी छ ।’
संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेश बहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताउनु भयो ।
‘दुई तल्ले बेसमेन्ट सहित भवन आठ तल्ले हुनेछ । ३ वटा इमर्जेन्सी भर्याङ, बेड लिफ्ट, डक्टर तथा सेवा ग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरु , कुरुवा कक्ष, भुकम्प प्रतिरोधी भवन बन्नेछ ।’ आयोजना प्रमुख महर्जनको भनाई थियो ।
३ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत रु. २१ करोड ७,६ लाख ९९ हजार २ सय रहेको छ ।