मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार हो विरोध खतिवडा । उहाँ एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका नेता खतिवडासँग संसदीय राजनीतिको लामो अनुभव छ ।
उहाँको फेरि पनि उम्मेदवारी किन ? आफ्नै चेला एमालेबाट प्रतिस्पर्धी बनेको अवस्थामा चुनावी परिणामको आँकलन उहाँले कस्तो गर्नुभएको छ ? अनि मकवानपुरको विकास र नागरिकको चाहाना सम्बन्धीउहाँसँग के कस्ता योजनाहरू छन् ? उम्मेदवार खतिवडासँग गरिएको कुराकानी -
लामो समयदेखि संसदीय राजनीतिमा हुनुहुन्छ । पाँचौ पटक चुनावी मैदानमा होमिनुभएको छ । मकवानपुरकामतदाताले अब फेरि तपाईँलाई नै किन जिताउनुपर्यो ?
हाम्रो संविधानले पाँच पाँच वर्षमा अद्यावधिक चुनाव तय गरेको छ । कतिपटक सम्म चुनावमा उठ्ने भन्ने कुरा कानूनी प्रावधान छैन । यसैले म जस्तै अन्य उम्मेद्वार पनि उठ्नुभएको यहाँहरुले देख्नुभएको होला । र किन भन्ने कुरा गर्दा स्वभावैले मैले जे जति काम गरेको छु । त्यो आधारबाट मलाई पार्टीले, यहाँका मतदाताले पनि र अहिलेको अवस्थामा भन्ने हो भने गठबन्धनले मलाई चाहेको हो ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ मा शेरबहादुर जी, प्रचण्डजीले म यहाँ भएकाले निर्विवाद समर्थन मलाई रह्यो । गठबन्धनमा कुरा मिलाउँदा अन्य जिल्लामा केही विवाद भएपनि मेरो सवालमा त्यस्तो कुनै विवाद नभएको यहाँलाई थाहा छँदैछ । अहिले पनि जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी ,झोलुङ्गे पुल, सडक हुन् । यी आवश्यकता केही भएका छन् भने यसमा अझै थप्नुपर्ने अथवा पूरा गर्नुपर्ने बाँकी छ । यी आवश्यकतालाई मैले पनि प्राथमिकता दिनेछु । कैलाशको डाँडाखर्क आसपासबाट धादिङ जाने सडक ९८ करोडको कार्य अघि बढाउने, कैलाश र राक्सिराङ गाउँपालिकाको सदरमुकामा अहिलेसम्म पक्की सडक पुगेको छैन । यो दुई गाउँपालिकामा पक्की सडक निर्माण गर्ने काम मैले पूरा गर्नुपर्नेछ ।
चित्लाङमा मदन भण्डारी बहुप्राविधिक विश्व विद्यालयलाई दुई अर्ब दश करोड लगानी गरिसकेको छु । अर्को वर्षबाट पढाई सञ्चालन हुने गरी काम पूरा गर्नुछ । केही अधुरा योजना सम्पन्न गर्ने तथा अरु थप आवश्यकताहरू पूरा गर्दै जाने र नयाँ गाँजालाई मैले नयाँ अभियानको मुद्घाकै रुपमा गएको दुई -अढाई वर्षदेखि उठाइरहेको छु । त्यसलाई मैले निश्कर्षका रुपमा पु¥याउँन लागिपरेको छु । यसैबिचमा संयुक्त राष्ट्रसंघले पनि गाँजालाई लागुऔषधको सूचीबाट हटायो । यसले मलाई अभियानमा थप प्लस प्वाइन्ट भएको छ । पहिला गाँजालाई अफिम, चरेसहरुसंगै राखेको थियो । नेपालको तर्फबाट गाँजा औषधीजन्य बिरुवा हो भनेर हामीले पनि मतदान गयौं ।
अब यहाँ विधेयक बन्ने क्रममा छ । गृह मन्त्रालयले विधेयक बनाइसकेको छ, अर्थ मन्त्रालयले सहमती दिइसकेको छ, कानून मन्त्रालयमा यसको भाषा, शुद्घाशुद्घी हेर्ने क्रममा छ । यो पटकको संसदमा यसलाई ल्याउन सकिएन । केपी ओलीको सरकारकै पालामा मैले यो प्रयत्न गरेको हुँ । उहाँको विपक्षमा भएको कारण उहाँले मेरो प्रस्तावलाई प्राथमिकतामा राख्नुभएन । पछि गठबन्धनको सरकारको बेलामा पनि एमालेले ९ महिना संसद अवरुद्घ गयो ।
अत्यावश्यक प्रकृतिका विधेयक बाहेक अरु प्रवेश गराउँने, छलफल गर्ने वातावरण नै भएन । अन्तिममा असारमा आएर सदन खुलेपछि बजेट आयो । बजेटमा केन्द्रित भएर छलफलहरु बढी भए । साउन, भदौपछि त हामी चुनावमा आइसकेका छौं । यसर्थ, गाँजाको विषयलाई पनि मैले निश्कर्षमा पु¥याउँनुपर्नेछ । निर्वाचन क्षेत्रको जनप्रतिनिधीको नाताले यहाँको आवश्यकताहरु पूर्ति गर्दै जान र विधेयक र विधायकको हिसाबले मैले आवश्यक कानून, नीति, निर्माण गर्ने कुराहरुमा मुख्य रुपमा केन्द्रित हुनलाई मैले पुनः उम्मेदवारी दिएको हुँ ।
मकवानपुुरका लागि चाहिँ तपाईंले के गर्नुभयो ?
मैले अघि भनिसके, चित्लाङको बहुप्राविधिक विश्व विद्यालय निर्माणका लागि दुई अर्ब दश करोड निकासा भइसकेको छ । ९८ करोड लागतमा गोगने-आग्रा–मोहरिया हुँदै धादिङ जाने बाटो निर्माण हुँदैछ । अर्को त्यहीको पकनी हुँदै कैलाशको दक्षिणी भेगतिर आउँने सडकका लागि ४० करोड विनियोजन गरिएको छ । त्यस्तै कैयौ ठाउँमा खानेपानीका ठूला ठूला योजनाहरु धमाधम पूरा भइरहेका छन् ।
थाहा नगरपालिकामा १७ करोड लागतमा खानेपानी योजनाको कार्य सुरु भइसकेको छ । थाहामै अक्सिजन प्लान्ट सहितको अस्पताल आगामी ६ महिनाभित्र निर्माण कार्य सक्ने गरी तयारी भइरहेको छ । तीस करोड लागतमा मकवानपुरको दुर्गमक्षेत्र भीमफेदीको इपा–कोगटे जाने सडक दुई वटा पुल सहित निर्माण सम्पन्न भएर अहिले यातायात सञ्चालनमा आइसकेको छ । यता, बासुदेव मार्गको सडक आमभन्ज्याङबाट बुढिचौर हुँदै सिस्नेरी निकाल्ने कामका लागि रातो किताबमा बजेट छुट्याउने क्रम सुरु गरेको छु । नौ करोड त्यहाँ खर्च भइसकेको छ । अब धेरै काम गर्न बाँकी छ । रजैयाबाट दरदरा हुँदै मसिने चकरी मकरी पुग्ने सडकका लागि रातो किताबमा बजेट व्यवस्था गरेको छु । त्यहाँ कालोपत्रे गर्ने देखि अनेक कामहरु बाँकी छन् । चेपाङलाई उज्यालो भन्ने अभियान मैले सुरु गरेको छु । त्यस अन्तर्गत राक्सिराङमा अहिले पनि पन्ध्र–बीस करोडको काम भइरहेको छ । यसलाई पनि मैले टुङ्गोमा पुयाउँनुपर्नेछ ।
इन्द्रसरोबरलाई पोखराको फेवातालकै तहमा नेपाली तथा विदेशी पर्यटकहरु आउँने गरी अगाडी बढाउने योजना छ । केन्द्र सरकारले एक प्रदेश एक पर्यटकीय केन्द्र भन्ने नीति अन्तर्गत मकवानपुरको इन्द्रसरोबर ताललाई बागमती प्रदेशकै एकमात्र पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने केन्द्र सरकारको योजना छ । यसलाई मैले नै निश्कर्षमा पु¥याउँनका लागि कामहरु गर्नुपर्नेछ । यस्तै, मकवानपुरगढी र आमभञ्ज्याङ् जोड्नका लागि विभिन्न ठाउँमा तीन वटा पक्की पुल निर्माण गरिसकिएको छ । अहिले ती पुलहरुबाट गाडी हिड्न थालिसकेका छन् । आमभन्ज्याङमा अस्पताल पनि निर्माण भइसकेको छ । यता, मनहरीमा म निर्वाचित हुने बेलासम्म राप्ती खोलामा एउटा पनि पुल थिएन । अहिले दुई वटा झोलुङ्गे पुल र तीन पक्की पुल निर्माण भएको छ । यस्तै, सान्नानीटारमा एउटा पक्की पुल सत्र करोड लागतमा निर्माण भइरहेको छ ।
मकवानपुर जिल्लामा काठको पोल विस्थापन गर्दै स्टिलको पोल राख्ने अभियान सुरु गरेको छु । यो काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ । परेवाभीर जस्ता अनेकन् संकटकालीन ठाउँहरुमा बाटो निर्माण हुने क्रम भइसकेको छ । यद्यपी तत्कालीन प्रदेश सरकारले त्यहाँ मान्छे एक दुई जना म¥यो भन्दैमा त्यहाँ बाटो लानु पर्दैन भनेर अभिव्यक्ती दिएपछि त्यो ठाउँ चर्चित भएको थियो । त्यसलाई हामीले सम्पन्न गरेका छौं । अब अझ सहज ढंगले त्यहाँबाट हामीलाई कैलाशतिर जानका लागि सजिलो हुनेछ । यो ढंगबाट खानेपानी, विद्युतीकरण, शिक्षा, स्वास्थ्य लगायत आवश्यक सबै क्षेत्रमा मैले काम गरेको छु । त्यो पनि म लाख, बीस लाख, पचास लाखको कुरा गरिरहेको छैन, करोडौंको कुरा गरिरहेको छु ।
मनहरीको रमौली-प्रतापपुर भन्ने बस्ती आरक्षसंगै राप्ती खोला पारीको यी दुइ वटै वडालाई त्यहाँबाट हटाएर खोला वारि ल्याएर राखियो । उनीहरु अहिले बसेको ठाउँ पनि राप्ती खोला वारी जोखिम रहेकाले पन्ध्र–बीस करोड लागतमा तटबन्ध गरेर सुरक्षित पारिएको छ । मनहरीको कर्णाली भनिने फरिवाङ्मा लिफ्टबाट खानेपानी खुवाउनेदेखि लिएर विद्युतीकरणका लागि अलग बजेट राखेर काम गरेको छु । अहिले पनि विभिन्न ठाउँमा बाह्र–पन्ध्र वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् ।
थाहा नगरपालिकामा तीन वटा पक्की पुल निर्माण भइसकेका छन् । अरु बन्ने क्रममा छन् । भीमफेदीमै दुई वटा पक्की पुल बनेका छन् । राप्ती खोलामा दुई वटा झोलुङ्गे पुल, तीन वटा पक्की पुल निर्माण भएका छन् । मकवानपुरगढी, आमभञ्ज्याङ्को पुलको मैले अघि कुरा गरिहाले । मैले काम गरेका कुराहरु धेरै छन्, धेरै भन्न सकिन्छ । तर यो सानो कुराकानीमा ती सबै उल्लेख गर्न सम्भव पनि नहोला ।
पहिला र अहिलेको चुनावमा के कस्ता फरक छन् ? मतदाताको मनोविज्ञान कस्तो पाउँनुभएको छ ?
नेपालमा एउटा अवधिपछि एक खालको इस्युहरु आउँने देखिएको छ । २८ साल, ३५-३६ ४६-४७ सालदेखि नै हेर्दाखेरी एक प्रकारको टेन्ड आउँने गरेको छ । ६८ सालतिर आएर राजाले कु गरेपछि मान्छेको सोचाईहरु परिवर्तन भएको हामी पाउँछौं । सामान्यतया एक पटकको अवधि हेरेपछि मान्छेले अझ सुधार, अझ परिवर्त गर्न सकिन्छ की भन्ने सोचेको पाइन्छ । समय अवधिसंगै मानिसको चेतनास्तर पनि बढेको छ ।
हिजोको ४०-५० सालको चेतनास्तर र अहिले विज्ञान-प्रविधीले हामीलाई धेरै सूचना प्राप्त गर्ने अवस्थाको चेतनास्तर फरक छ । विश्वका अनेकौं ठाउँको स्थिती, व्यवस्था, विकास लगायत विविध कुरा हेरेर पनि हाम्रो यहाँ किन हुँदैन भन्ने जागरुकता स्वभाभिक रुपमा बढेको छ । अर्को कुरा, त्यो बेलामा पञ्चायती व्यवस्था विरुद्घ लडेर आएकाहरु सबै दुःख पाएका थिए । जेलनेल खाएका थिए । नेताको त्याग देखेका थिए । पार्टीहरुप्रति अगाध विश्वास थियो ।
त्यसले गर्दा त्यो बेलाको निर्वाचन चाँही जनताकै बलमा, जनताकै खर्चमा, जनताकै तर्फबाट लड्न सकिन्थ्यो । लडिएका थिए । तर, यसपछिका निर्वाचनहरु क्रमश ः अलि अलि खर्चिलो बन्दै गए । सरकार बन्ने, बिग्रने क्रममा अनेक भ्रष्टाचारका काण्डहरु,अनेकौं स्क्यान्डलहरु बाहिर आउन थाले । त्यसको कतिपय सत्य, असत्य आफ्नो ठाउँमा भएपनि बाहिर पार्टी, नेता भनेका यस्ता हुँदा रहेछन् भनेर गलत छवि बन्न थाल्यो । त्यो कारणले पनि चुनाव आयो भनेपछि अब खर्च बढ्छ, नेताले गर्छ भन्ने मानसिकता पनि केही विकास भएको छ । पहिलाको चुनाव निष्ठा, त्याग, विश्वाससंग गासिँएको थियो ।
अहिलेको चुनाव त्यो पक्षबाट घट्दै गएर चुनावमा खर्च बढाउने यही हो मौका भन्ने पनि हेर्न थालियो । केही नेताले यसरी खर्च बढाउने प्रवृतिलाई प्रोत्साहन पनि गरेका छन् । एक पटक त चुनाव जित्नै पर्छ भन्ने उत्कट आकांक्षाले चाहिने भन्दा बढी खर्च गर्न एक प्रकारका मान्छे लागेकै छन् । त्यसको पनि केही प्रभाव परेको छ । यसरी समग्रमा हेर्दा चेतना बढेको छ तर निष्ठा घटेको छ ।
मकवानपुरको सरकारी एउटा अस्पताल पनि गतिलो नभएको गुनासो छ । तपाईं स्वास्थ्यमन्त्री बन्नुभयो । तर पनि जिल्लामा स्वास्थ्यक्षेत्र विकासका लागि तपाईंले ध्यान दिनुभएन भन्ने आरोप छ नि ?
यो बेकारको कुरा हो । प्रत्येक जिल्लामा वीर हस्पिटल, टिचिङ हस्पिटल बन्द सक्दैन । त्यो सम्भावना पनि हुँदैन । हामीसंग आर्थिक पक्ष बलियो भएपछि जिल्लैपिच्छे पचास वर्षपछि सुविधासम्पन्न सबै चिज भएका टिचिङ, वीर, पाटन जस्ता अस्पताल सरकारले खोल्नपर्छ । हामीले सातै प्रदेशमा पाँच सय बेडको प्रदेशस्तरको अस्पताल निर्माण गर्ने नीतिगत निर्णय पनि गरेका छौं । कहीँ त काम सुरु पनि भइसकेको छ ।
जिल्लामा रहेका अस्पताल पनि पहिले पहिले भन्दा अहिले धेरै सुधार भएका छन् । भवनहरु पनि राम्रा बनेका छन् । मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको बीचमा तत्काली एमालेको सरकारले अनावश्यक विवाद सिर्जना गर्ने काम गरिएको थियो । सरकारको नीति अनुसार एउटा जिल्लामा एउटा सरकारी अस्पताल अनिवार्य रुपमा हुनुपर्छ ।
हेटौंडा अस्पताल हाम्रो जिल्ला अस्पताल हो । आफ्नै भवन, कर्मचारी, संयन्त्र भएको पुरानो इतिहास यो अस्पतालसंग छ । तर मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भवन, जमिन, जनशक्ति सबै सित्तैमा लिएर त्यसलाई नीजि ढंगबाट मनोनित गरेको मान्छेबाट चलाउने गरी तथा बिरामीलाई थप मर्का पर्ने गरी सञ्चालन गर्न खोजिएको थियो । अहिले ओपीडि चालिस–पचास रुपैंयामा हुन्छ भने त्यहाँ गाभिएको हुन्थ्यो भने सायद पाँच सय रुपैंया ओपीडिमा पथ्र्यो । त्यसमा पनि एमबीबीएस सम्म पढाउने, फिस लिने गरी व्यवसायिक ढङ्गले अगाडी जान चाहेको संस्थाले अर्काको पुँजी सित्तैमा लिन खोज्यो ।
त्यसमा पनि हेटौंडा अस्पतालमा एमबीबीएस पढ्ने विद्यार्थीका लागि प्राक्टिकल गर्न अनिवार्य रुपले तीन सय बेडको अस्पताल चाहिन्छ । त्यसका लागि सरकारी तहबाट हेटौंडा अस्पताल दिने भनेर भनिएकै छ । प्रतिष्ठानबाट उत्पादित विद्यार्थीहरुले प्राक्टिल हेटौंडा अस्पतालमा गर्ने भनेर सम्झौता भएको छ । तर प्रतिष्ठानले हेटौंडा अस्पताललाई गाभ्ने नै जुन खराब नियत राखेको थियो । अब भिन्ना भिन्नै रुपमा अगाडी जाँदैछ । प्रतिष्ठान प्रतिष्ठानकै रुपमा बस्छ, हेटौंडा अस्पताल सरकारी अस्पतालकै रुपमा बस्छ । मकवानपुर जिल्लामा स्वास्थ्य क्षेत्र विकासको कुरा गर्ने हो भने सबै पालिकाहरुमा पन्ध्र बेडेको अस्पताल लगभग तयार भएका छन् । राक्सिराङमा सञ्चालनमै आइसक्यो ।
मकवानपुरगढीमा निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब दुई–तीन महिनामा सञ्चालनमा आउँछ । थाहा नगरमा अक्सिजन प्लान्ट सहित निर्माणको अन्तिम चरणमा छ । कैलाशमा भर्खर शिलान्यास भएको छ । म स्वास्थ्य मन्त्री भएका बेलामा प्रत्येक वडामा पनि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना बनाइए अनुसार केही वडा–वडामा हामीले स्वास्थ्य केन्द्र खडा गरेका छौं । बाँकी ठाउँमा अझै पनि वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन सकिन्छ ।
तपाइँसंग अहिले मुख्य प्रतिष्पर्धामा एमालेका तपाईँकै चेला महेश कुमार बर्तौला हुनुहुन्छ । उहाँको उम्मेदवारीलाई चाहिँ तपाईंले कसरी आँकलन गर्नुभएको छ ?
पन्चायती व्यवस्था ढाल्न, गणतन्त्र ल्याउन हामीले प्रतिष्पर्धाको राजनीति चाहिन्छ भनेर हामीले यो व्यवस्था ल्याएका हौं । प्रत्येक पाँच वर्षमा आउँने चुनावमा दल, व्यक्ति वा स्वतन्त्र उठ्न पाउँछन् । उनीहरुको अधिकार भएकाले यसलाई म स्वागत गर्छु । यसमा बा उठ्यो कि ? भाई उठ्यो कि ? छोरा उठ्यो कि ? भतिजा उठ्यो कि ? भन्ने कुरा होइन । कुन पार्टीबाट उठ्यो भन्ने पनि होइन । यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ । त्यसै अन्तर्गत खास कुनै एउटा पार्टीबाट महेश पनि उम्मेदवार भएका छन् । मैले यसलाई कुनै एउटा अनौठो रुपमा लिएको छैन । म संग अरु नौ जना जस्ता उम्मेदवार छन्, उलाई पनि मैले त्यस्तै रुपमा लिएको छु । म पनि आफू त्यही दश जनाको भीडको एक जना उम्मेदवार हुँ ।
अहिले राजनीतिका पुराना पुस्तालाई ‘नो नट अगेन’ भन्न थालियो । युवाप्रति आकर्षण बढ्यो भनिन्छ । यस्ता अभियानले तपाईंप्रति मतदाताको क्रेज घट्ला कि बढ्ला ? के बुझ्नुभएको छ ?
यसलाई कसले कुन आँखाले कसरी हेर्छ भन्ने कुरा हो । फूलको आँखामा फूलै संसार भनेजस्तो विरोधले हारोस् भन्ने चाहाना राख्नेले अहिले युवाप्रति आकर्षण भएकाले उसलाई कम भोट आउँछ भन्ने धारणा बनाएर बसेका हुन्छन् । कोही कोहीले चाँही पुरानो, अनुभवी, जनताको विकास निर्माणमा चासो लिएको छ, हामीले भनेको मान्छ, आफू कुनै पनि पदमा हुँदा सजिलै घुलमिलका साथ ठूलो नबनी काम गर्छ भनेर समर्थन गर्ने पनि उत्तिक्कै छन् । मलाई व्यक्तिगत रुपमा भन्ने हो भने अघिल्लो पटकका भन्दा यो पटकको चुनाव मलाई सहज छ । गठबन्धनका कारण पनि यो पटक म मत बढी ल्याउँछु भन्ने विश्वास छ । भोट नदिने अथवा नो नट अगेन भन्ने कुरा मान्छेको रुचीको कुरा हो ।
युवा हामीलाई कहाँ चाहिने, बुढा उम्मेदवार नहुने भनेर कसले भन्या ? एमालेले भन्या हो भने केपी ओलीलाई किन दोहोयाएको ? इश्वर पोखरेल किन फेरि उठ्या ? एमालेका लागि केपी ओली युवा हुने अनि विरोध खतिवडा चाहिँ बुढा हुने भन्ने पनि हुन्छ ? अनि यही राप्ती खोला पारी युवा चाहिने अनि राप्ती वारी भएपछि काका भएपनि हुने ? त्यही सूर्य चिन्ह लिएर कमल थापा उठ्ने ? म भन्दा कमलजी पाँच–छ वर्ष जेठो हुनुहुन्छ । म भन्दा दुई चोटी बढी चुनाव उहाँ नै उठ्नुभएको छ । खास एउटा क्षेत्रमा चाँही अब देशैभरी युवा ल्याउनुपर्छ भनेजस्तो ढङ्गले चुनावी फन्डा क्रियट गर्न खोजिएको छ । यसमा कुनै अर्थ छैन । नो नट, नो भोट भन्ने कुरा स्वतन्त्रताको कुरा हो । भनिरहनै पर्दैन मतदान गर्न नगए भै हाल्यो. नि ।
अनि स्वतन्त्र उम्मेदवारका कुुरा प्रत्येक चुनावमा थिए । ४८, ५१,५६,६४,७४ सालमा पनि स्वतन्त्र उठेर जितेका थिए । स्वतन्त्रले स्थानीय पालिका अनि संसदमा जितेको इतिहास छ । तर यो पटक चाहिँ चाहिने भन्दा बढी हल्ला किन भयो भने नेपालको राजधानीको काठमाडौजस्तो ठाउँमा मेयरमा स्वतन्त्रले जितेपछि सबैको ध्यान केन्द्रित भएको हो । स्वतन्त्रले जित्दो रहेछ, दलहरुलाई हराउँन सकिदो रहेछ भन्ने एक खालको मनोबल बढेको छ ।
त्यो पनि एक जुट संगठित रुपबाट होइन । संगठित भएर होइन, आफ्नै आफ्नौ तालबाट उम्मेदवार उठेका छन् । स्वतन्त्र भन्ने जुन एउटा लहर ल्याउने प्रयत्न गरिएको थियो, उनीहरु आफैं विभाजित भएकाले उनीहरुले जित्ने सम्भावना म कम देख्छु । जित्दै नजित्ने भन्ने कुरा होइन । कुनै बेलामा तीन जनासम्मले जितेका थिए । ती दुई-चार जना पहिला पनि संसदमा आएका थिए, अहिले पनि आउँछन् ।
तपाईंले चुनाव जित्ने कारण चाहिँ गठबन्धनमात्रै कि अरु केही पनि छन् ?
म एक्लै पनि लडेर जितेको थिए । गठबन्धन भएपछि त जित्ने आधार झन् बलियो हुने नै भयो । हिजोका दिनमा सिंगल पार्टीबाट लडेर पनि जितेकै थिए । मेरै विश्वासमा कैयौं साथीहरु एमालेमा लागेका थिए । मेरो आन्दोलन, मेरो जेल बसाईं, मेरो व्यवहार सबै हेरेर यहाँ विरोध दाई छ भनेर एमालेमा लाग्नेहरु थिए । अहिले म एकीकृत समाजवादीमा लागेपछि एमालेमा आधा मतदाता पनि म संग छन् । गठबन्धनभित्रको काङ्ग्रेस-माओवादीको मत पनि मलाई सहयोग भएपछि त पहिला भन्दा मैले सजिलो ढङ्गले अगाडी बढ्ने बाटो खुल्यो ।
प्रस्तुती - शिव चौलागाईं, मकवानपुर