उदयपुर । उदयपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार जगन्नाथ खतिवडाले गठबन्धनलाई जिताए जनताको जीवनमा परिवर्तन ल्याउने बताउनु भएको छ ।
नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव एवं प्रचारप्रसार विभाग प्रमुख समेत रहनु भएका नेता खतिवडाले
उदयपुरको कटारीमा वाम-लोकतान्त्रिक गठबन्धनको चुनावी रयाली पश्चात् कोणसभालाई सम्बोधन गर्दै खतिवडाले स्थानीय, प्रदेश र केन्द्र सरकार गठबन्धनको हुने र जनताको जीवनमा परिवर्तन ल्याउने बताउनु भएको हो ।गठबन्धनले यस क्षेत्रमा चुनाव जितेपछि सडक पूर्वाधार खानेपानी , जग्गा बिहीनलाई लालपुर्जा , तटबाँध निर्माण , पुल निर्माणलगायत भौतिक विकासका कामलाई तिव्रता दिने बताउनु भएको छ । ‘ककरु ,तवा, वैद्यनाथ, सुनकोसी नदीले क्षति पुर्याएको छ’, खतिवडाले भन्नुभयो , ‘यस क्षेत्रको अनेकौँ पुल हाम्रो प्राथमिकतामा परेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणबहादुर कार्कीले राज्य जोगाउन गठबन्धनको आवश्यकता परेकाले गठबन्धनलाई मत दिनुपर्ने बताउनु भयो । ‘पुराना कुरा थाती राखौँ अहिलेको राष्ट्रिय मुद्दा भनेको राष्ट्रलाई जोगाउनु हो, त्यसैले गठबन्धन भएको हो’, कार्कीले भन्नुभयो , ‘दलीय व्यवस्थामा दलको आवश्यकता पर्छ त्यसैले पहिलो प्राथमिकतामा दललाई राखेर मत दिऔँ ।’
एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश एकका अध्यक्ष बलदेव चौधरीले संविधानको रक्षाका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताउनु भयो । ‘हामीले संविधान बनायौँ, सार्वभौमसत्ता नेपाली जनता भनिएको छ र देशको मालिक नेपाली जनता बनायौँ’, चौधरीले भन्नुभयो , ‘त्यही संविधानमाथि एमालेले प्रहार गरेको छ र राजा ल्याउने अभियानमा जुटेको छ, त्यही भएर गठबन्धनलाई जिताउनुपर्छ ।’
वाम-गठबन्धनका प्रचारप्रसार मूल समितिका संयोजक मोहन खत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गठबन्धनले यस क्षेत्रको ग्रामीण भेगमा घरदैलो सकेर कटारी बजार केन्द्रित प्रचारलाई जारी राखेको छ । यस क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिकासहित पाँच स्थानीय तह रहेको छ । प्रतिनिधिसभा अम्बरबहादुर रायमाझी उम्मेदवार छन् ।