काठमाडौं चैत्र २८
सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ ।
आज बिहान बसेको दलहरुको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित अपिलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँचदलका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।
‘देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ,।
‘आदरणीय जनसमुदाय व्यापक सहभागितासहित आगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिई विजयी बनाउन हुन हार्दिक अनुरोध गर्दछौँ।’
सार्वजनिक अपिलमा लोकतन्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरिएको छ ।
‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौँ।’ अपिलमा भनिएको छ।
अपिलमा पछिल्ला परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरुले यो परिवर्तनविरुद्ध अझै पनि षड्यन्त्र गरिरहेको भन्दै संसदमाथिको निरन्तर प्रहार, अदालतमाथि खेलवाड तथा संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले यस्तो कुरा स्पष्ट पारेको दाबी गरिएको छ।
पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा एक भएर जाने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले आपसी मतभेद भुलेर अगाडि बढ्ने निर्णय गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपील गरेको हो।