लेखनाथ सिकारु
पाँचथर । १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३८ औ जन्म जयन्ति आज उनको कर्मभूमि पाँचथर सहित देशका विभिन्न भागमा विभिन्न कार्यक्रमका साथ मनाइदै छ ।
विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा ( हाल माङसेवुङ २ ) मा जन्मेका नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइ दिए पछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ ।
१६ वर्षमा बर्मामा बृटिस सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखे पछि उनी मानव मानव बिचको लडाइ मारामार वाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए ।
पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नु पर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए ।
उनले लोप हुने अवस्थामा रहेको लिम्बूहरूको सिरिजंगा लिपिको खोजी गरी संरक्षण सम्वर्द्धन साथै लिम्बूहरूको जन्म विवाह मृत्यु संस्कारलाई समायानुकुल परिवर्तनको लागी कार्य गरेका थिए ।
८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने , झुटो बोल्नु नहुने ,नारीहरू सृष्टि कर्ता भएकोले उनिहरुलाइ समाजमा उच्च सम्मान दिनु पर्ने , आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने , मासु मांस तथा मदिरा पान गर्नु नहुने साथै देवी देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए ।
तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संसोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराबकुराहरुलाई सच्याउनु पर्ने भन्दै विक्रम सम्वत् १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिम स्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० वुंदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागु गरेका थिए ।
ताप्लेजुङ सँग जोडिएको कुम्भकर्ण हिम सृङखलालाईकिराँतिहरुको पवित्र धार्मिक स्थत तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोहीअनुरूप अहिले समेत किराँतहरूलेकुम्भकर्णलाइ पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामा समेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावादिने प्रयास गरेको पाइन्छ ।
किराँतिहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत , भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नु परेको थियो । लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २ ) हाङयक भन्ने स्थानमा मृत्यु भयो ।
उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ती मनाउँदै आएका छन् । लिङदेको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ । यस्तै उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
समाजको आर्थिका समाजीक सांस्कृतिका सुधारमा लागेका फाल्गुनन्दले पापले सकिन्छ धर्मले वढिन्छ , वोलेन भने झगडा हँुदैन , हजारौ तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ , खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछ जस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समय सापेक्ष छन् ।
आफ्नो मौलिकतालाइ विर्सेर पथ भ्रष्ट हुनु हुन्न धर्म संस्कार र संस्कृतिका नाममा तडक भडक गर्नु हुन्न ,आफ्नो गच्छे अनुसार धर्म संस्कार र संस्कृति मनाउनु पर्छ , मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न , अरुलाइ खुशि तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वलि गर्नु हुन्न भगवानको पुुजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नु पर्छ जस्ता सामाजीक चेतना फैलाएर समाज सुधारमा लाग्नु भएका फाल्गुनन्दको समाज सुधारको निति विश्व सामु अनुकरणिय छ ।
राष्ट्रिय विभूति किराँत धर्मका पथ प्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्सनिक फाल्गुनन्दको कर्म भूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् ।
नेपाल सरकारले राजा जनक , सीता , गौतम वुध्द , अंशु वर्मा , राम शाह , पृथ्वी नारायण शाह , भीमसेन थापा , अमरसिं थापा , वलभद्र कुंवर , भक्ति थापा , त्रिभुवन ,कलाकार अरनिको , युवाकवि मोतिराम भट्ट , आदिकवि भानुभक्त आचार्य , समाज सुधारक शंखधर साख्वा ,महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ ।
पर्वकै रुपमा फाल्गुनन्द जयन्ती मनाइँदै
किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गते लाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३८ औँ जन्म जयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लाहरु सहित राजधानी काठमाण्डौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् ।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् ।
उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सवै भन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिक÷सामाजिक अगुवाहरुलाई वि.सं. १९८८ साल बैशाक १० गते पाँचथरको फिदिमा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
सत्यधर्म मुचुल्कामा छोरी चेलीको विबाह गर्दा सोत-रीत (पैसा) लिनु नहुने, भगवानको पूजागर्दा प्राणीको हत्यागर्न नहुने, मद्यपान र मासु सेवनकमगर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक÷साँस्कृतिकपक्षहरु समेटिएका छन् ।
मुचुल्का र समाजसुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गते लाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ ।
यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।
लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा ब्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ ।
मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।