गौर । नेकपा ( एकीकृतसमाजवादीका ) का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार हुनुहुन्छ ।
२०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जित्नुभएको थियो । रौतहटको क्षेत्र नं १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुड नगरपालिकाको १ नम्बर वडा पर्दछन् ।
नेकपा ( एकीकृतसमाजवादी ) का वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरूले कूल मत १९ हजार ६ सय ९८ मत पाएका थिए । नेपाली कांग्रेसले कूल १६ हजार ९ सय ४४ मत पाएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी ( लोसप) ले १२ हजार दुई सय ६२ मत पाएको छ । नेकपा ( माओवादीकेन्द्र)ले ८ हजार एक सय ९१ मत पाएको छ भने नेकपा एमाले ७ हजार ३ सय ८५, जसपाले ८ हजार दुई सय ४१ र स्वतन्त्र सहित अन्य दलले ३ हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।
यसरी हेर्दा सत्ता गठबन्धनका उम्मेदवार पूर्व प्रधानमन्त्री नेपालका पक्षमा ५७ हजार ९२ मत रहेको छ । उता, एमाले-जसपा गठबन्धनका उम्मेदवार गुप्ताका पक्षमा १५ हजार ६ सय २३ मत रहेको छ । यहाँ सत्ता गठबन्धनका उम्मेदवार नेपाल प्रतिस्पर्धी भन्दा ४१ हजार ४ सय ६९ मतले अघि रहेको तथ्यले देखाउँछ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १ को माहोल तातेको छ ।
सत्ता गठबन्धनका नेता माधवकुमार नेपाल सँग सो क्षेत्रमा नेकपा ( एमाले ) का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका हुन् ।
माधवकुमार नेपालका लागि रौतहट १ को चुनावी प्रतिस्पर्धा तुलनात्मक रूपमा सहज देखिन्छ । स्थानीय चुनावमा दलहरूले पाएको मतको मात्र नभएर राजनीतिक सन्देशका हिसाबले पनि अजय गुप्ताविरुद्ध उनको प्रतिस्पर्धा कठिन छैन ।