काठमाडौ नेकपा ( एकीकृतसमाजवादी ) ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लक्षित घोषणापत्र सार्वजनिक गर्दै पर्यटन प्रवर्द्धनका नाराहरु सार्वजनिक गरेको छ ।
नेकपा ( एकीकृतसमाजवादी ) को घोषणापत्रमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, व्यवस्थित गर्ने घोषणा गरिएको छ ।
विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने, नेपाल वायुसेवा निगमको जहाज सङ्ख्या बढाउने, ठूला नदी तथा नहर र तालमा पर्यटकलक्षित साना पानीजहाज सञ्चालन र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका लागि पहल गरिने समाजवादीले जनाएको छ ।
राष्ट्रको पहिचान - पर्यटन विकास र संस्कृति संवर्द्धन भन्ने नाराका साथ एकीकृत समाजवादीको पर्यटन प्रवर्द्धनको क्षेत्रमा भनिएको छ नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नेपालको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक विशेषतालाई प्रवद्र्धन गर्दै जैविक, ऐतिहासिक र सांस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यको अध्ययन- अवलोकनका साथै नयाँ गन्तव्यको खोजी कार्यमा जोड दिइने छ ।
निकुञ्ज र वन्यजन्तु आरक्षण क्षेत्रहरूमा पर्यापर्यटनको विकास गर्ने तथा पर्यटक आकर्षित गर्ने, पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित गर्न जोड दिइने छ । लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, पाथिभारा ,हलेसी लगायत ऐतिहासिक, पुरातात्विक महत्वका धार्मिक तथा सांस्कृतिक महत्वमा पर्यटकीय गन्तव्यहरूको संरक्षण एवं विकासमा जोड दिइने छ ।
मुस्लिमलगायत धार्मिक अल्पसङ्ख्यक समुदायका धार्मिक तथा सांस्कृतिक अधिकारहरूको जगेर्ना र उनीहरूका सांस्कृतिक सम्पदाहरूको सुरक्षामा जोड दिइने छ । लोपोन्मुख जाति तथा भाषाहरूको संरक्षणका लागि भाषा र संस्कृति संरक्षणको विशेष कार्यक्रम सञ्चालन गर्न पहल गरिने छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गरेर आर्थिक गतिविधि बढाउन र रोजगारीका अवसर सृजना गर्नका लागि पर्यटन ग्राम, होम स्टे, पर्यटन सडक, पदमार्ग लगायत पर्यटन पूर्वाधार निर्माण तथा ऐतिहासिक एवं धार्मिक पर्यटनको प्रवद्र्धनमा जोड दिइने छ । दैनिक कम्तीमा ५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा प्रदान गर्न सक्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न पहल गरिनेछ भनिएको छ ।