पोखरा । कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेदवारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् ।
नेकपा ( एकीकृत समाजवादी ) का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले आफ्नो क्षेत्रमा रहेका दुर्गम भेग सुगम बन्ने वाचा गरेका हुन् ।
मंगलबार पोखरा-२१ र पोखरा-१६ मा भएको कोण सभासहितका घरदैलो कार्यक्रममा बोल्दै गठबन्धनका तीन जना उम्मेदवारले नै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
गठबन्धन दलको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (१) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने पोखरा २१ मा घरदैलोमा रहेका प्रचार प्रसार समिति संयोजक केशर निर्दोषीले जानकारी दिनुभयो ।
उहाँका अनुसरकास्की-२(२) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापा पोखरा १६ मा घरदैलो कार्यक्रममा रहनु भएको छ । घरदैलोका क्रममा स्थानीयले फूलमाला र बाजागाजासहित स्वागत गरेका छन् । स्थानीयले आफ्ना समस्या र अपेक्षा राख्दै गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई मत दिने प्रतिवद्धता जनाएका छन् ।
पोखरा २१ मा आयोजित कोण सभमा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र विश्व प्रकाश लामिछानेसहितका नेताहरुले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बरालले महानगर भित्रका दुर्गम भनिएका क्षेत्रहरु सुगम क्षेत्रको रुपमा परिणत गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पर्यटन, कृषि र पूर्वाधार निर्माण गरेर दुर्गमलाई सुगममा परिणत गरिने उहाँको भनाई छ । कोर सहरी क्षेत्र अब साँघुरो भएको भन्दै विकास पूर्वाधारको विस्तार अब दुर्गम भनिएको तर सम्भावना रहेको क्षेत्रमा हुने उहाँको तर्क छ ।
आफूले मत मागेर यस अगाडि निर्वाचित गरेको जनप्रतिनिधिले विकास पूर्वाधार निर्माण र जनअपेक्षालाई बुझ्न नसक्दा सहरका ग्रामीण भेगमा विकास हुन नसकेको उहाँले औल्याउनु भयो । विगतमा आफूहरुले नै दुख गरेर निर्माण गरेको पार्टीबाट जितेकाहरुले काम नगरेपछि नयाँ पार्टी निर्माण गरेर गठबन्धनको तर्फबाट आफै उम्मेदवार बनेको उहाँले बताए। ‘पोखराको ग्रामीण क्षेत्र जसलाई दुर्गम भनिएको छ । त्यहि क्षेत्रको भविश्य सुन्दर छ । यहाँ नै भोलिकोअथाह सम्भावना छ । पोखरा २१, ३३, २० र ११ का समेत केही क्षेत्रमा विकासको पहुँच पुग्न सकेको छैन ।
कृषि, पर्यटन, पशुपालन लगायतका अथाह सम्भावनाका क्षेत्रहरु यिनै हुन् । यि क्षेत्रमा कृषि र पशुपालनको क्षेत्रमा केही भएको पनि छ । तर अझैपनि खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच छैन । पूर्वाधारको विकास हुन सकेको छैन । कृषिमा आधुनिकीकरण गर्नुपर्नेछ । यि सबै गर्नका लागि हामी आएका छौं । विश्वास गर्नुहोस् ।’ उहाँले भन्नुभयो विगतमा म आफैले मेहनत गरेको पार्टीबाट मैले नै भोट मागेर निर्वाचितहरुलेतपाईँ हाम्रो अपेक्षा पुरा गरेनन् । त्यही भएर नयाँ पार्टी गठन गर्दै पाँच दलीय गठबन्धनको तर्फबा उम्मेदवार भएर आएको छु ।’
उम्मेदवार बरालले गठबन्धनकै नेतृत्वमा स्थानीय सरकार रहेको, प्रदेश सरकार पनि गठबन्धनकै बन्ने र केन्द्र सरकार पनि गठबन्धनकै बन्ने भन्दै सबै तह मिलेर काम गर्ने बताउनु भयो । उहाँले फुस्रेखोला-मट्टिखान सडकको स्तरोन्नती, कृष्ति– निर्मलपोखरी–भरतपोखरी सडकलाई डबल लेन डेलिगेटेड सडकको रुपमा विकास गर्ने र पोखरा चक्रपथ निर्माणका लागि योजना अगाडि बढाउने भनाई छ । त्यसैगरी पोखराको जेठोबुढो धानको संरक्षण र ब्रन्डिङ, महिला, बालबालिका र मुटु रोगको उपचार गर्ने राम्रा अस्पतालको निर्माण, अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त हुने शिक्षालयको स्थापना लगायतका काम गठबन्धनले पुरा गर्ने उहाँले बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्व प्रकाश लामिछानेले अब देशको विकास गठबन्धनमा आवद्ध दलहरुले गर्ने बताउनु भयो । गठबन्धनको घोषणा पत्र नै आफ्नो घोषणा पत्र रहेको भन्दै उहाँले विगतको आफ्नो अनुभवलाई जनताको सेवा र काममा प्रयोग गर्ने धारणा राख्नुभयो । विगतमा आफू पोखरा उपत्यका नगरबिकास समितिमा बसेर काम गरेको, ताल संरक्षण अभियानमा राम्रोसँग काम गरेको, अम्मरसिंह नमुना माविको व्यवस्थापन समितिको अध्यक्ष भएर राम्रो सफलता प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो ।
पोखरा २१ मा खानेपानीको समस्या हल गरिने भन्दै उहाँले आफूहरुसंग स्पष्टरुपमा विकास गर्ने योजना र खाका रहेको बताउनु भयो । आफूहरुले कृषि र उत्पादनमा जोड दिने र आपफ्नै गाउँठाउँमा रोजगारीको वातावरण बनाउने योजना बनाउन सजिलो रहेको तर कार्यान्वयन गर्न गाह्रो हुने भन्दै उहाँले पोखरा महानगर गठबन्धनको नेतृत्वमा रहेको, प्रदेश र संघ सरकार पनि गठबन्धनकै बन्ने हुँदा समन्वय गरेर योजना लागु गर्न सहज हुने बताउनु भयो ।
कार्यक्रममा कांग्रेसबाट समानुपातिक उम्मेदवार बृन्दा रानाले गठबन्धनले ५ वर्षमा काम गरेर स्थिर सरकार दिने बताउनु भयो । पूर्वाधार निर्माण गरेर देशकै आर्थिक अबस्था उकास्ने भन्दै कास्की क्षेत्र नम्बर २ मा विगतमा एमालेबाट निर्वाचित भएर गएकाहरु एनसेल काण्ड र वाइडबडी जस्ता काण्डमा मुछिएको बताउनु यभो । गठबन्धनबाट निर्वाचित हुने उम्मेदवार यस्ता काण्डमा नफस्ने र जनताको सेवा गर्ने उहाँको भनाई छ ।
नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण बहादुर थापा र नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष झपेन्द्रराज रेग्मी लगायतले बोल्दै च्यात्न लागेको संविधान जोगाउन र जनताको काम गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।
कास्की क्षेत्र २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले आफुले पाएको सेवा सुविधा विगतमा जस्तै सामाजिक कार्यमा खर्च गर्ने बताउनु भयो ।
उहाँले पोखरा महानगरपालिका १६ दिपमा मतदातासंग भेटघाट गर्दै ‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेश सभा सदस्यको रुपमा मलाई प्राप्त सम्पुर्ण तलब तथा सुविधाहारु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु’ उहाँले भन्नुभयो, सधैंझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता मेरो प्रमुख मन्त्र रहने छ ।’ थापाले देशमा विकास गर्नका लागि तहमै गठबन्धनको सरकारको आवश्यकता रहेको बताउनु भयो ।