झापा । शालीन , तार्किक र अध्ययनशील जुझारु वामपन्थी नेता हो पुष्पराज पोखरेल । पञ्चायत विरुद्ध झापा जिल्ला पञ्चायतको जन पक्षीय उपसभापति देखि मेयर र साँसद्पनि । त्यही परिचय साथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश न १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सांसदको प्रत्यासी भएका छन् ।
यो पुष्प पोखरेलको विगतको पहिचान हो । त्यो भन्दापनि उहाँ परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले । परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उहाँले गरेको काम सराहनीय मानिन्छ ।
ओखलढुङ्गामा जन्मेका पुष्प परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनीतिमा होमिनुभयो । राजनीति कहिलेकाँही खुसी भन्दा पनि जबर जस्त बनेर जीवनमा आइ लाग्छ, त्यही जीवनका भोग कर्ता हो पुष्प पोखरेल । १६ वर्षकै उमेरदेखि राजनीतिमा सकिय पोखरेल झापाली कम्युनिष्ट आन्दोलनको एउटा उचाइमा छन् ।
१८-१९ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्ध कम्युनिष्ट पार्टीमा लागेर झापा विद्रोहमा सहभागि हुनु राजनीतिक लगावको दर्बिलो उदाहरण हो । पार्टी पद्धति र सिद्धान्तमा उहाँ जति अडिग छन्, विकास निर्माण र नागरिकको समस्याको सवालमा उहाँ त्यति नै केन्द्रित छन् ।
सानैदेखि पृथक सोच र सकारात्मक धारणा भएका उनी पार्टी पङ्क्तिमा अध्ययनशील नेता, शालीन र बेदाग व्यक्तित्वका रुपमा स्थापित छन् । यो उहाँको पार्टी पंक्ति भित्रको अर्को परिचय हो ।
२०३२ सालबाट भूमिगत को-अर्डिनेसन केन्द्रबाट राजनीतिक यात्रा शुरु गरेका उहाँ २०३५ मा अनेरास्ववियुको पहिलो झापा जिल्ला संयोजक बन्नुभएको थियो । २०३७ सालमा मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापति भएका पुष्प २०४३ सालमा जनपक्षीय जिल्ला उपसभापतिमा निर्वाचित हुनुभयो । स्नातकोत्तरको पढाइ सकेर मेची क्याम्पसमा प्राध्यापन गर्न लाग्दा उहाँलाई स्वर्गीय द्रोणाचार्य क्षेत्रीले देश परिवर्तनका लागि राजनीतिमा अझ सक्रिय गराउनु भयो । त्यसपछि उहाँ निरन्तर जनताको पक्षमा उभिनुभएको छ ।
२०४६ सालमा जिल्ला उपसभापतिबाट राजीनामा दिएर पञ्चायत विरुद्ध आन्दोलमा होमिएका उहाँ त्यो बेला ३ महिना जेल पनि पर्नुभयो । २०४९ सालमा भद्रपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका पुष्प पोखरेलले २०५१ सालको मध्यवधि निर्वाचनमा साविक झापा क्षेत्र नं. १ बाट जनताकोे मन जित्दै सासंद समेत हुनुभयो ।
लामो समय नेकपा एमालेको राजनीतिमा होमिनुभएका पुष्प पोखरेलले पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी पनि वहन गर्नुभयो । तर पछिल्लो समय नेकपा विभाजनपछि एमालेमा विद्रोह गरी उहाँ नेकपा एकीकृत समाजवादीको पूनर्गठनमा लाग्नुभयो र केन्द्रिय सदस्यको जिम्मेवारीमा रहनु भएको छ ।
पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश न १ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश सांसदको प्रत्यासी हुनुहुन्छ र जन समुदायको राम्रो समर्थन समेत छ ।