नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्ब प्रधानमन्त्री झलनाथ खनाल आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर-१ बाट उमेदवार बन्नुभएको छ । उहाँ सत्ता गठबन्धनका साझा उमेदवार हो । ०४८ सालपश्चात् खनालले निरन्तर यो क्षेत्रबाट प्रतिस्पर्धामा हुनुहुन्छ । ०५६ बाहेक बहुदलपछिका कुनै पनि निर्वाचनमा पराजय भोग्नुपरेको छैन । यही क्षेत्रबाट जितेर उहाँ प्रधानमन्त्री समेत बन्नुभयो ।
तर, खनालको विगत र वर्तमानको अवस्था फरक छ । ०२६ सालमा इलाममा कम्युनिस्ट पार्टीको पहिलो जिल्ला कमिटी गठन गरेको इतिहास बोकेका खनाल आफैँले विद्यार्थी राजनीति हुँदै हुर्काएको र वयस्क बनाएको पार्टीलाई पूनएकीकरण गरी एकीकृत समाजवादी निर्माण भएको छ । माले हुँदै एमालेलाई हुर्काएर महासचिव बने । इलाममै रहेर मतदातामाझ घरदैदो अभियानमा रहनु भएका खनालसित निर्वाचनकेन्द्रित संवादको सम्पादित अंश
नयाँ पार्टीबाट प्रतिस्पर्धामा हुनुहुन्छ, के भन्दै छन् मतदाताले घरदैलोका दौरान ?
म अहिले इलाम क्षेत्र नम्बर–१ मा पाँच पालिका र ३९ वडाहरू छन्, ती क्षेत्रहरूमा पुगिरहेको छु । अहिले त हामी गठबन्धनमा पनि छौँ । जहाँ जहाँ म पुगिरहेको छु, हाम्रो पार्टीका कार्यकर्ताहरू गतिशील ढंगले अघि बढिरहनुभएको छ । प्रचारप्रसारको काममा उत्साहका साथ लागिरहनुभएको छ । संंगठन पनि निर्माण गरिरहनुभएको छ । गठबन्धनमा रहेका दल र उनीहरूका कार्यकर्ता पनि बढो एकताबद्ध भएर लागेको मैले पाएको छु । इलाम क्षेत्र नम्बर–१ बाट संघमा मलाई जिताउनुपर्छ भन्नेमा एकमत छ । नेकपा ९एमाले०का कार्यकर्तामा पनि हामीले व्यक्ति बदल्नु हुँदैन, जसरी पनि झलनाथ खनाललाई जिताउनुपर्छ भनेर लागिपरेको पाएको छु ।
सूर्य चिह्न छोडेर कलम लिएर हिँड्नुभएको छ, मतदाताले विगतमा झैँ तपाईंलाई भोट हाल्छन् भन्ने लाग्छ ?
मैले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्ला कमिटी गठन गरेको हो । त्यस बेलादेखि मैले जुन नीति, कार्यदिशा नीति, सिद्धान्त र लक्ष्य लिएर यो पार्टी निर्माण गरेँ, नेकपा ९एमाले०को नवौँ महाधिवेशनसम्म त्यहीँ कार्यदिशाबमोजिम पार्टी अघि बढेर गयो । नवौँ महाधिवेशनपश्चात् निर्वाचित भएको नेतृत्व, केपी ओलीको नेतृत्वले त्यो कार्यदिशा र सिद्धान्त छोड्यो र पुँजीवादी कार्यदिशा नीति सिद्धान्त अँगाल्यो । यति मात्र होइन, भ्रष्टचारमुखी र गफको नीति लिएर अघि बढेपछि पार्टी पुनर्गठन गर्ने आवश्यकता ठान्यौँ ।
अहिले पुनर्गठित पार्टी हो यो । यसको सिद्धान्त, कार्यदिशा र नीति भनेको त्यही ०२६ सालदेखि हामीले अघि बढाएको दिशा, नीति र सिद्धान्त नै हुन् । विचारको रूपमा यहाँको जनतालाई नयाँ महसुस भएको छैन । बरु, जनवादी क्रान्ति सफल भयो, अब समाजवादतर्फ अघि बढ्नुपर्छ भन्ने उहाँहरूमा भावना छ । मात्र चिह्न फरक भएको हो । लामो समयसम्म सूर्यमा मत हालेको अब कलममा मत हाल्नुपर्ने भयो, अलिअलि महसुस भएको छ । विचारले नै चिह्न मिलाउने त हो नि । चिह्न भनेको त फगत पहिचान मात्र न हो, बाँकी त विचार र दिशा न हो । यो कुरा यहाँ र देशभरिका जनताले बुझ्न जरुरी थियो । अहिले बुझ्न थाल्नुभएको छ ।
प्रतिस्पर्धी पनि तपाईंहरूले नै अघि बढाउनुभएको व्यक्ति हुनुहुन्छ, सहज छ चुनाव जित्न ?
यहाँ चुनाव लड्ने ११ जना साथीहरू हुनुुहुन्छ । उहाँहरू सबैले मज्जाले प्रयासचाहिँ गरिरहनुभएको छ । तर, मैले प्रतिस्पर्धी देखेको छैन । मेरो प्रतिस्पर्धी कोही पनि देखेको छैन, जनताले पनि देखेका छैनन् । उहाँहरू प्रयास गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद । यसैले लोकतन्त्रलाई बलियो बनाउने हो । कसैले ५० मत वा कसैले १२ वा कसैले १०० वा कसैले हजार बढी मत ल्याउनुहोला । तर, यहाँको पाँचै पालिका पुग्दा, जनताको कुरा बुझ्दा अर्को विकल्प देख्नुभएको छैन ।
स्थानीय तह निर्वाचनको मत हेर्दा तपाईंले जित्ने खालको स्थिति देखिँदैन, त्यो एउटा ‘फ्याक्टर’लाई स्वीकार त गर्नुपर्ला नि !
स्थानीय तह निर्वाचनको परिणाम र त्यसको तथ्यांकले खासै यहाँ असर गर्दैन । किनभने, जुन मत पार्टीहरूले जति पाए भनिएको छ नि, त्यो साँचो होइन । किनभने, एउटा पार्टीबाट उठेको वडाध्यक्षलाई चिनजान, आपसी सम्बन्ध र सरसहयोगको कारण पनि अरू पार्टीबाट भोट आउँछ । त्यसले छुट्ट्याउन सक्दैन । स्थानीय तह निर्वाचनको समयमा नेकपा (एस)ले उपयुक्त ढंगले तालमेल गर्ने मौका पनि पाएन ।
त्यसकारण हाम्रो मत कति थियो प्रस्ट पनि थिएन । जसले हामीले देशभर गठबन्धन गर्दाको मापदण्ड बनाउन सकेनौँ । हामीले बालुवाटारमा पनि यो छलफल गरेका छौँ । तर, अहिले तीन पार्टीको मत नेकपा ९एमाले०को मतभन्दा त बढी छौँ नि । नेकपा ९एमाले००का आमकार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले मलाई मत हाल्छन् । मतान्तरचाहिँ कति हुन्छ भनेर अनुमान मात्र गर्न सकिन्छ ।
गठबन्धनको सिद्धान्त गणतन्त्रवादी र राजवादी एक ठाउँमा आउनु, वामपन्थी र डेमोक्रेटिक एक ठाउँमा उभिनु भन्ने हो ?
आम रूपमा सिद्धान्त नमिल्नेहरूसँग गरिने गठबन्धन राम्रो हुँदै होइन । तर, अहिले हामी पाँचदलीय गठबन्धन भने न्यूनतम सिद्धान्तमा छ । हामी गणतन्त्रवादी, लोकतन्त्रवादी, संविधानवादमा अडिएका छौँ । संविधान बचाउन, गणतन्त्र बचाउन गठबन्धन गरिएको हो । देशलाई स्थिरता दिन तथा विकासलाई तीव्र रूपमा अघि बढाउन गठबन्धन हो । गठबन्धन निश्चित नीति र सिद्धान्तमा छ ।
नेकपा (एमाले) को नेतृत्व कसरी गयो भने गणतन्त्रवादीहरूसँग पनि होइन, गणतन्त्रवादीहरूको गठबन्धनलाई दक्षिणपन्थी भन्छ । तर, राजतन्त्रवादीहरूको र धर्मवादीहरूको गठबन्धन गरेर राष्ट्रवादी र प्रगतिशील भन्छ । योचाहिँ नीतिहीनता र सिद्धान्तहीनता हो । यसकारण हामीले पार्टीभित्र विद्रोह गरेका हौँ । एमाले कार्यकर्ताहरूचाहिँ पवित्रै होलान्, अहिले पनि मलाई त्यस्तै लाग्छ । तर, उनीहरूलाई नेतृत्वले लगेर खाडलमा हालिसकेको छ, उनीहरूले थाहा पाएका छैनन् ।
स्थानीय तह निर्वाचनमा राम्रो गठबन्धन भएन भन्नुभएको थियो, अहिलेको गठबन्धन विश्वासिलो भएको आधार पाइसक्नुभयो ?
फरक–फरक दृष्टिकोण, नीति, कार्यक्रम र उद्देश्य भएका फरक–फरक पृष्ठभूमि र आ–आफ्नै पृष्ठभूमि भएका पार्टीहरूका बीचमा गठबन्धन छ । त्यसकारण एकदम सहज छ भन्न मिलेन । तर, अहिलेको ऐतिहासिक घडीमा सबै पार्टीहरूमा महसुस गहिरो गरेर भएको मैले के पाएँ भने, यति बेला संविधान, गणतन्त्र र मुलुकको स्थिरता बचाइएन भने मुलुकको राष्ट्रियता पनि खतम हुनसक्छ, मुलुकको प्रगति हुन सक्दैन र यो देश विदेशी मुलुकहरूको उपभोक्ता मुलुकमा रूपान्तरण हुन्छ । त्यसकारण हामीले मिलेर काम गर्नुपर्छ भन्ने ठाउँमा तल्लो तहसम्म कार्यकर्तापंक्ति पुगेको मैले पाएँ । यो एउटा राम्रो पक्ष हो । यसले भोट संकलनमा स्थिति गाह्रो देखिन्न ।
दुईपटक संसद् विघटन गरियो, प्रतिगमनको विरुद्धमा उभियौँ भनिरहनुभएको छ, मतदातको बुझाइ कस्तो पाउनुभएको छ ?
धेरै हदसम्म बुझेको र कतिपय ठाउँमा जिज्ञासा भएको पनि पाएँ । निर्वाचन घोषणा गर्नु नै प्रतिगमन हो त रु भन्ने ढंगले त्यो कोणबाट कुराहरू आएको पाएँ । के कुरा बुझ्नचाहिँ बाँकी रहेछ भने, केपी ओलीले यो देशमा दुईपटक संसद् विघटन गरेर चुनाव घोषणा गरे । त्यो कस्तो समयमा गरे भने, कोभिडको महामारीले देश व्यापक आक्रन्त थियो ।
पूर्व, पश्चिम, तराईं, पहाडमा मान्छे अकालमा मर्दै थिए । अस्पतालमा बेड थिएन । अक्सिजन थिएन, बाहिरबाट मगाएर जनतालाई बचाउन सकिएको थिएन । यस्तो अवस्थामा ओलीकै स्वास्थ्यमन्त्री र उनका कर्मचारीहरू भेला नहुनुहोस् है भनिरहेका थिए । संक्रमण बढ्छ, भेला भएर रोग नर्सानुस् भनिरहेका थिए, अनि त्यही सरकारको प्रमचाहिँ चुनाव घोषणा गरेर बसेका थिए । त्यो फगत षड्यन्त्र थियो । त्यो चुनाव सम्भव थिएन । चुनाव नहुँदा संविधान असफल हुने थियो । देशमा संसद् हुने थिएन । सरकार बनाउने अर्को ठाउँ थिएन । त्यही केपी ओलीबाहेक अर्को सरकार बन्ने थिएन । उसले आफूलाई चक्रवर्ती सम्राट हुने र यो संविधानलाई असफल बनाएर निरंकुश शासक बनेर शासन गर्ने प्रश्न जन्मियो ।
इलामका लागि तपाईंको संकल्प के छ ?
मेरो यो अन्तिम चुनाव हो, मैले घोषणा गरिसकेको छु । अहिलेको मेरो जीवन नाफाको जीवन पनि हो । रेगुलर जीवन हैन । मलाई कोभिडले सिध्याएकै हो । एपोलोले मलाई नाफाको जीवन दिएको हो । अब कमसेकम एकपटक इलाम जिल्लाको अग्रगति र प्रगतिको निम्ति काम गर्नुछ । यो जिल्लामा व्यापक पूर्वाधार निर्माणको माध्यमबाट विकास गर्न, पर्यटनको विकास गर्न काम गर्नुछ । यहाँको कृषि सेक्टरमा काम गर्नुछ ।
औद्योगिकीकरण र विद्युतीयकरण गरी सिंगो जिल्लालाई झिलिमिली नबनाई भएन । प्रत्येक घरमा बिजुली पुर्याउनुपर्यो भनेर ६५ करोडको योजना यही वर्ष पारेर कार्यान्वयनमा लाने क्रमको सुरुआत भएको छ । यस्ता खालका कुराहरू समेत गर्न एकपटक मैले इलामको नेतृत्व गर्नुपर्यो भनेर लागेको छु । यो फाइनल हो । त्यसपश्चात् विचारमान युवाले इलामको नेतृत्व गर्नुपर्छ भन्नेमा छु ।
‘बागी’को डर कति छ ?
खास मैले देखेको छैन । म विक्रम पाण्डे (स्वतन्त्र उमेदवार) को मतदाता हुँ भन्ने मैले कहीँ कतै मतदाता भेटेको छैन । मलाई डर छैन ।
निर्वाचनपछि के होला ?
देशभर गठबन्धन विजयी हुन्छ । जति तालमेल गरेका छौँ, अधिंकाश उमेदवारहरूको विजयी सुनिश्चित छ । प्राप्त सूचनाअनुसार गठबन्धन सहज विजयी हुन्छ र निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ ।
नेतृत्व कसको हुन्छ ?
नेतृत्व भनेचाहिँ बसेर हामी टुंगो लगाउँछौँ । पहिला चुनाव जितौँ भन्ने हो ।
(बाह्रखरीका लागि रोमन आचार्यले तयार पारेको सामाग्री)