पाल्पा । वाम-लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेले बसाइ सराई रोक्न एकीकृत बस्ती निर्माण गर्ने बताउनु भएको छ ।
आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले बसाइ सराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकीकृत बस्ती विकास गर्ने बताउनु भएको हो । पछिल्लो समय तराई क्षेत्रमा बसाइ सराईका कारण पाल्पाको जनघनत्व घट्दै गइरहको तर्फ इंगित गर्दै पाण्डेले पाल्पामै बस्ने वातावरण सहितको एकीकृत बस्ती विकास र पर्यटकीय नगरीको रुपमा विकास गरिने बताउनु भयो ।
तानसेनको बजार एरियालाई पर्यटकीय गन्तव्यको रुपमा र बजारसँगै जोडिएको ढुंगाखानी, सेतीपोखरी, धरमपानी लगायतको क्षेत्रमा एकीकृत वस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उम्मेदवार पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो , पूर्व उद्योग मन्त्री समेत रहनु भएका पाण्डेले आफूले तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी क्षेत्रमा घरदैलो गर्दै उद्योगमन्त्री हँदा सुरु गरेको एक जिल्ला एक औद्योगिक ग्रामको अवधारणलाई यस क्षेत्रमा सञ्चालन गर्ने समेत बताउनु भयो ।
अर्चले, साफाखुम , बराङ्दी क्षेत्रमा समेत घरदैलो गर्दै पाण्डेले यस क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई जोड दिने गरेर काम गर्ने बताउनु भयो ।
यस्तै प्रदेश सभा पाल्पा (२) १ का उम्मेद्वार वीरबहादुर रानाले पाल्पाको तानसेनको अर्चले, साफाखुम, बराङ्दी क्षेत्रमा कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई लगानीको सुनिश्चिता र लगानीको ग्यारेन्टी सहितका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।
उहाँले यस क्षेत्रमा रहेको सडक र खानेपानीको समस्या समाधानमा समेत आफूले ध्यान दिने बताउनु भयो । घरदैलो कार्यक्रममा गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता नेत्र प्रसाद पाण्डे, एकीकृत समाजवादीका जिल्ला सचिव मोहनलाल गैरे, तानसेन नगरपालिकाका पूर्व मेयर तथा एकीकृत समाजवादीका समानुपातिक उम्मेद्वार अशोककुमार साही लगायतले पाल्पा तानसेनको विकास पर्यटन, कृषि र पशुपालनबाट नै सम्भव रहेकाले त्यसको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन आग्रह गर्नुभयो ।
प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता तुलाराम ( बसन्त ) घर्तीले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताउनु भयो । उहाँले प्रदेश सभा क्षेत्र नं. २ (२) का विभिन्न क्षेत्रमा पुुगीमतदाताहरुलाई भेटी यस्तो प्रतिवद्धता जनाउनु भएको छ । उहाँले बितेको पाँच वर्षमा आफूले भौतिक विकासका काम गरेको र अब जनताको आर्य स्तर वृद्धि गरी समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुने बताउनु भयो । अहिलेको गठबन्धनले मात्रै नागरिकको मर्मअनुसार काम गर्ने हुँदा निष्पक्ष भएर मतदान गर्न पनि मतदाताहरु समक्ष आग्रह गर्नुभएको छ ।
पाल्पा क्षेत्र नं. १ मा गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले आफुु विजयी भएसँगै जनताको चाहना अनुसार भौतिक र मानवीय विकासमा काम गर्ने बताउनु भयो । उहाँले पनि क्षेत्र १ का विभिन्न टोलवस्तीमा पुगेर मतदाताहरुलाई भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर पूर्वी पाल्पालाई अब्बल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (१) का उम्मेदवार श्यामकान्त खनाल, १ (२) का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनु भयो ।