काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन काठमाडौंमा रहेका इलामेली मतदाता एकजुट भएका छन् ।
शनिबार काठमाडौंमा बृहत भेलाको आयोजना गरी काठमाडौंमा रहेका मतदाता जिल्ला लैजाने विषयमा छलफल गर्दै चुनावी अभियानलाई तिब्रता दिने विषयमा नेताहरुले सहमति जनाएका छन् ।
प्रतिनिधि सभा सदस्य एवम कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलमा आबद्धत डेढसय बढी शुभेच्छुक तथा कार्यकर्ताहरु सहभागी रहेको नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेले जानकारी दिए ।
भेलामा विभिन्न समितिहरु गठन गर्ने, मतदाताहरुलाई जिम्मासम्म लैजान व्यवस्था मिलाउने साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा ब्यापक छलफल भएको थियो । कार्यक्रममा नेकपा(एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमल खनाल,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु कार्की, सन्तोष गुरुङ, माधव चम्लागाइ, माओवादी केन्द्र इलाम-काठमाडौं समन्वय केन्द्रका संयोजक मोहन थेबे, माओवादी केन्द्रका नेता श्रीकृष्ण अधिकारी, प्राध्यापक कमल सुवेदी, श्याम फुयाँल, पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठूरी लगायतको सहभागिता थियो ।
इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, प्रदेश सभामा कांग्रेसका शमशेर राई र नेकपा एकीकृत समाजवादीकी खिनु लङवा उम्मेदवार छन । त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ कांग्रेसका डम्बर खड्का, प्रदेश सभातर्फ कांग्रेसकै गोविन्द गिरी र माओवादी केन्द्रका हर्क लावती कान्छा चुनावी मैदानमा छन् ।