काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौं-८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गर्नुभएको छ ।
विहीबार काठमाडौंको स्वयम्भूबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै श्रेष्ठले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने बताउनु भयो ।
अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको बताउँदै उहाँले संघीय संसद्मा रहेर जनमुखी कानून बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भूमिका खेल्ने बताउनु भयो । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने बताउनु भयो ।
‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’, मतदातासँग मन्त्री श्रेष्ठले भन्नुभयो, ‘पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु ।’ घरदैलो अभियानको पहिलो दिन बिहीबार काठमाडौं-८ का भगवान पाउ, विजेश्वरी,बडेगाल,फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूलेमतदातासँग भेटघाट गर्नुभएको हो ।