काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) ले ‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा बृद्धि गरौं’ भन्ने नारा अघि सारेको छ । युवाशक्ति रोजगारीको खोजीमा विदेश पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजवादीले कृषि श्रमिकको अभाव रोक्न युवा जनशक्तिलाई कृषि कार्यमा आकर्षित गराउने बताएको छ ।
त्यस्तै कृषि र पशु विज्ञान, इन्जिनियरिङ, सूचना तथा प्रविधि लगायतका विषयहरूमा विद्यार्थीले सिक्दै र कमाउँदै गर्ने प्रणालीको विकास गर्ने जनाएको छ ।
‘एक घर, एक सिप र एक रोजगारी’ को अवधारणा अनुसार सिप विकास, स्वरोजगारी, रोजगारी, उद्यमशीलता र रोजगारदाताहरूको साझा सिप बजार स्थापना गरी स्वदेशमै श्रम शक्तिको उपयोग गर्ने नीति लिने उसले बताएको छ । वैदेशिक रोजगारीमा जानेहरूले सम्बन्धित विषयमा सिपमूलक तालिम लिएको आधिकारिकता पुष्टि गरेरमात्र जाने व्यवस्था मिलाई सम्मानित रोजगारीको अवस्था निर्माणका साथै आय वृद्धिका लागि पहल गरिने उसको प्रतिबद्धता छ ।
पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १८ वर्षदेखि ४० वर्षसम्मका युवाको तथ्याङ्क लिने, ती युवामध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
‘हाम्रा युवा, हामीसँगै’ भन्ने आह्वानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन (ब्रेन ड्रेन) हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारी र स्वरोजगारीका अवसरहरू सिजना गर्ने कुरालाई उच्च प्राथमिकतामा दिने उसको प्रतिबद्धता छ ।
‘गाउँ सहरमा सहकारीः घरघरमा रोजगारी’ को नारा अघि सार्दै नेकपा एकीकृत समाजवादीले ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ अभियान अनुसार प्रत्येक गाउँ टोलमा विभिन्न विषयका सहकारी निर्माण गर्न, ती सहकारीको प्रवर्द्धनमा सरकारबाट सहयोग पु(याउन र घरघरमा रोजगारीका अवसर वृद्धि गर्न तथा सबै सहकारीलाई बिमा व्यवस्थामा आबद्ध गर्न पहल गरिने बताएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सिपमूलक तालिम प्रशिक्षण दिएर दक्ष वा अर्ध दक्ष जनशक्तिका रूपमा विकास गरिने, विदेशबाट कमाएर ल्याएको पैसालाई उपभोगमा मात्रै खर्च नगरी उत्पादनशील काममा लगाउन विशेष राष्ट्रिय नीति बनाइने नेकपा एकीकृत समाजवादीको प्रतिबद्धता छ । वैदेशिक रोजगारीमा भइरहेका विकृतिलाई हटाउन र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित र भरपर्दो बनाउन आवश्यक संयन्त्र बनाइने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।