इटहरी ।
प्रदेशसभा निर्वाचन क्षेत्रिय कमिटी नेकपा ( एकीकृत समाजवादी )सुनसरी क्षेत्र नम्बर ३ ‘१’ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रम नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंव प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा पार्टीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले मंसिर ४ गतेपछि नेकपा एमाले कि त सुध्रिनुपर्ने कि त सकिनुपर्ने भनाई राख्नु भयो ।
नेकपा एकीकृत समाजवादीकी प्रदेश नम्बर १ प्रदेशसभा सदस्य तर्फ समानुपातिक उम्मेदवार रविना खातुनले महिला , मधेसी र पिछडिएका वर्गको प्रतिनिधित्व गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने र ति सबालहरू उठाउने प्रतिवद्धता जनाउनु भयो । खातुनले आफू महिला, मधेसी, आदिवासीको हितका लागि काम गर्ने बचनवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता भानु मैनालीले मैले गरेको मत मेरै लागी हो भन्ने सम्झेर अन्य पार्टीका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । नेकपा एकीकृत एमाओवादीकी केन्द्रिय सदस्य तथा प्रदेश सभाकी समानुपातिक उम्मेदवार सुस्मा राईले अर्को दलको उम्मेदवारलाई कसरी भोट हाल्ने भन्दा पनि संविधानको रक्षा र प्रतिगमनको विरुद्धमा भोट हाल्न अनुरोध गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा राखेपका पूर्व सदस्य सचिव केशव कुमार बिष्टले यसपालिको निर्वाचन नेपालीले हार्ने विदेशीका गुलामले जित्ने अवस्था आउन नदिन पनि विशेष रहेको भन्दै मंसिर ४ को निर्वाचनमा आफूले मन पराएको नेता भए कि भएनन् भन्दा पनि प्रतिगमनको विरुद्धमा एकजुट हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा सुनसरी ३ ‘१’ का लागि प्रदेश सभाकी उम्मेद्वार नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेलले आफ्नो प्रतिस्पर्धीको रुपमा राजावादी उम्मेदवारलाई नेकपा एमालेले खडा गरेकाले सरस्वती पोखरेल अहिलेको अवस्थामा समयको माग भएको बताउनु भयो । आज म गठबन्धनको साझा उम्मेदवार छु भोलितपाईहरु सबैको साझा जनप्रतिनिधि बन्नेछु पोखरेलले भन्नुभयो ।
पोखरेलले मुलुकको परिवर्तन नेकपा एमालेबाट हुन सक्दैन भनेर २०५८ सालमा आफु नेकपा माओवादीमा प्रवेश गरेको बताउनु भयो । २०६४ सालदेखि सुनसरीको भूगोलमाराजनीति गरेको र २०७४ सालमा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य तथा प्रदेश १ प्रदेश सभाको उपसभामुख समेत भइसकेकाले अव प्रत्यक्ष तर्फबाट जनताबाट चुनिएर प्रदेशसभामा प्रतिनिधित्व गर्ने पोखरेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नम्बर ३ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारले जयनेपाल र लालसलाम मिलेर नै अहिले सम्मका ठुला ठुला परिवर्तनहरु सम्भव भएकाले अहिले गठबन्धनको तर्फबाट आफुलाई जिताउन आफ्नो निर्वाचन क्षेत्रका जनतालाई आग्रह गर्नुभयो । ‘मेरो जित भए गठबन्धनको जित हुन्छ मेरो हार भए गठबन्धनको पनि हार हुन्छ।’ गच्छादारले भन्नुभयो ।
नेकपा एकीकृत समाजवादी इटहरी नगरकमिटीका अध्यक्ष गणेश बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा इटहरी नगर इन्चार्ज केवल फुयाल, सहइन्चार्ज रमेश खत्री , लगायत नेकपा एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवारहरु गौरीमान परियार, सुन्दरमणि राई, गोपाल बहादुर भण्डारी, धनकुमारी चौधरी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जनजाति महासंघका सत्यनारायण चौधरी तथा नयनतारा सिटौलाको सांगितीक प्रस्तुतीगर्नुभएको थियो ।