पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेले समृद्धिको लागि आर्थिक क्रान्तिसहित सुशासनको नयाँ अभियान चलाउन रिब्दीकोटबाट सिक्नुपर्ने बताउनुभएको छ ।
रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थान, पालुङ्मैनादी लगायतका स्थानमा घरदैलो कार्यक्रम गर्दै नेता पाण्डेले आर्थिक समृद्धिको अभियान अगाडि बढाउन रिब्दीकोटबाट सबैले सिक्नुपर्ने बताउनुभएको हो।
रिब्दीकोटका जनतामा कृषि, पशुपालन लगाएतका क्षेत्रमा लगाव देखिएको भन्दै त्यसैको माध्यमबाट आर्थिक समृद्धि बनउने योजना बनाएको बताउनुभयो । रिब्दीकोट सांस्कृतिक रुपमा पनि ऐतिहासिक महत्वको क्षेत्र भएकाले यहाँ रहेको भैरवस्थानलाई पर्यटकीय विकास गर्न आफु लागिपरेको पाण्डेले बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्तीले ऐतिहासिक कालखण्डमा, ऐतिहासिक आवश्यकताबाट गठबन्धन जन्मिएको भन्दै संविधान लोकतन्त्र र राष्ट्रको रक्षाका लागि यसलाई हुर्काउनुपर्ने बताउनुभयो । घर्तीले प्रतिगमनको खतरा, संविधानलाई घात गर्ने खतरा, संघीयता समानुपातिक, समावेशी लोकतन्त्र माथि प्रहार गर्ने प्रवृत्ति रहेसम्म गठबन्धनको सान्दर्भिकता रहिरहने बताउनुभयो ।
नेता घर्तीले जता पनि नकारात्मक सोच राख्ने प्रवृत्तिलाई जनताले नस्वीकार्ने भन्दै जनतामा देश, संविधान, लोकतन्त्र, समृद्धिका लागि सबैतिर उत्साह आएको बताउनुभयो ।