मकवानपुर । नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी सहितको गठबन्धन लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताउनु भएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले एमालेसँग विद्रोह गरी प्रतिगमन विरुद्धको लडाइमा लागेका हामी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई यो चुनावमा जसरी पनि गराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफूले सुनेको बताउनु भएको हो ।
‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छ ।’, खतिवडाले भन्नुभयो ,‘ केही व्यक्तिबाट करोडौँरुपैयाँ बुझेर केही मान्छे मलाई हराउन लागेका छन् रे। आफूलाई हराउने केही व्यक्ति जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको भन्दै खतिवडाले मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गर्नुभयो । कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरु छरिएको छ ।’ खतिवडाको भनाई छ,‘ हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेद्वार हौं ।’
उम्मेदवार खतिवडाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहोर्याउनु भयो । ‘गत स्थानीय तहको चुनावमा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका आधा दर्जन वडाअध्यक्ष मेरो चुनावी प्रचारमा लागिसके ।’खतिवडाले भन्नुभयो , ‘उनीहरूको नाम भनौँ भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् ।’ खतिवडाले ती वडाध्यक्षहरूको नाम अहिले भन्दा उनीहरूमाथि असुरक्षा हुने बताउनु भयो ।
यस्तै ,निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ( १ ) का उम्मेदवार कुमारी मोक्तानले सरकारमा रहँदा आफ्नो क्षेत्रको विकासका लागि सकेजति काम गरेको चर्चा गर्नुभयो ।
‘मैले आफ्नो क्षेत्रका लागि सकेजति काम गरेको छु ।’ मोक्तानले भन्नुभयो ,‘सुरुमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला मेरा क्षेत्रका लागि मैले अघि सारेका योजनाहरु पर्नै नदिएपनि अहिले गठबन्धनको प्रदेश सरकारबाट हामीले सकेजति काम गरेका छौं ।’
प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत रहेकी मोक्तानले आफू यही समुदायको छिमेकी छोरी भएकाले आफूलाई पुन प्रदेशसभामा विजयी बनाएर पठाउन आग्रह गर्नुभयो । ‘गठबन्धनका विषयमा छरिएका अनावश्यक भ्रम नपत्याउनु होला ।’ मोक्तानले नागरिकमाझ प्रष्ट पार्दै ,‘गठबन्धनबाट उम्मेदवार बनेका तपाईहरुको घरदैलोमा आइपुगेका हामी साझा उम्मेदवार हौं । हामी सबै विजयी हुनेछौं ।’
कार्यक्रममा गठबन्धन मकवानपुरका संयोजक समेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्द लामाले एमाले अहिले पनि अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रतिगमन फर्काउन षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभयो ।
‘अहिले पनि केपी ओलीको नेतृत्वमा देशमा प्रतिगमन फर्काउन षडयन्त्र गरिदैछ । त्यस्ता षड्यन्त्र असफल तुल्याउनका लागि गठबन्धन गरी हामी चुनावमा होमिएका हौं ।’नेता लामाले मकवानपुरमा विरोध खतिवडा, कुमारी मोक्तान पनि नेपाली कांग्रेसकै उम्मेद्वार भएकाले मतदातामाझ छरिएका भ्रममा नअलमलिन आग्रह समेत गर्नुभयो ।