इलाम । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल इलाम १ क्षेत्रमा व्यस्त हुनुहुन्छ । आसन्न प्रदेश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेता खनाल इलामवासीहरुलाई अपिल मार्फत आव्हान गर्नुभएको छ ।
इलामको क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार रहनु भएका खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा पुग्दै हुनुहुन्छ । उहाँले यस अघिका यस्ता आधा दर्जन निर्वाचनमा यही क्षेत्रको प्रतिनिधित्व गरिसक्नु भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का सम्मानित नेता खनाललाई इलाम क्षेत्र नम्बर १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले साथ दिएका छन् । खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रनु भएको छ ।
उहाँले इलामको विकासका निम्ति गर्नुपर्ने कामहरुको फेहरिस्त सहित अपिल मार्फत सम्पूर्ण इलामवासीहरुलाई आव्हान गर्नुभएको छ ।
सम्पूर्ण बाम-लोकतान्त्रिक दिदीबहिनी तथा दाजुभाइहरूमा अपिल १
हाम्रा सामु २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो आमनिर्वाचन आइपुगेको छ । हामीले २०६२/६३ मा शान्तिपूर्ण जनक्रान्ति सम्पन्न गर्यौँ । १० वर्ष लगाएर संविधानसभाबाट संविधान निर्माण गर्यौँ । संविधानले नै हामी सबैलाई समाजवादको बाटोतर्फ अघि बढ्न निर्देशित गर्यो । त्यही संविधानको आधारमा २०७४ सालमा पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि खड्गप्रसाद ओलीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बन्यो । त्यो सरकारले देशमा अब ठुलो परिवर्तन ल्याउँछ, विकास निर्माणको लहर सिर्जना हुन्छ, भूमिसुधार हुन्छ, कृषि क्रान्ति हुन्छ र गाउँ गाउँको मुहार बदलिन्छ भन्ने सबैको अपेक्षा थियो तर त्यस्तो हुन सकेन । हाम्रै इलाममा अब वार्ड र टोल गाउँसम्म आधुनिक बाटाहरू पुग्नेछन्, तिनीहरूको विकासले किसानहरूलाई बजारको सुनिश्चितता प्राप्त गर्नेछ, कृषि उपजहरूले बजार पाउने छन्, शिक्षा र स्वास्थ्यका क्षेत्रमा व्यापक सुधार हुनेछ । हाम्रो भारतसँगको चियाको समस्या समाधान हुनेछ । काँकडभिट्टादेखि चिवा भञ्ज्याङ सम्मको सिमामार्ग बन्नेछ, हाम्रो निर्वाचन क्षेत्रमा चक्रपथ बन्नेछ र पर्यटकको विकास नयाँ उचाइमा पुग्नेछ भन्ने हामी इलामबासीको उत्कट अपेक्षा थियो । तर, ओली सरकारले न सरकार सञ्चालन गर्न सक्यो न पार्टीको एकता जोगाउन सक्यो, न देशको विकास गर्न नै सक्यो न त इलामको नै विकास गर्न सक्यो । ओली सरकारको अकर्मण्यताको बावजुद पनि मैले आफ्नो व्यक्तिगत पहलका आधारमा इलामको विकासलाई निरन्तर अगाडि बढाउँदै ल्याएको कुरामा तपाई इलामबासीहरू जानकार नै हुनुहुन्छ । हामीले विगतमा इलामको विकासका निम्ति गरेका कामहरू के के हुन त ? यी कामहरूलाई निम्न शीर्षकमा बताउन सकिन्छ ।
१) राजनीतिक संरचनाको विकास
इलामका जनताको प्रतिनिधिको हैसियतले २०६२/६३ को जन क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको,
संविधानसभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेलेको,
मुलुकको नयाँ संविधान संरचना अनुरुप इलाम जिल्लालाई २ सङ्घीय निर्वाचन क्षेत्र, ४ प्रादेशिक निर्वाचन क्षेत्र, १० पालिका र ८१ वडाहरूमा विभाजन गरी जिल्लाको सन्तुलित र तीब्र विकासको आधार तयार पार्न नेतृत्वदायी भूमिका खेलेको,
सिंहदरबार वरिपरि घुमिरहने परम्परा भएको सरकारलाई प्रदेश र स्थानीय सरकारका रुपमा गाउँसम्म पु¥याउने नयाँ अवधारणा ल्याउन नेतृत्वदायी भूमिका खेलेको,
स्थानीय तहलाई विकास निर्माण गर्ने काम मात्र होइन राजनीतिक र कानुन निर्माण गर्ने अधिकार समेत दिँदै स्थानीय विकासका निम्ति बढी बजेट उपलव्ध गराउन नीति निर्माण गर्न नेतृत्वदायी भूमिका खेलेको,
सबै पालिका र वार्डहरूमा आफ्ना कार्यालय भवनहरू निर्माण गर्ने काममा भूमिका खेलेको जसले गर्दा वर्तमान संविधान जारि भएपछि स्थानीय तहले बढी अधिकार र बजेट प्राप्त गरेको छ र स्थानीय विकास र निर्माणको प्रक्रिया तीव्र बन्दै गएको छ ।
२) पूर्वाधारको निर्माण
२०४६ सालको परिवर्तन हुँदा मेची राजमार्ग लथालिङ्ग अवस्थामा थियो । त्यो राजमार्गलाई अगाडि बढाउन अन्तरिम कालदेखि नै महत्वपूर्ण भूमिका खेलेको र सोही कारण हालको राजमार्ग निर्माण भएको,
फिक्कलबाट पशुपतिनगरसम्म कालोपत्रे सडक निर्माण गर्न अगुवाई गरेको,
छिपीटारदेखि श्रीअन्तुसम्म कालोपत्रे सडक निर्माण गर्न अगुवाई गरेको,
सुखानीदेखी गोदक इलाम जोड्ने माईपुलसम्म कालोपत्रे सडक बनाउने कामको थालनी गरेको,
इलाम बजारबाट सन्दकपुरसम्म कालोपत्रे सडक निर्माण कार्यको थालनी गरेको,
इलामको विभिन्न ठुला साना खोलाहरूमा ३० भन्दा वढी पक्की पुलहरू निर्माण गराउने काममा अगुवाई गरेको,
इलामको क्षेत्र नं. १ को सूर्याेदय, माईजोगमाई, सन्दकपुर र इलाम नगरपालिकाको साँखेजुङलाई जोड्ने चक्रपथ निर्माणको कार्य थालनी गरेको,
काँकडभिट्टा देखि चिवा भञ्ज्याङ सम्मको पक्कि सडकको डिपिआर पुरा भएको र निर्माणको निम्ति यसै वर्षको वजेटदेखि वहुवर्षे योजनामा पार्न सफल भएको,
यही गत ३१ भाद्र २०७९ मा भालुखोपदेखि खुदुनावारी सम्मको ४० करोड लगानीको कालोपत्रे सडक शिलान्यास गरेको,
यो निर्वाचन क्षेत्रका सबै पालिका र वडाहरूलाई जोड्ने सडक सञ्जाल निर्माण गर्ने योजनालाई कार्यान्वयन गर्दै गरेको,
पशुपतिनगरमा आधुनिक वस अड्डा निर्माणको निम्ति यहि ३० भदौ २०७९ मा शिलान्यास गरेको, त्यस्तै वस अड्डा फिक्कलमा पनि बनाउने योजना अघि बढाइएको,
सघन शहरी तथा भवन विकासका योजना अन्तर्गत ३० भदौ २०७९ मा फिक्कल रिङरोड (छिपिटार शान्ति गोलाइ), कन्याम हुरहुरे भञ्ज्याङ ग्यावाचोक ६ नं. वडा कार्यालय सडक खण्ड, छिरुवा–छविसे सडक निर्माण, अन्तुडाँडा रातमाटे-मानेडाँडा (नमुना पर्यटक गाउँ) सडक खण्ड र माने भञ्ज्याङ–च्यामे खोला–गोर्खे बजार सडक खण्ड निर्माण सहित ५० करोड लागतका सडकहरू शिलान्यास गरेको ।
३) विद्युतीकरणमा विकास
२०४८ मा पहिलोपटक यस निर्वाचन क्षेत्रबाट जनप्रतिनिधि निर्वाचित हुँदा सिङ्गो निर्वाचन क्षेत्र र इलाम जिल्ला नै अन्धकारमय थियो । मेची नदी पारीको झिलिमिली देख्दा हाम्रो मन कटक्क भएर आँउथ्यो । तर यसबिचमा मेरो विशेष पहल कदमीमा सिंगो मेची अञ्चलमा बिजुली पुग्नेगरी राष्ट्रिय ग्रिड निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
इलाम जिल्लाका सबै पालिका र वार्डहरूमा विद्युतीकरण गर्नका लागि प्रत्येक वर्ष पहल गर्दै आएको र एकपछि अर्काे विद्युतीकरणका योजनाहरू लागू गराउन सफल भएको ।
सिङ्गो इलामलाई विद्युतीकरण गर्न र प्रत्येक घरमा बिजुली पु¥याउनका निम्ति यसै वर्षबाट ६५ करोडको योजना ल्याउन सफल भएको र हाल उक्त योजना कार्यान्वयनको चरणमा छ । त्यसले इलामका १० वटै पालिकाका प्रत्येक परिवारमा बिजुली पु¥याउनेछ ।
यसरी पर्याप्त बिजुली भएपछि सिङ्गो इलामलाई विद्युतीकरण गर्ने आधार तयार पार्नेछ र इलामेली जनतालाई परम्परागत दाउरा बाल्ने बाध्यताबाट मुक्त गर्नेछ । साथै, इलामेली जनताको लागि साना, मझौला र ठूला उद्योगको विकासका ढोका खुल्नेछ ।
४) पर्यटनको विकास
इलाम जिल्ला पर्यटकीय हिसाबले देशकै एउटा आकर्षक गन्तव्य हो, तर लामो समयसम्म इलामको सौन्दर्य र आकर्षणले चम्कने अवसर पाएको थिएन ।
पर्यटनको विकास गर्नको लागि म प्रधानमन्त्री भएको बेलामा मेची पहाडी पर्यटन विकास समितिको स्थापना गरेर श्रीअन्तु, कन्याम, सन्दकपुर, माईपोखरी, सिद्दिथुम्का, गजुरमुखी लगायतका पर्यटकीय स्थलहरूको विकास गरेको,
यसरी विभिन्न प्रकारले साधन स्रोतहरूको परिचालन गर्दै पाथिभरा, कुटीडाँडा, हाँसपोखरी, माईथान लगायतका स्थानहरूलाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको,
त्यही सिलसिलामा श्रीअन्तुमा सूर्याेदय अवलोकन गर्ने भ्यू–टावर समेत निर्माण गर्न पहल गरेको,
पशुपतिनगर जस्तो नेपाल र भारत बिचको नाकामा इमिग्रेसन अफिस स्थापना गर्न पहल गरेको,
यसरी इलाम जिल्ला बिस्तारै एउटा पर्यटकीय जिल्लाको रुपमा विकास हुँदै गइरहेको छ ।
५) कृषिको विकास
यो क्षेत्रमा कृषिको विकास व्यावसायिक ढङ्गले विकासित हुँदै आएको छ, सबै किसानहरू व्यवसायिक कृषिमा संलग्न छन् ।
यहाँका किसानहरू आलु, ओलन, अम्लिसो, अकबरे खुर्सानी, अदुवा, अलैंची जस्ता ६ वटा ‘अ’ को उत्पादनमा प्रसिद्ध छन् । नगरपालिकाको गठन भएपछि तिनीहरूलाई बजार उपलब्ध गराउन र किसानहरूलाई उचित मूल्य दिलाउन मेरो पहलमा विशेष प्रयत्न भइरहेको छ ।
त्यसबाहेक सागसब्जी तरकारीको उत्पादन पनि व्यापक रूपमा हुँदै आएको छ । तर ति उत्पादनको उचित मूल्य र बजार पाउने समस्या किसानहरूले सधै भोग्नुपरेको थियो । वर्तमान संविधान बमोजिम स्थानीय सरकार गठन भएपछि किसानहरूले उत्पादन गरेका वस्तुहरूको उचित मूल्य दिलाउने र बजार उपलब्ध गराउने काममा स्थानीय सरकार मार्फत प्रयत्न भइरहेको छ ।
कृषिको विकासका निम्ति कृषकले उत्पादन गरेको कृषि उपजहरूको न्यूनतम मूल्य दिलाउने र उनीहरूलाई बजार उपलब्ध गराउने कुरामा सङ्घीय र प्रादेशिक सरकारदेखि स्थानीय सरकारले पनि दीर्घकालीन दृष्टिकोणका साथ अघि बढ्नु पर्ने आवश्यकतालाई मूर्त रूप दिन तीन वटै तहलाई समन्वय गर्ने कुरामा भूमिका खेलिएको छ ।
भर्खरमात्र भारतसम्म स्कुसको निर्यात गर्नको लागि कुटनीतिक पहलको लागि कृषि मन्त्रालयसँग मेरो पहलमा सम्वन्वय गरिएको छ ।
६) चियाको विकास
इलाममा २०४८ सम्म पनि नेपाल चिया विकास निगम अन्तर्गतका केहि चिया बगानहरू मात्र थिए । त्यसपछिका अवधिमा चियालाई आम जनताको बिचमा लोकप्रिय बनाउने र चियाको रोपणलाई जनजनसम्म पु¥याउने कुरामा नेतृत्वदायी भूमिका खेलेको,
अहिले इलाममा अझ निर्वाचन क्षेत्र नं १ मा मात्र पनि सयौं सानाठूला बगानहरू र ६० भन्दा बढी प्रशोधन कारखानाहरू बनेका छन् । तसर्थ, हाम्रो निर्वाचन क्षेत्रको अर्थतन्त्र नै चिया अर्थतन्त्रको रुपमा विकास भइरहेको छ । साथै, सूर्याेदयलाई चियाको राजधानी मान्न थालिएको छ ।
चिया हाम्रो महत्वपूर्ण नगदेबाली पनि बनेको छ । तर चियाको मूल्य र बजार अझै स्थिर बन्न सकेको छैन । हालै भारतको संसदीय समितिले नेपालको चियालाई नकारात्मक ढङ्गले सिफारिस गरेपछि चिया उत्पादक, प्रशोधक र व्यापारीहरूका बिचमा ठूलो तरङ्ग पैदा भयो ।
यस समस्यालाई लिएर मेरो पहलकदमीमा प्रधानमन्त्रीसँग र हाम्रा दुवै छिमेकी चीन र भारतसँग वार्ता भएको छ । चियाको बजारलाई विविधिकरण गर्ने र स्थिर बजार खोज्ने प्रक्रिया समेत अघि बढाउन पहल भइरहेको छ ।
चियाको विकास, बिस्तार, बजारीकरण र सुदृढीकरणका निम्ति राज्यले अर्थात सरकारले निर्णायक भूमिका खेल्न जरुरी छ । त्यस दिशामा पनि निरन्तर पहलकदमी भइरहेको छ ।
७) सञ्चारको विकास
२०४८ सम्म पनि हाम्रो क्षेत्रमा आधुनिक सञ्चार प्रणाली विस्तार हुन सकेको थिएन । मेरै पहलमा मुर्तिडाँडामा नेपाल टेलिभिजन टावर निर्माण भएको हो । फलस्वरुप आज सेटेलाइटबाट सबैजसो टेलिभिजनहरू हेर्न सकिने भएको छ ।
त्यतिबेला हाम्रो क्षेत्रमा टेलिफोनको पनि ठुलो सङ्कट थियो । त्यतिबेला फिक्कलमा ल्याण्डलाईन पनि मेरै पालामा स्थापना गरिएको हो ।
त्यसपछि विश्वभरि नै मोबाइल टेलिफोनहरू आयो तर त्यसलाई सुन्न सकिने अवस्था बनाउन हाम्रो क्षेत्रका धेरै ठाउँमा टेलिफोन टावरहरू निर्माण भएका छन् । जसले गर्दा अहिले सबै पालिका र वडाहरूमा मोवाइल टेलिफोन सुन्न र टेलिफोन गर्न सकिने अवस्था बनेको छ ।
इलाममा एफएम रेडियोहरू र अनलाइनहरू पनि विस्तार हुँदै गएका छन् । सञ्चार प्रणाली क्रमश आधुनिक बन्दै गएको छ ।
८) शिक्षाको विकास
सुरुमा हामीसँग प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र केही माध्यमिक विद्यालयहरू मात्र थिए, तर पनि तिनीहरू व्यवस्थित थिएनन् ।
यहाँसम्म आइपुग्दा सबै पालिका र वडाहरूमा सार्वजनिक र सामुदायिक प्राथमिक विद्यालयहरूलाई व्यवस्थित गर्नुका साथै माध्यामिक विद्यालय र उच्च माध्यामिक विद्यालय (ंद्द) विद्यालयहरूको संख्या उल्लेखनीय रुपमा विकास भएको छ ।
यतिमात्र होइन करफोक विद्यालयमा स्नातक सम्मको पढाई सुरु भइसकेको छ । त्यो भन्दा उच्च तहको शिक्षा प्राप्त गर्ने र हाम्रो शिक्षा व्यवस्थालाई अझ उन्नत बनाउने प्रयास पनि भैरहेको छ ।
इलाममा प्राविधिक शिक्षाका लागि मैले आफ्नै पैतृक सम्पत्तिबाट ५५ रोपनी जग्गा दिएर साँखेजुङको थाप्लोमा स्थापित सिटिइभिटी विद्यालय पूर्वाञ्चलकै एउटा नमूना विद्यालयको रुपमा विकास गरिएको छ ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत यस क्षेत्रका अधिकांश विद्यालयहरूलाई चारकोठे र दुईकोठे भवन निर्माण गर्ने र आइसिटी ९क्ष्ऋत्० जस्ता कार्यक्रमहरू पार्न विशेष प्रयत्नहरू गरिएको छ ।
शिक्षाका क्षेत्रमा निजी क्षेत्र पनि निकै अगाडि बढेको छ र शैक्षिक आवश्यकता परिपूर्ति गर्ने कुरामा निजी क्षेत्रले पनि भूमिका खेल्दै आएको छ । वर्तमान संविधान अनुरूप सबै बालबालिकालाई शिक्षा निशुल्क र अनिवार्य रुपले दिनुपर्ने एवम्, सस्तो र सुलभ हुनुपर्ने कुरालाई समेत ध्यानमा राखेर शिक्षालाई अझ उन्नत बनाउनुपर्ने आवश्यकता छ ।
सूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरेको ।
९) स्वास्थ्य सेवाको विकास
सुरुमा स्वास्थ्य सेवा र अस्पतालहरूको अभावले हाम्रा दिदीबहिनी दाजुभाईहरू स–साना बिरामीहरूमा पनि विदेशमा जान बाध्य हुनुपर्ने अवस्था थियो ।
अहिले सबै पालिकाहरूमा कम्तिमा पनि १५ शैयाको अस्पताल स्थापना गर्ने कामलाई मेरै अगुवाइमा अघि बढाइएको छ । कुनै अस्पतालको निर्माण कार्य सम्पन्न भइसकेको छ भने कुनै निर्माणको प्रक्रियामा रहेका छन् ।
त्यसरी नै प्रत्येक वडाहरूमा पनि स्वास्थ्य चौकी स्थापना गरिएको छ,
कोभिड महामारी फैलिएको समयमा इलाममा अक्सिजन प्लान्टको लागि रकम विनियोजन गर्ने साथै ८०० थान भन्दा बढी पिपिई सेट, १५०० थान चस्मा र अन्य स्वास्थ्य सामाग्रीहरू मेरै अगुवाइमा पटक पटक इलाम जिल्लाको निर्वाचन क्षेत्रमा पठाइएको छ,
उपरोक्त कुराहरूले हाम्रो क्षेत्रमा स्वास्थ्य सेवालाई विस्तार गर्न महत्वपूर्ण सहयोग पुगेको छ ।
१०) सामाजिक सुरक्षाको व्यवस्था
वृद्धभक्ता, एकल महिला भक्ता, अल्पसङ्ख्यक आदिवासी, श्रमिक तथा महिलाहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न पहल गरेको ।
११) खानेपानीको विकास
सुरुमा हाम्रो क्षेत्रका आम जनतालाई शुद्ध र व्यवस्थित खानेपानीको ठूलो अभाव थियो । साथै, कयौँ बस्तीहरूमा खानेपानीको चर्काे अभाव थियो ।
प्रत्येक वडाहरू र गाउँ वस्तीहरूमा मुहानबाट पाइप विछ्याएर खानेपानी पु¥याउने काम भएको छ,
प्रत्येक पालिकाहरूमा करोडौं करोडको खानेपानी आयोजनाहरू लागू गराउने कुरामा विशेष भूमिका खेलिएको छ । त्यसले गर्दा हाम्रो क्षेत्रका जनतालाई खाने पानीको सुविधा विस्तार भएको छ । शुद्ध खानेपानीमा जनताको पहुँच पुगेको छ र जनताको स्वास्थ्य सुधार हुँदै आएको छ ।
१२) वन तथा वातावरण संरक्षण
वन र हरियाली हाम्रो जीवनको अभिन्न अङ्ग हो । त्यसको सुरक्षा र विकास गर्न हामीले निरन्तर प्रयत्न गर्नुपर्छ ।
त्यस कुरालाई ध्यानमा राखेर सरकारी वनलाई कडाईका साथ संरक्षण गर्ने र सामुदायिक वनलाई विकास गर्ने कुरालाई प्रोत्साहित गर्ने काम भएको छ,
हामीले हाम्रा बाटाघाटाका दुवै साइडमा छानिएका बुटाहरू रोप्ने, प्रत्येक घर वरिपरि हरियाली बनाउने, पानीका मुहानहरूमा हरियाली बनाउने र प्रत्येक वडाले वन संरक्षण गर्ने कुरालाई अघि वढाउन सबै पालिकाहरूलाई मार्गदर्शन गर्ने काम हुँदै आएको छ,
खासगरी मेरो प्रयत्नमा माई र रोङ नगरपालिका क्षेत्रमा वन तथा वातावरण संरक्षणका लागि तटबन्धको निर्माण गर्ने कामलाई पनि वर्षेनी रकम विनियोजन हुँदै आएको छ ।
१३) पशुपालनको विकास
इलामको निर्वाचन क्षेत्र नं १ लामो समयदेखि नै गाईपालनका निमित्त प्रसिद्ध रहँदै आएको छ ।
२०४७ सालमा म कृषिमन्त्री हुँदादेखि नै सो क्षेत्रलाई गाईपालनको स्रोत केन्द्रका रुपमा घोषित गरिएको हो । ठूलाठूला गाईगोठहरू नभएपनि प्रत्येक परिवारले गाईपालन गर्ने प्रचलन यहाँको सुन्दर प्रचलन हो ।
त्यसैले गर्दा दूध उत्पादनमा इलाम जिल्ला नेपालकै एउटा अगुवा जिल्लाको रूपमा स्थापित छ । अब हामीले सो व्यवसायलाई अझ व्यवस्थित गर्दै इलाममा नै आधुनिक दूध पाउडर प्लान्ट स्थापना गर्ने दिशामा पहल गर्न आवश्यक भएको छ । तब मात्र किसानहरूले दूधको उचित मूल्य प्राप्त गर्न सक्नेछन् ।
१४) सुकुम्बासी समस्या समाधान
हाम्रो क्षेत्रमा खासगरी रोङ गाउँपालिका र माई नगरपालिका जस्ता क्षेत्रमा लामो समयदेखि सुकुम्बासी समस्या चर्कोरुपमा रहँदै आएको छ ।
विगतमा यो समस्या समाधानको दिशामा केही प्रयासहरू भए तर तिनीहरू पर्याप्त भएनन् ।
अहिले गठबन्धन सरकार आएपछि भूमि आयोग गठन भएको छ र त्यसले सबै जिल्लाभरिका सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गरिरहेको छ ।
हाम्रो जिल्लामा पनि संयुक्त भूमि आयोग गठन भएको छ र त्यसले सुकुम्बासी किसानहरूको लगत लिँदै समस्या समाधान गर्ने दिशामा अघि बढिरहेको छ ।
१५) शान्ति सुरक्षाको विकास
विगतमा मुलुकमा सशस्त्र सङ्घर्ष चलिरहेको अवस्थामा हाम्रो क्षेत्रमा पनि शान्तिसुरक्षा नराम्ररी खलबलिएको थियो । तर २०६२/६३ को जनक्रान्ति र संविधान निर्माणपछि शान्तिसुरक्षाको स्थितिमा ठुलो सुधार आएको छ ।
अहिले हामीले सबै पालिका र वडाहरूमा तथा आवश्यक पर्ने खास ठाउँहरूमा पनि प्रहरी चौकीहरू पुनः स्थापना गरेका छौं । आवश्यकता देखा पर्याे भने अरु नयाँ ठाउँमा पनि प्रहरी चौकी स्थापना गर्न सकिने स्थिति छ ।
त्यसैले हाम्रो क्षेत्रमा शान्तिसुरक्षाको स्थितिमा राम्रो सुधार भएको छ । प्रहरी, स्थानीय सरकार र आम जनता वीचमा जति राम्रो सहयोग र समझदारी हुन्छ, शान्तिसुरक्षाको त्यति नै राम्रो व्यवस्था हुन्छ भन्ने कुरा हामीले भुल्नु हुँदैन ।
१६) सीमा सुरक्षाका सम्बन्धमा
इलामको सङ्घीय निर्वाचन क्षेत्र नं. १ झापाको बाहुनडाँगीदेखि उत्तरी इलामको चिवाभञ्ज्याङसम्म छिमेकी भारतसँग सीमा जोडिएको क्षेत्र हो ।
सिमानाको रक्षा गर्ने दायित्व सरकार र हामी स्थानीयबासीहरूको पनि काँधमा रहेको हुन्छ । बेला बेलामा सीमा सुरक्षाका सम्बन्धमा समस्याहरू उत्पन्न हुने गरेका छन् । तिनीहरूको समाधानका निम्ति जनताले आवाज पनि उठाउँदै आएका छन् ।
त्यही सन्दर्भमा हाल सरकारले सिमानामा सशस्त्र प्रहरी पोष्टहरू राख्ने व्यवस्था गरेको छ जसलाई हामी बोर्डर आउट पोस्ट ९द्यइए० भन्ने गर्छाै । द्यइए स्थापना गरेपछि सीमा सुरक्षामा सुधार आएको छ । यो प्रक्रियालाई थप व्यवस्थित बनाउन पनि सीमा मार्गको निर्माण अनिवार्य भएको छ ।
१७) स्थानीय तहको योजनाबद्ध विकास
स्थानीय तहबाट नै विकास र निर्माणलाई तीव्रता नदिएसम्म कुनैपनि देशको विकासमा व्यापकता आँउदैन । हाम्रो देशमा पनि त्यही कुरा लागू हुन्छ । विगतमा माथिको कृपाको आधारमा विकास गर्ने गलत अवधारणा विद्यमान थियो । त्यसलाई वर्तमान संविधान मार्फत तोडिएको छ ।
त्यसैले वर्तमान संविधान जारी भएदेखि स्थानीय तहलाई पर्याप्त अधिकार र बजेट दिएर स्थानीय विकास निर्माणलाई ब्यापकता दिने प्रयत्न भइरहेको छ । त्यसले स्थानीय तहको विकासमा तीव्रता पनि ल्याएको छ । हाम्रो क्षेत्रमा ५ पालिकाहरू र विशेषगरी सूर्याेदय नगरपालिकामा भएका विकासलाई हेर्दा यो कुरा पुष्टि हुन्छ ।
त्यसो भएको हुनाले प्रत्येक पालिकाले विकास र निर्माणको योजना बनाउँदा खाली बार्षिक कार्यक्रम र बजेट बनाएर मात्र होइन प्रत्येक गाउँपालिका र नगरपालिकाले विकास निर्माण र रूपान्तरणका ५ वर्षे, १० वर्षे र २५ वर्षे योजनाहरू बनाएर अघि बढ्नुपर्छ । तब मात्र विकासका फलहरूलाई आम जनता समक्ष पुयाउन सकिन्छ ।
उपरोक्त कुराहरू हामीले गरेका विकास, निर्माण र रूपान्तरणका केही महत्वपूर्ण पक्षहरू मात्र हुन् । विस्तृतमा जानुपर्दा हाम्रा सामु लामो फेहरिस्त तयार हुन्छ । मैले यो अपिलमा तपाईं समक्ष आफ्नो पहलमा भएका मुख्य मुख्य कामहरूलाई मात्र प्रस्तुत गरेको छु । यी उपरोक्त १६ क्षेत्रमा हाम्रो विकासका कामहरूलाई अझ गहिरो, व्यापक र तीव्र बनाउनु पर्छ नै । विकास र निर्माण भनेको निरन्तर जारी हुने प्रक्रिया हो । यो एक पटक गरेर टुङ्गिदैन । त्यसैले हामीले यो प्रक्रियालाई जारी राख्दै अब आउने कार्यकालमा हामी के गर्छाै भन्ने बारेमा आगामी योजनाहरू प्रस्तुत गर्न चाहन्छु ।
आगामी दिनमा हामीले गर्ने कामहरू
१. सङ्घीय र प्रदेश निर्वाचन क्षेत्रका सबै पालिका, वार्ड र गाउँहरूमा कालोपत्रे पक्की सडक सञ्जाल विकास गरिनेछ,
२. सीमा मार्ग निर्माणको प्रक्रियालाई प्रार्थमिकतासाथ अगाडि बढाइनेछ,
३. प्रस्तावित चक्रपथलाई सिङ्गो निर्वाचन क्षेत्रभर व्यवस्थित गर्ने गरी निर्माण कार्य अगाडि बढाइनेछ,
४. यो क्षेत्रमा उत्पादित फलफूल, अन्न, मासुजन्य पदार्थ तथा दुधजन्य पदार्थको व्यवस्थापनको लागि कोल्ड स्टोरहरूको स्थापना गरिनेछ ।
५.यो क्षेत्रका पर्यटकीय स्थलहरू पाथिभरा, कन्याम, श्रीअन्तु, माइपोखरी, सन्दकपुर लगायतका सबै पर्यटकीय क्षेत्रलाई अत्याधुनिक व्यवस्थापनका साथ अझ सुन्दर, आकर्षक र लाभकारी बनाइनेछ । साथै, यी पर्यटकीय स्थानहरुमा भएका होमस्टेहरुलाई अझ प्रभावकारी बनाउन पहल गरिनेछ ।
६. शिक्षालाई अझ जनमुखी बनाइनेछ, त्यसलाई समुन्नत बनाइनेछ, त्यसलाई निशुल्क बनाउँदै लगिने छ, र उच्च शिक्षा प्राप्तिको केन्द्र समेत बनाउने उद्देश्यले यो क्षेत्रलाई अघि बढाइनेछ । सबैलाई शिक्षाको ग्यारेण्टी हाम्रो उद्देश्य हुनेछ । साथै गरिव, जेहेन्दार तथा अति विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि विशेष शैक्षिक कार्यक्रम लागु गर्न पहलकदमी गरिनेछ,
७. स्वास्थ्य सेवामा हाल रहेका अस्पताल र चौकिहरूलाई व्यवस्थित बनाउनुका साथसाथै इलाममा उच्चस्तरको शिक्षण अस्पताल बनाउन पहल गरिनेछ, साथै सबैलाई आधारभूत स्वास्थ्यका लागि निःशुल्क सेवाको प्रबन्ध गर्न स्वास्थ्य वीमाको कार्यक्रमहरू प्राथमिकताका साथ लागु गरिनेछ,
८.चियाको विकासलाई विशेष ध्यान दिइनेछ । चिया उत्पादनहरूलाई न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्ने, चियाको स्थिर बजार खोज्ने, बजार विविधीकरण गर्ने र चिया बगान र उद्योगलाई नेपालको राष्ट्रिय उद्योगका रूपमा संरक्षण र विकास गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाइनेछ,
९.स्थानीय तहले विगत पाँच वर्षमा गरेका विकास र निर्माणका कामलाई समीक्षा गर्दै स्थानीय तहलाई अझ बढी अधिकार र बजेट दिलाउने कुरामा पहल गरिनेछ,
१०. बिजुलीको ग्रिडलाइनलाई सवै पालिका, वडाहरू र गाउँहरूसम्म पुग्ने गरी विस्तार गरिनेछ, प्रत्येक परिवारमा बिजुली पु¥याइनेछ र विद्युतलाई दैनिक खाना पकाउने, दैनिक आवश्यकता पूर्ति गर्ने, उद्योगहरू बिजुलीबाट नै सञ्चालन गर्ने, साथै बिजुली गाडीहरू प्रयोग गर्ने प्रक्रिया अगाडि बढाइनेछ । सबै पालिका र वार्डहरूले आफ्नो जनतालाई यसका निम्ति शिक्षित प्रशिक्षित गर्दै अगाडि बढाईने छ,
११.फिक्कल बजार विगत पाँच वर्षका अवधिमा मात्र पनि व्यापक रुपले विस्तार हुँदै गएको छ र त्यो त्रिभुजाकार शहरको रुपमा विकसित भइरहेको छ । यसलाई अहिलेदेखि नै योजनाबद्ध रूपले विकास गर्दै लानुपर्नेछ र सबै प्रकारका आधुनिक सुविधाहरू भएको सुन्दर, सभ्य, स्वस्थ र व्यवस्थित शहरको रूपमा विकास गर्न ठोस पहल गरिनेछ,
१२.फिक्कल बजारलाई व्यवस्थित रुपमा विकास गर्न त्यहाँ पनि आधुनिक वस अड्डा निर्माण गर्न पहल गरिनेछ । साथै, एउटा पब्लिक हल बनाउन पनि पहल गरिनेछ,
१३. यो क्षेत्रमा सूर्याेदय नगरपालिका, माइनगरपालिका लगायत सबै पालिकाहरूलाई व्यापक रुपले हरियालीकरण गरिनेछ र हाम्रो क्षेत्रलाई देशकै वातावरणीय हिसाबले पनि नमूना निर्वाचन क्षेत्र बनाउन पहल गरिनेछ,
१४. यो क्षेत्रमा आमजनतालाई आधुनिक सञ्चार प्रणालीसम्म हर प्रकारले आवद्ध गरिनेछ र सूचनाको खाडल बन्न दिइने छैन,
१५. यो क्षेत्रमा चिया प्रशोधन उद्योगहरू त विकास गरीरहेकै छन् । त्यसका साथसाथै चिया अनुसन्धान केन्द्र र चिया अक्सन केन्द्र स्थापनाका लागि समेत पहल भइरहेको छ । त्यसबाहेक यो क्षेत्रमा उत्पादन हुने कृषि उपजहरू माथि आधारित विभिन्न उद्योगहरूको विकास गर्ने सम्बन्धमा अध्ययन गरिनेछ र त्यस्ता उद्योगहरू स्थापनाको लागि पहल गरिनेछ,
१६. यो क्षेत्रका नाकाहरूबाट भारतसँग हुने व्यापार व्यवसायलाई अझ व्यवस्थित, नियमित र अवरोधरहित बनाउन ठोस प्रयत्न गरिनेछ,
१७. आज विश्वमा बजार र प्रविधिको तीव्र रुपले विकास भैरहेको छ । प्रविधिमैत्री नवनिकन कुनै पनि राष्ट्रको आधुनिक विकास सम्भव छैन । हाम्रा सबै पालिकाहरू, वार्डहरू, विद्यालयहरू र अन्य महत्वपूर्ण सार्वजनिक संस्थाहरूलाई समेत अव प्रविधिमैत्री बनाइने छ । तब मात्र आधुनिक विकासको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवाहसँग हाम्रो क्षेत्रको विकास प्रवाह पनि जोड्न सकिन्छ ।
सम्पूर्ण बाम-लोकतान्त्रिक दिदीबहिनी तथा दाजुभाइहरू !
हाम्रो देशमा यतिबेला बहुदलीय लोकतन्त्र छ । हामीहरू सबै कोही समाजवादी पार्टीमा, कोही कांग्रेस पार्टीमा, कोही माओवादी पार्टीमा, कोही जनता समाजवादी पार्टीमा र कोही एमाले पार्टीमा संगठित भएका छौं । तर हामी सबै पार्टीका कार्यकर्ताहरू संविधानको भावना अनुरुप समाजवादको लक्ष्यतिर अघि बढ्न चाहन्छौं । हामी यो निर्वाचन क्षेत्रका पार्टीहरू पनि एउटा समृद्ध इलाम र सुखी इलामेलीको सपना साकार पार्ने सम्पूर्ण इलामेली जनताको उत्कट चाहनालाई मुर्त रुप दिन चाहन्छौं । हामी त्यो बाटोमा अघि बढ्दै आएका पनि छौं । तर पहिलो निर्वाचन पछि जनता र राष्ट्रका अपेक्षाका विपरित मुलुक अस्थिरता र अनियमितता तिर लान देशको प्रधानमन्त्री स्वयम्बाट बिनाकारण प्रतिनिधि सभा भङ्ग गरेर घोर असंवैधानिक कदम चालियो । मुलुकको लोकतन्त्र, गणतन्त्र र व्यवस्थामाथि नै खतरा पैदा गरियो र यो मुलुकलाई प्रतिगमनतिर लान खोजियो । जसले गर्दा ती खतराका विरुद्ध लड्न हामी बामपन्थी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता उत्पन्न भयो । त्यही एकताका साथ आज हामी देशव्यापी रुपमा आपसी तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभाको आगामी २०७९ मंसिर ४ गते हुने निर्वाचनमा होमिएका छौं ।
त्यसैले,
१. वर्तमान संविधानको रक्षा गर्नको निम्ति,
२. वर्तमान लोकतन्त्रको रक्षा गर्नको निम्ति,
३. वर्तमान गणतन्त्रको रक्षा गर्नको निम्ति,
४. वर्तमान राजनीतिक परिपाटीको रक्षाको निम्ति,
५. मुलुकमा राजनीतिक स्थिरता कायम राख्नको निम्ति,
६. मुलुकको सामाजिक–आर्थिक रुपान्तरणलाई तीव्र बनाउनको निम्ति,
७. मुलुकको राष्ट्रियतालाई सुरक्षित र सुदृढ गर्नका निम्ति,
८. मुलुक र जनतालाई क्रमशः समाजवादको दिशामा अघि बढाउनको निम्ति, हामी गणतन्त्रका पक्षधर बाम-लोकतान्त्रिक शक्तिहरू एकजुट भएका छौं ।
आदरणीय जनसमूदायहरू !
तपाईंहरूलाई थाहै छ, तपाईहरूले मलाई २०४८ सालदेखि सूर्य चिन्हमा मत हाल्दै आउनुभएको थियो । तर सुर्य चिन्ह भएको एमाले पार्टीको नेतृत्व गुट अहिले घोर दक्षिणपन्थी भएको छ, संविधान बिरोधी भएको छ, पुँजिवाद पन्थी भएको छ, विदेशीहरूको इशारामा चल्ने भएको छ, राजावादीहरूसँग गठबन्धन गर्ने अवस्थामा पुगेको छ, राजावादीहरूलाई सूर्य चिन्हमा टिकट दिने तर समाजवादका निम्ति लड्ने देशभक्त योद्धाहरूलाई पार्टीबाट निष्काशन गर्ने काम गर्दैछ । तसर्थ, त्यो गुटले आज सूर्य चिन्हकै बदनाम गरिरहेको छ । त्यसैले म यसपटक तपाई हामी सबै जनतालाई चाहिने, हाम्रा प्रत्येक बालबालिकालाई चाहिने पवित्र चिन्ह ‘कलम’ लिएर प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार भएर तपाईहरू समक्ष आएको छु । त्यसैले यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तपाईहरू सबैलाई कलम चिन्हमा छाप लगाएर अत्याधिक मतले मलाई विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।
साथै, तपाईहरूलाई थाहै छ हामी यसपटक गठबन्धनका उम्मेदवारहरूको साझा टिम लिएर आएका छौं । हाम्रो निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (१) मा तपाईहरूसँग चिरपरिचित युवा महिला नेतृ खिनु लङ्वा नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट कलम चिन्ह लिएर चुनावी मैदानमा आउनुभएको छ । त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसका युवा नेता शमशेर राई रुख चिन्ह लिएर चुनावी मैदानमा आउनुभएको छ । हाम्रा चिन्हहरू आ-आफ्नो भएपनि हामीहरू यसपटक माथि भनिएका आठवटा उद्देश्यहरू पूरा गर्न गठबन्धनका साझा उम्मेदवारको रुपमा तपाईहरू समक्ष खडा भएका छौं । हामी नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सबै पार्टीहरूका साझा उम्मेदवार हौं । त्यतिमात्र नभएर हामी एमाले भित्रका न्यायप्रेमी, संविधान, गणतन्त्र, लोकतन्त्र र समाजवादका पक्षधर कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूका पनि उम्मेदवारहरू हौं । त्यसैले हाम्रा चुनाव चिन्हहरूमा अमूल्य छाप लगाएर हामीलाई अत्याधिक बहुमतले विजयी गराउनका निम्ति म तपाई सम्पूर्ण न्यायप्रेमी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक अपिल गर्दछु ।
झलनाथ खनाल
उम्मेदवार, इलाम सङ्घीय निर्वाचन क्षेत्र नं १
पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता नेकपा (एकीकृत समाजवादी)