मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार विरोध खतिवडाले कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन गर्दै नेकपा ( एकीकृत समाजवादी ) का स्थायी समिति सदस्य समेत रहनु भएका नेता खतिवडाले आफ्नो क्षेत्रमा गत स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पनि आफूलाई जिताउन आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाएको खुलासा गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘एमालेबाट चुनाव जितेका झन्डै आधा दर्जन वडाध्यक्षले मलाई यो चुनावमा सघाउने प्रतिबद्धता जनाइ सक्नु भएको छ । त्यसो हुँदा हामी दोब्बर मतले विजय हुन्छौं ।’
खतिवडाले आफूलाई सघाउने बचन दिएका वडाध्यक्षको नामै भनिदिन मन भएपनि भोलि एमालेले उनीहरूलाई असजिलो पार्ने भएकाले उनीहरूको परिचय भने अहिले गोप्य राख्नुपर्ने बताउनु भयो । ‘मलाई र गठबन्धनलाई जिताउन लागिपरिरहेका उनीहरुको नामै पनि भनिदिन हुन्थ्यो । तर नामै भन्दा अरिङ्गालहरूले गएर झम्टिएलान् । उनीहरु माथि प्रहार होला भन्ने डर भएकाले अहिलेलाई हामी ढुक्क भएर बस्दा मात्र हुन्छ ।’
एमाले अध्यक्ष केपी ओली प्रतिगामी भएकाले आफूहरुले विद्रोह गरी गठबन्धन बनाएर जनताको माझमा आएको उहाँले बताउनु भयो । इन्द्रसरोवर गाउँपालिका पर्यटन विकासको सम्भावना भएको ठाउँ भएकाले यसको विकासका लागि लागिपर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।
‘इन्द्रसरोवर फेवातालको विकल्प बन्नेछ । यसबाट पर्यटकीय विकास हुनेछ ।’ खतिवडाले भने, ‘पर्यटन, होटल र अन्य व्यवसायका लागि यसबाट फाइदा पुग्नेछ ।’ उहाँले संघीय सरकारले सात वटा प्रदेशको सात स्थानलाई पर्यटकीय क्षेत्र भनेकोमा बागमती प्रदेशमा इन्द्रसरोबरलाई एक नम्बरमा पारिएको उल्लेख गर्नुभयो ।
यस्तै, क्षेत्र नम्बर २ को प्रदेशसभा १ का उम्मेदवार कुमारी मोक्तानले बागमती प्रदेशमा चार वर्षसम्म एमालेका डोरमणि पौडेलको सरकार भएकाले चाहेर पनि आफूले सोचजति काम गर्न नपाएको बताउनु भयो । ‘डोरमणि पौडेल मुख्यमन्त्री भएकाले आफ्नालाई छानी छानी बजेट दिए ।’ मोक्तानले भन्नुभयो ,‘चार वर्षमा विकास गर्न सकिएन । गठबन्धन बनेपछिको एक वर्षमा तपाईँहरूका लागि सकेजति बजेट ल्याइयो ।’
निर्वाचन परिचालन कार्यालय उद्घाटन नेपाली कांग्रेसका इन्द्रसरोवर गाउँपालिकाका सभापति विश्व लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।