काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) ले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई एकीकृत राजधानी सहरका रूपमा विकास गर्ने घोषणा गरेको छ ।
एकीकृत समाजवादीले सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा काठमाडौं, भक्तपुर र ललितपुरलाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने र राजधानीको विकासका लागि छुट्टै ऐन निर्माणका लागि पहल गरिने उल्लेख गरेको छ ।
‘ऐतिहासिक तथा पुरातात्विक संरचना र वस्तीहरुलाई संरक्षित गर्ने, अव्यवस्थित संरचनालाई उचित मुआब्जा दिई अधिग्रहण गर्ने, राजधानीलाई फोहोर, हिलो, धुलो र प्रदूषणमुक्त बनाउने, राजधानीका नदी, खोला–नाला र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाउने,’ घोषणापत्रमा भनिएको छ, ‘वागमती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत नदी र खोलाहरूलाई सफा एवं स्वच्छ राख्ने, पशु छाडा छोड्न रोक लगाउने र पेट्रोलियम वाहनहरूलाई विद्युतीय वाहनमा परिणत गर्न प्रोत्साहन गर्ने तथा २०८५ साल पश्चात राजधानीमा सञ्चालन हुने सबै सवारी साधन विद्युतीय हुने गरी व्यवस्था मिलाउने ।’ घोषणपत्रमा भनिएको छ ।
‘हरित सहर, राम्रो सहर’ अवधारणा अनुसार सडकहरूको दायाँ-बायाँ फल-फूलका बिरुवा लगाई सडकको सौन्दर्य बढाउने र तिनको संरक्षण गरी राजधानीलाई हरियाली सहरको रूपमा विकास गर्ने व्यवस्था मिलाउन पहल गर्ने र ‘मेरो सहर, म बनाउछु’ भन्ने उद्घोषका साथ सफा, सुरक्षित र सभ्य सहर बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा भित्री, बाहिरी र बृहत गरी तीनओटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्न पहल गर्ने पनि उल्लेख छ । काठमाडौं उपत्यकाको भूमीगत जल स्तर प्रत्येक वर्ष घटिरहेको छ र जसले गर्दा यहाँको जमिन भासिंदै गइरहेकाले प्रत्येक घरले पानी पुनर्भरणका लागि आवश्यक संरचना अनिवार्य रूपमा बनाउनु पर्ने कानुनी व्यवस्था गरी लागु गर्ने र सम्भव भएसम्मका सबै घरहरू आकाशे पानी संकलन तथा प्रयोग परियोजना लागु गर्ने विषयमा पनि घोषणापत्रमा समेटिएको छ ।