इलाम । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल यतिखेर इलाम १ क्षेत्रमा व्यस्त हुनुहुन्छ । आसन्न प्रदेश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेता खनाल पनि आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न कार्यकर्ताहरूको घर घर पुग्दै हुनुहुन्छ ।
इलामको क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार रहनु भएका खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा पुग्दै हुनुहुन्छ । गठबन्धनका साझा उम्मेदवार खनाललाई मत माग्न खासै अप्ठ्यारो छैन । किनकी उहाँले यस अघिका यस्ता आधा दर्जन निर्वाचनमा यही क्षेत्रको प्रतिनिधित्व गरिसक्नु भएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का सम्मानित नेता खनाललाई इलाम क्षेत्र नम्बर १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले साथ दिएका छन् । खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा कार्यक्रमका साथ मत मागी रहनु भएको छ । नेकपा एमालेबाट विद्रोह गरेपछि उहाँ नेकपा एकीकृत समाजवादी बाट चुनावी मैदानमा उत्रनु भएको हो ।
खनालले आफ्नो निर्वाचन क्षेत्रमा आफूसँगको कुनै प्रतिस्पर्धी नै नभएको बताउँदै आउनु भएको छ । चुनाब जित्नेमा ढुक्क रहनु भएका खनाल आफैले राजनीतिमा डोहोयाएकाहरुसँग खासै प्रतिष्पर्धा नहुनेबताउँदै आउनु भएको छ । खनालसँग मुख्य गरी नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग प्रतिष्पर्धा हुँदै छ । इलामको अर्को निर्वाचन क्षेत्रबाट आएर चुनावमा सहभागि भएका बस्नेतकै कारण पनि खनाललाई थप सजिलो भएको विश्लेषकहरूले बताउँदै आएका छन् । किनकी अर्को निर्वाचन क्षेत्रबाट आएका बस्नेतलाई उहाँकै पार्टीका कार्यकर्ताहरुले टुरिस्ट भन्ने आरोप लगाउँदै आएका छन् ।
इलामको निर्वाचन क्षेत्र नं १ मा सूर्योदय र माई नगरपालिका तथा माइजोगमाई , सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । इलाम नगरपालिकाको वडा नम्बर १० पनि पर्दछ । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नम्बर १ मा गठबन्धन निक्कै बलियो देखिन्छ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी भएका थिए ।
कांग्रेसका दुर्गा बराल उप प्रमुखमा बिजयी भएका छन् । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितको थियो । ३९ वटा वडा रहेको खनालको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले १६ ,एमालेले १५ ,समाजवादीले ७ र स्वतन्त्रले एक वडा जितेका थिए । स्वतन्त्र सहित २४ वटा वडा गठबन्धन भित्र छन ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा प्रदेश १ का पर्यटन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता खिनु लङवालिम्बु , २ मा नेपाली कांग्रेसका क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष शम्सेर राई चुनावी मैदानमा छन । यी दुबै उम्मेदवार विगतको कामका कारण मतदाता माझ पपुलर छन ।
नेपाली कांग्रेस सूर्योदय नगर समितिका सभापति जीवन नेपाल पूर्व प्रम खनाललाई कांग्रेस र माओवादीको पूर्ण साथ भएकाले सहज भएको बताउछन् । उहाँले भन्नुभयो ‘स्थानीय निर्वाचनले गठबन्धन सिकायो, अहिले गठबन्धन झन मजबुद भएको छ ।’ गठबन्धनमा अहिले कुनै समस्या छैन । निर्वाचन पछि नेता खनाल सम्मानित स्थानमा पुग्ने भन्ने चर्चाले पनि उहाँ तर्फ थप आकर्षण वढेको बताइन्छ । खनालले मत माग्दा आफू देश र जनताको पक्षमा सधै लडेको बताउने गर्नुभएको बताइन्छ ।
नेकपा एकीकृत समाजवादीका नेता तारा नेपाल गठबन्धनलाई सहज बनाउन संयुक्त कार्यक्रम लिएर गाउँ गएको बताउनु हुन्छ ।