पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकास र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताउनु भएको छ ।
आइतबार पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राख्दै बरालले ‘ मुल उद्देश्य भनेकै विकास र समृद्धि हासिल गर्ने हो ।
यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजु भाईदिदि बहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उहाँले भन्नुभयो ।
बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्माण गर्ने प्रतिवद्धता जनाउँदै सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पुर्याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरूमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने बताउनु भयो ।
प्रतिनिधि सभा उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट व्यक्त गर्दै निर्वाचित भएपछि टेलिभिजनमा कहिलेकाहीँ हेर्नुपर्ने र मेरो जनप्रतिनिधिले के गर्दैछन् भन्नेसम्मको जानकारी मतदातामा नहुने विडम्बना पूर्ण अवस्थालाई आफूले तोड्ने र जनप्रतिनिधिले कसरी काम गर्नसक्छन् ।
जनताको बीचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उहाँले बताउनु भयो । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेका छन् भन्ने थाहा नहुने, कहिलेकाँही टेलिभिजनका स्किृनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसद्मा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु । जनप्रतिनिधिले यसरी हो काम गर्ने भनेर उदाहारण दिन चाहन्छु,’ उहाँले भन्नुभयो । , ‘मलाई आशा छ तापाइँले मेरो यो चाहना पुरा गर्नुहुनेछ । यहाँले चुनेको प्रतिनिधिले उहाँसँगै रहेर यहाँका अपेक्षा पुरा गर्नेछ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताउनु भयो । आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको बताउँदै उहाँले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनताको जननादेश विर्सेर विचमै संसद र संविधान माथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताउनु भयो । कार्यक्रममा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुरखत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एकीकृत समाजवादीका १५ का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नुपर्नाका कारणका बारेमा बताउनु भएको थियो ।