काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदातालाई अपिल गरेको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा सो अपिल गरिएको हो ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘‘केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिबद्धता व्यक्त गर्दछौँ । साथै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूचि सार्वजनिक गरिएको छ । केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ ती स्थानमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’’साथै, केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउन प्रतिबद्धता पनि जनाएको छ ।
जसअनुसार सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को २ मा कांग्रेसका सञ्जय प्रकाश यादव र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोद यादवको नाममा सहमति जुटाउन छलफल जारी छ । यस्तै धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाबीच मित्रवत प्रतिस्पर्धा हुने निश्चित भएको छ । यस्तै महोत्तरी–२ को प्रदेश १ मा एकीकृत समाजवादीकी मञ्जु यादव र लोसपाका जयनुल राइनको नाममा छलफल जारी छ भने सर्लाही १ को प्रदेश १ मा माओवादीका रामचन्द्रसिंह कुसवाहा र लोसपाका उपेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यसैगरी बारा १ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा कांग्रेसका नागेन्द्र कानु र नेकपा एकीकृत समाजवादीका बतहु यादवबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ भने पर्सा ३ को प्रदेश २ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एसका प्रह्लाद गिरिबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी काठमाडौं १० मा कांग्रेसका राजन केसी र माओवादीकी अञ्जना विशंखेबीच मित्रवत हुने भएको छ भने सोही क्षेत्रको प्रदेश १ मा कांग्रेसका पुकार महर्जन र माओवादीका दिलिप महर्जनबीच मित्रवत प्रतिस्पर्धा नै हुने निश्चित भएको गठबन्धनले जनाएको छ । यसैगरी काठमाडौं ३ को प्रदेशसभा २ मा कांग्रेसका विमल ठकरी र माओवादीका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा हुनेछ भने काठमाडौं ५ को प्रदेश २ मा कांग्रेसका श्याबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत प्रतिस्पर्धा हुनेछ ।
यस्तै स्याङ्जा २ को प्रदेश १ मा कांग्रेसका भोजराज अर्याल र एसका रामचन्द्र भट्टराईको नाममा छलफल जारी रहँदा कपिलवस्तु १ को प्रदेश २ मा पनि कांग्रेसका सहसराम यादव र नेकपा एकीकृत समाजवादीका फजलुर खानको नाममा छलफल जारी छ । यस्तै रुपन्देही १ मा एमालेमान विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिनुभएका नेता घनश्याम भुसाललाई गठबन्धनले समर्थन गरेको छ । यस्तै बाँके २ को प्रदेश १ मा कांग्रेसका राजकुमार बर्मा र नेकपा एकीकृत समाजवादीका समसद्दिन सिद्दिकीबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यस्तै रौतहट ३ मा गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु शाहलाई समर्थन गरेको छ ।
यसैगरी हुम्लाको प्रदेश १ मा माओवादीका रनसिंह परियार र नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाहीको नाममा छलफल जारी छ भने सुर्खेत २ को १ मा कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय तथा २ मा कांग्रेसका विन्दमान विष्ट र नेकपा एकीकृत समाजवादीका मोहन बडुवालको नाममा छलफल जारी छ । यसैगरी बाजुराको प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाही र माओवादीका कर्णबहादुर विश्वकर्माको नाममा छलफल जारी छ । यस्तै कञ्चनपुर २ को प्रदेश २ मा कांग्रेसका बहादुरसिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत हुने निश्चित भएको गठबन्धनले जनाएको छ ।