काठमाडौं । पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ।
देवकोटाको १ सय चौधौं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’ महेश पौड्यालद्वारा अनूदित ‘द हाइकु थेरोटिकलम्यान्युल’ र कमला घिमिरेका हाइकु संग्रह ‘महको महल’ र बाल कविता संग्रह ‘मामाघर’ को लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जु काँचुलीले सानो छँदा देवकोटा पदक पाएको सम्झिदै देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको बताउनु भयो।
त्यसैगरी काँचुलीले विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्रलाई साहित्यकार महेश पौड्यालले अंग्रेजीमा द हाइकु अ थ्योरोटिकल म्यानुअल अनुवाद गरेर सुनमा सुगन्ध थपेको बताउनु भयो ।
कार्यक्रममा साहित्यकार पुष्कर लोहनीले महको महल हाइकु संग्रह ‘महको महल’ मा राजनीति व्यंग्य, मानवीय संवेदना, प्रेम प्रणय,बिछोड जस्ता विविध विषय समेटिएको बताउनु भयो ।
त्यसैगरी साहित्यकार ललिता दोषीले बाल कविता संग्रह ‘मामाघर’ का कविताले बालबालिकालाई मनोरञ्जन दिँदै उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउने बाल उपयोगी पाठ्यसामग्री आएको बताउनु भयो।
कृतिकार कमला घिमिरेले सुरुसुरुमा लेखेर बालबालिकालाई सुनाउने मात्रै गरेको र लक डाउनको समय उपयोग गर्दै सम्पादन गरेको सिर्जनालाई पुस्तकाकार रूप दिएको बताउनु भयो ।
कार्यक्रमको अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपालले मोफसलमा बसी साहित्य साधना गरेको भन्दै काव्य घर झापा एवं एभरेस्ट न्यूज टेलिभिजनका राजकुमार खड्गालाई पेरोल साहित्य स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ समालोचक महेश पौड्यालले नेपाली साहित्यमा देवकोटाको अतुलनीय योगदान रहेको भन्दै ,‘नेपाललाई केन्द्रीयतामा राखेर देवकोटाले कसरी तिब्बत, ग्रीस , युरोप जस्ता धेरै ठाउँलाई लेखनीमा समावेश गरे, त्यसको अध्ययन अनुसन्धान गर्न बाँकी छ। अब यस विषयमा चासो देखाउनुपर्ने बेला भएको बताउनु भयो ।’ साहित्यकार रामबाबु सुवेदीले देवकोटाको गरीब कविता वाचन गर्दै उहाँको सम्झना गर्नुभएको थियो ।
पेरोल साहित्य प्रतिष्ठानका अध्यक्ष रेनुका भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रकाश समीरले चलाएको कार्यक्रममा स्रष्टाहरू अन्जना पौडेल, विक्रम भक्त जोशी, सानु शर्मा, श्रीराम राई, गायक सन्देश पौडेल ,खोलाघरे साईलो ,बासुदेवअधिकारी ,कृष्णप्रसादरिजाल ,लेखनाथ सिकारु लगायतको उपस्थिति रहेको थियो।