हेटौँडा ।
नेकपा ( एकीकृतसमाजवादी ) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको कार्यक्रममा बोल्दै जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बर भत्किएको बताउनु भयो ।
‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भन्नु भयो, ‘पार्टीको रिसले दुई-दुई पटक संसद् विघटन गरे ।’
‘२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु हाम्रो गठबन्धनमा छन्,’ खतिवडाले भन्नुभयो, ‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारीसँगै गुण्डा नाइकेहरू बोकेर निर्वाचनमा होमिएको छ ।’
खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताउनुभयो ।
शुक्रबार नै मकवानपुरको कैलाशस्थित कालिकाटारमा भएको गठबन्धनकै अर्को कार्यक्रममा खतिवडाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो,
‘गठबन्धनका सबै उम्मेदवारले जित्छन्, धोकाधडी हुन्छ भनेर भ्रम मात्र फैलाइएको हो ।’ उहाँले आफू जितेर प्रदेशका उम्मेदवार हार्ने वा प्रदेशका उम्मेदवार जितेर आफू हार्ने अवस्था नभएको र त्यस्तो भएमा आफू र प्रदेशका विजयी उम्मेदवार समेत नैतिकता देखाउँदै राजीनामा दिन भएको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताउनु भयो । कालिकार भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरु चर्चा गर्नु भयो ।
‘भीमफेदीमा २ अर्ब ८६ करोडका १ सय १७ योजना प्रदेश सरकारले ल्याएको छ,’ मोक्तानले भन्नुभयो, ‘संघ र प्रदेशमा मन्त्री तथा मुख्यमन्त्री बन्ने अनुहारहरु मकवानपुरकै भएकाले जनताका समस्या समाधानमा राजनीतिक पहुँच अरु बलियो हुनेछ ।’
प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सहिदको हत्यारालाई उम्मेदवार बनायो, साढे ३ वर्ष केन्द्र र प्रदेश सरकार हुँदा मकवानपुरको विकासमा एमालेले केही पनि काम गरेन ।’ दुवै सभामा संघ र प्रदेश सभाका गठबन्धनका उम्मेरदवार सहभागी हुनुहुन्थ्यो ।