काठमाडौं । नेकपा ( एकीकृत समाजवादी )का अध्यक्ष माधव नेपालले लामो सङ्घर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न निरन्तर पहल गरिरहेको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट एक अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउनु भएको हो ।
नेपाल द्वारा हस्ताक्षरित अपिलमा भनिएको छ , ‘हामी प्राप्त उपलब्धीहरूको रक्षा गर्दै थप उपलब्धीहरूको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा छौैँ । यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धीहरूको रक्षा र अग्रगमनको पक्षमा मत जाहेर गर्नेछन् ।’
‘सरकारले जनअपेक्षा र निर्वाचनका बेलामा जनतासमक्ष गरिएका प्रतिबद्धता अनुरुप काम नगरेको मात्रै होइन। भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रुपमा कुठाराघात भयो । नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै नभएर कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्दै ओलीको कारणले कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति भएको भनाइ छ ।
‘एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्यौँ। अहिले हामी कलम चुनाव चिन्ह लिएर यहाँहरु माझ आएका छौँ ।’ अहिलेसम्मको उपलब्धी को रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने जिकिर गरेका छन् ।
अपिल
नेकपा (एकीकृत समाजवादी)को अपिल
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
यही २०७९ मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न हुँदैछ । यस निर्वाचनमा नेपाली जनताको लामो र वलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूका लागि निरन्तर पहल गरिरहने पक्ष र प्राप्त उपलब्धिहरूलाई समाप्त गरेर भए पनि आफ्नो स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबिच प्रतिस्पर्धा हुन गइरहेको छ । जनताले यी दुई पक्षमध्ये प्राप्त उपलब्धिहरूको रक्षा र विस्तार गर्न चाहने पक्षलाई छान्ने कि यसको विरोधी पक्षलाई छान्ने भन्ने पैmसला गर्नुपर्ने छ । हामी प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षामा छौँ र यही अडानमा रहिरहने छौँ । हामीलाई के विश्वास छ भने जनताले प्राप्त उपलब्धिहरूको रक्षा र अग्रगमनको पक्षमा नै मत जाहेर गर्ने छन् ।
२०७४ सालको निर्वाचनमा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएको थियो तर त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भयो । आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न हुनगयो । त्यति मात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो । हामीले नेकपा (एमाले) मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्न धेरै प्रयास ग¥यौं तर सुधार हुन सकेन । एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन ग¥यौँ र अहिले हामी ‘कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।
आदरणीय जनसमुदाय,
हामी दशकौँको सङ्घर्ष र सयौँको वलिदानीपश्चात गठन भएको संविधानसभाबाट जनताले आफ्ना प्रतिनिधिमार्पmत बनाएको संविधानको रक्षा गर्न चाहन्छौँ । सामन्ती राजतन्त्रलाई परास्त गरेर स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यसलाई समाजवादी लोकतन्त्रमा विकास गर्न चाहन्छौँ । मुलुकको विकासका निम्ति लोकतान्त्रिक प्रणालीको स्थिरता अपरिहार्य हुन्छ । त्यसैले हामी स्थिरताको पक्षामा छौँ । हामी संविधानको सर्वोच्चता, विधिको शासन, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरण, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताहरूप्रति प्रतिबद्ध छौँ । तर, महङ्गो निर्वाचन प्रणालीलगायत वर्तमान प्रणालीमा रहेका कमीकमजोरीहरूमा भने सुधार गर्न चाहन्छौँ ।
अहिले मुलुकमा भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शीता र ढिलासुस्ती क्यान्सर रोग जस्तै गरी पैmलिरहेको छ । सङ्घीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्न पनि सकिएको छैन । हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शीता, शक्ती पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको कार्य सम्पादन र संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने तथा छिटो, छरितो र समय सीमाभित्र निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढप्रतिज्ञा छ ।
नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, लगातार बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, युवाहरूको विदेश पलायन, कृषिबाट सक्रिय जनशक्तिको पलायन, वार्षिक बजेटमा ऋणको निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महङ्गीको अचाक्ली वृद्धि, मिटर ब्याजीको शोषण, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् । जबसम्म हाम्रो आफ्नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिदैन तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिदैन र हाम्रो परनिर्भरता कायमै रहन्छ । कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधीलगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । राष्ट्रिय उत्पादनमा वृद्धि गरी निर्यातमा बढोत्तरी र आयतमा कटौति गरेर व्यापार घाटा कम गर्दै लानुपर्ने छ । यी सव काम गर्नका निम्ति हामीलाई जनताको साथ चाहिएको छ ।
हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो । वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिदैन । हामी वर्तमान नेपाली समाजमा व्यापक रूपले आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादका आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ । द्रुततर आर्थिक विकाससहितको समृद्धिको यात्राबाट अगाडि बढेर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
हामी राज्यले कृषि क्षेत्रमा लगानी बढाई कृषिको आधुनिकीकरण र कृषि उत्पादनमा वृद्धि गरेर मुलुकलाई खाधन्न निर्यात गर्ने अवस्थामा पु¥याउनु पर्दछ भन्ने पक्षमा छौँ । कृषिजन्य तथा जडीबुटीजन्य उद्योगहरू स्थापना गरी सञ्चालन गर्नुपर्दछ भन्ने पक्षमा छौँ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना र सञ्चालन, भौतिक पूर्वाधार निर्माणमा विस्तार, पर्यटनमैत्री पूर्वाधारहरूको निर्माण तथा प्राकृतिक सुन्दरताको संरक्षण गर्दै पर्यापर्यटनको विकास, जलद्यिुत तथा नवीकरणीय ऊर्जाको उत्पादनमा वृद्धि र व्यापार, युवाहरूलाई व्यापक रूपमा सीप तालिमको व्यवस्था, युवा उद्यमीहरूलाई प्रोत्साहनस्वरूप राज्यको तर्पmबाट बिउ पूँजीको व्यवस्था, रोजगारीको सिर्जना, शिक्षालाई रोजगारीसँग जोड्ने, आधुनिक विज्ञान र सूचना तथा प्रविधिको प्रयोगमा विस्तार एवं दक्ष जनशक्ति उत्पादन, स्वरोजगार नागरिकहरू, घरेलु, साना तथा मझौला उद्योगहरूको संरक्षण तथा प्रवर्धन, वित्तीय क्षेत्रमा रहेका विकृतीहरूको अन्त्य, पुँजी बजारको नियमन, विकास र विस्तार गरी राष्ट्रिय पुँजीको प्रवर्धन, देशको आर्थिक विकासका लागि निजीक्षेत्रसँग सहकार्य, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूलाई अनुसन्धानमूलक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने एवं ज्ञान उत्पादन गर्ने स्थानका रूपमा विकास गर्दै नेपालका विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आदि हाम्रा थप प्राथमिकताका विषय हुन् । त्यसैगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको लगानीमा गुणात्मक रूपले वृद्धि गर्दै र संविधानले मौलिक हकको रूपमा प्रदान गरेको आधारभूत शिक्षा र स्वास्थ्य सेवा जनताले निःशुल्क रूपमा प्राप्त गर्न सक्ने गरी व्यवस्थापन गर्ने हाम्रो अठोट छ ।
हामी गर्भवती तथा सुत्केरी महिला र बालबालिकाहरूलाई पोषणका लागि आर्थिक सहायता गर्ने, बालबालिका तथा महिलाहरूको बेचबिखन, महिला हिंसा, यौन दुरव्यवहार, बलात्कार र आधुनिक समाजमा कलङ्कको रूपमा रहेको छुवाछुत जस्ता जघन्य अपराधहरूलाई पूर्णरूपमा नियन्त्रण र यस्ता अपराधमा संलग्न हुनेलाई हदैसम्मको कानूनी सजायको व्यवस्था गर्दै समाजमा रहेका सबैखाले विभेद, असमानता, अन्धविश्वासजन्य व्यवहार र कुरीतिहरूको अन्त्य गरी समानता र सामाजिक न्यायको अवस्था निर्माण गर्न चाहन्छौँ । सामाजिक सुरक्षाको अंश र दायरा विस्तार गर्न र समाजका सबै समुदायको हक हितमा काम गर्न चाहन्छौँ । त्यसका लागि हामीलाई यहाँहरूको साथ चाहिएको छ ।
हाल हाम्रो देशमा भौतिक विकास–निर्माणका सन्दर्भमा योजना छनौट र कार्य सम्पादन तथा योजना कार्यान्वयन प्रक्रियामा गम्भीर समस्या छन् । योजना छनौटमा दाताहरू र प्रभावशाली ठानिएका जनप्रतिनिधि, नेता र मन्त्रीहरूको दबाबका कारणले लगानी र प्रतिफलको यथार्थ मूल्याङ्कन नगरी विकास आयोजनाहरू लैजाने प्रवृति गम्भीर समस्याका रूपमा रहेको छ । हामी यस्तो प्रणाली बदल्ने पक्षमा छौँ ।
भौतिक विकास गर्नेक्रममा पर्यावरणको विनाश अहिले विश्वव्यापी समस्याको रूपमा रहेको छ, जसका कारण विश्व नै जलवायु परिवर्तनको चपेटामा परिरहेको छ । तसर्थ हामी विकासको सँगसँगै वातावरण संरक्षणलाई पनि उत्तिकै महत्व दिन्छौँ ।
हाम्रो राष्ट्र भूपरिवेष्टित मात्र नभई दुई ठूला शक्तिशाली राष्ट्रहरूको बिचमा अवस्थित समेत छ । यो राष्ट्र इतिहासमा कहिल्यै कसैको उपनिवेश नभएको त हो तर बाह्य हस्तक्षेपबाट सदैव आक्रान्त हुँदै आएको पनि हो । नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिदै आएको छ । आज पनि हामी त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ ।
आदरणीय जनसमुदाय,
यहाँ हाम्रा प्रतिबद्धताहरू संक्षिप्तमा प्रस्तुत गरेका छौँ । यी प्रतिबद्धताहरूलाई चुनावी घोषणा पत्रमा विस्तृत रूपमा प्रस्तुत गरेका छौँ । हामी सरकारमा सामेल हुँदा प्रस्तुत प्रतिबद्धताहरू कार्यान्वयन गर्नेछौँ भने विपक्षमा रहँदा यी प्रतिबद्धताहरू कार्यान्वयन गराउन निरन्तर रूपमा पहल गरिरहने छौँ । हाम्रो चुनाव चिन्ह ‘कलम’ मा मतदान गरी हामीलाई यी प्रतिबद्धताहरू कार्यान्वयन गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक आह्वान र अनुरोध गर्दछौँ ।
२०७९ कार्तिक ४
माधव कुमार नेपाल
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)